२५ पुस २०८१, बिहिबार | January 9, 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाकटान अघि बढ्यो, ल्याण्डफिल साइट अझै चुनौती



कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार विमानस्थलका प्रायःसबै काम सकिएका छन् ।

विमानस्थलको पूर्वाधार निर्माणका काम सकिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ जनवरी १ अर्थात् आगामी पुस १७ देखि विमानस्थल सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

क्यानले विमानस्थल सञ्चालनको निर्णय गरे पनि पोखरेलीले भने विमानस्थल तोकिएको मितिमा सञ्चालनमा आउनेमा आशङ्का व्यक्त गर्दछन् । विमानस्थल नजिकको रिठेपानी डाँडा कटान र नजिकको ल्याण्डफिल साइट नहट्दासम्म विमानस्थल सञ्चालनमा आउन नसक्ने भएकाले यो आशङ्का गरिएको हो । तर डाँडा कटानको काम भने अघि बढिसकेको छ ।

क्यानले केही दिनअघि विमानस्थल छेउको रिठेपानी डाँडा कटानका लागि बोलपत्र आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो । अबका तीन महिनाभित्र कटानको काम सकिने बताइएको छ । डाँडा कटानका लागि ठेक्का आह्वान गरिएकाले विमानस्थल सञ्चालनको आशङ्का केही हटे पनि अर्को प्रमुख समस्या रहेको ल्याण्डफिल साइट स्थानान्तरणको चुनौती भने बाँकी नै छ ।

पोखरा–१४ बाच्छेबडुवामा रहेको ल्याण्डफिलमा पोखराको फोहरमैला व्यवस्थापन हुँदै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैपर्ने स्थानको फोहरमैला नहटाउँदासम्म विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन । विमानस्थल निर्धारित मितिमा सञ्चालनका लागि ल्याण्डफिल साइट स्थानान्तरण अहिले प्रमुख समस्याका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थल सञ्चालनका लागि अवरोधका रुपमा रहेको रिठेपानी डाँडा कटानको प्रक्रिया सुरु भएर कामका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

हवाइ सुरक्षाका लागि विमानस्थल छेउको डाँडा ४० मिटर कटान गर्नुपर्नेछ । पछाडिको ४० मिटर र अगाडिको १२ मिटर डाँडा कटान गरे पुग्नेछ । सो डाँडा १४ मिटर काटेपछि क्यालिब्रेशन र परीक्षण उडान गर्न सकिने बताइएको छ ।

आयोजना प्रमुख मुनकर्मीले भने, “डाँडा कटानका लागि बोलपत्र आह्वानपछि एयरपोर्ट सञ्चालन थप सुनिश्चित भएको छ । विमानस्थल सञ्चालनअगावै कटानको सबै काम सम्पन्न हुनेछ, अब सञ्चालनमा कुनै अवरोध नआउने विश्वास छ ।”

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डअनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोहीअनुसार रिठेपानी डाँडा कटान गर्न लागिएको हो । सो वनमा रहेका छ सय रुख कटान गर्नुपर्ने देखिएको छ ।

ल्याण्डफिलका कारण विमानस्थल नजिक चराचुरुङ्गीको आवागमन भइरहने हुँदा यसबाट हवाई सुरक्षामा जोखिमको खतरा रहन्छ । यसैकारण क्यानले तोकेको मितिमा विमानस्थल सञ्चालनका लागि नजिकको ल्याण्डफिल साइट हटाउनु आवश्यक छ ।

त्यसैले हवाई सुरक्षा मापदण्डअनुसार विमानस्थलको १२ देखि १४ किमी क्षेत्र नजिक ल्याण्डफिल र तीन किमीभित्र पशु बधशाला रहनुहुँदैन । हाल सञ्चालनमा रहेको ल्याण्डफिल त्यहाँबाट हटाउने प्रमुख जिम्मेवारी पोखरा महानगरपालिकाको हो ।

विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले पोखरा महानगरले विमानस्थल सञ्चालनअगावै ल्याडफिल हटाउने प्रतिबद्धता जनाएको बताए । उनले भने, “क्यालिब्रेशन र टेष्ट फ्लाइटका लागि समस्या नभए पनि विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल नहट्दासम्म यहाँबाट उडान हुँदैन । महानगर प्रमुखले यसलाई व्यवस्थापन गर्ने वचन दिनुभएकाले समयअगावै हट्छ भन्ने विश्वासमा छौँ ।”

पोखरा महानगरपालिकाले विमानस्थल सञ्चालनलाई सहज बनाउन ल्याण्डफिल हटाउन अग्रसर देखिए पनि काम भने अगाडि बढन नसक्दा नतिजा हासिल हुन सकेको छैन । महानगरले ल्याण्डफिल साइट बनाउन विभिन्न ठाउँमा जमिन हेरेपनि स्थानीयको विरोध आउने गरेको छ ।

एक वर्षअघि नै महानगरले पोखरा–१६ र २० को सिमाना पस्मराङमा फोेरमैला व्यवस्थापनस्थल बनाउने निर्णय कार्यपालिकाबाट गरेको थियो । सो निर्णय लगत्तै स्थानीयको विरोध सुरु भएपछि महानगर पछि हट्नु परेको थियो ।

त्यसपछि गत वैशाखमा पुनःमहानगरले पोखरा–३३ भरतपोखरीमा ल्याण्डफिल बनाउने निर्णय गरेर पूर्वाधारका लागि चालू वर्षमा रु १० करोड बजेट विनियोजन गरेपनि त्यहाँ स्थानीयले विरोध जनाइरहेका छन् ।

 

महानगर फोहरमैला व्यवस्थापनको अध्ययनमा विदेशसम्म

ल्याण्डफिल साइटकै कारण अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध भएपछि पोखरा महानगर पछिल्लो केही सातादेखि फोहर व्यवस्थापनका उपायमै खोजीमा विदेशसम्म पुगेको छ ।

महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा प्राविधिकसहितको टोलीले छिमेकी मुलक भारतसम्म पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा अध्ययन अवलोकन गरेको हो ।

महानगरले गत साता भारतका नयाँदिल्ली, गाजियावादलगायतका विभिन्न स्थानमा रहेका चार वटा ‘प्लान्ट’मा गएर फोहर व्यवस्थापनको अवलोकन गरेर फर्किएको छ । अध्ययनका लागि टोली भदौ अन्तिम साता पुनः भारतको बैँङ्लोर जाने तयारीमा रहेको छ ।

देशभित्र पनि फोहर व्यवस्थापनमा नमूनाका रुपमा लिइएको धरान, हेटौंलगायतका स्थानको अवलोकन गरिएको महानगरले जनाएको छ । विभिन्न स्थानमा गरिएको अवलोकनबाट फोहरको वर्गीकरण गरी कतै ग्यास, बिजुली, प्रारङ्गारिक मल, प्लाष्टिकबाट खानेपानीको पाइप निर्माणलगायतका उद्योग स्थापना गरिएकाले पोखरामा कसरी गर्न सकिन्छ भनी अध्ययनमा टोली लागेको हो ।

महानगर प्रमुख आचार्यले ल्याण्डफिल्डको दिगो व्यवस्थापन गरी उपयुक्त निकास खोजिने बताए । पोखरामा हाल रहेको ल्याण्डफिल २०औँ वर्षलाई पुग्ने र पोखराको फोहर कहाँ फाल्ने र कसरी व्यवस्थापन गर्ने भन्ने कुनै चिन्ता नभएपनि विमानस्थलका लागि अहिले नयाँ खोजी गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

उनले भने्, “आज अवस्था फेरिएको छ, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि हाल सञ्चालनमा रहेको स्थानबाट ल्याण्डफिल्ड अन्यन्त्रै सार्नुपर्ने भएको छ, हामी उपयुक्त विकल्प खोजिरहेका छौँ, यसका लागि विभिन्न ठाउँमा प्राविधिक सहित अध्ययन पनि गरिरहेका छौँ ।”

रासस

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ४ : ०० बजे

इजलासमा रविले भने – बहिरै बसेर मुद्दा लड्न पाउँ, पीडितको पक्षमा काम गर्छु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउने नेत्रविक्रमको चाहना

महोत्तरी। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सबै

मुग्लिन-मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

चितवन । मुग्लिन-मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको

हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर

रौतहट । चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई

सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव