बुटवल । सोमबार रातीबाट परेको पानीले बुटवल जलमग्नभयो । भर्खर पिच गरेको बुटवलको अस्पताल लाईनको बाटो पानीजमेर तलाउ बन्यो । असारको मध्येमा आएको पहिलो एक रातको पानीले सडक निर्माणका लागि तयार गरिएको तयारीमा क्षति भयो ।
बुटवल र यस आसपास आएको मुसलधारे वर्षाले बुटवलका सडकहरुसँगै अघिल्लो वर्ष जस्तै ज्योतिनगरका बासिन्दाको पनि घरबास उठाउन छाडेन । पहिरोले गतवर्ष २ वटा कोठा क्षतिभएको उजेली बिक यो वर्ष पनि समस्या परिन । ज्यालादारी गरेर कमाएको थोरै थोरै पैसा जुटाएर बनाएको घर पहिरोले भत्कियो । पकाउने भाडा र ५० किलो चामल सबै बगायो । ‘मजदुरीको ज्याला बुझेर वर्षायामलाई भन्दै जाहो गरेको चामल र भाँडाकुँदा थिए, सबै पहिरोले पु¥यो ।’ उनले भनिन ।
७२ वर्षिय श्याम प्रसाद न्यौपानेलाई पानी आएपछि रातीमात्र होईन दिनमै कता भाग्ने समस्या हुन्छ । शारीरिक रुपमा अलि अस्वस्थ्य उनी पहिरोका कारण आफुहरु समस्यामा रहेको बताउँछन् । ‘आकाशमा बादल देखियो की अघिल्लो वर्षको पहिरोको त्रासको सम्झना आउँछ ।’ न्यौपानेले भने ।
ज्योतीनगरमात्र नभएर बुटवल नै जोखिममा रहेको उनले बताए । पहिरो समाधानगर्न वृक्षारोपण, तारजाली, ग्याबिङ सबै गरिएपनि समस्या समाधान नभएको भन्दै अब डाँडालाई काट्ने गरि संघिय सरकारको योजना ल्याउनुपर्ने उनको सुझाव छ ।
४० वर्षदेखि सो क्षेत्रमा बसोबास गर्दै आएको स्थानिय बासिन्दा तथा बुटवल उपमहानगरपालिकाका पुर्व प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवाली पहिरोको पिडा राम्ररी बुझेका छन । २०५५ सालमा पहिरो जादा ३७ घर अन्यत्र सारिएको स्मरण गर्दै उनले पहिरोको स्थाई समाधानको खोजी गर्नुपर्ने बताए । पहिरो क्षेत्रमा हरियो बास लगाउने, तारजालीगर्ने जस्ता रोकथामका अस्थाई उपायले अब नरोकिने भन्दै उनले ३ तहकै सरकारको दीर्घकालिनरुपमा योजनाबनाउनु आवश्यक रहेको बताउछन । चुरे श्रृखलाको अध्ययनगरि सो क्षेत्रको कमजोर क्षेत्रलाई पन्छयाउने एकमात्र उत्तम बिकल्प हुने उनको दाबी छ ।
गैरसरकारी संस्थामहासंघ रुपन्देहीका अध्यक्ष तथा विपद बिज्ञ धर्मराज घिमिरे घटना घटेको बेला सम्झने र त्यसपछि भने बेवास्ता गर्ने गरिएकाले क्षति न्युनिकरण नभएको दाबी गर्छन । बुटवलकै कुरा गर्दा पहिरो गएपछि त्यसको बैकल्पिक बासस्थानहरु निमार्ण गर्ने, क्षतिभएको ठाउबाट बस्ती अन्त सार्ने र सो क्षेत्रमा स्थाई रुपमा ब्यस्थापनका लागि कामहरु नभएको उनले बताए । नेपालमा विपद ब्यवस्थापन ऐन २०७४ ले निर्धारण गरेका कुराहरु र त्यो मातहतका विभिन्न ऐनहरु, प्लानहरु, पोलिसीहरु भएपनि त्यो केवल किताबमामात्र सिमित भएको उनले दुखेसो गरे । ‘सम्बन्धितनिकायहरुले यसको कार्यान्वनमाजोड दिएको देखिएन ।’– उनले भने । सरोकारवाला र नागरिकहरुले पनि त्यो विपदको बेला सम्झने तर अर्को वर्ष पनि विपद आउने सम्भावना छ र त्यो हाम्रो अधिकार हो भनेर खोजी नगरेको उनले बताए ।
ढिलागरि सुरुभएको मनसुनको पहिलो ढक्कामा नै ज्योतिनगरमा दुईघर पूर्णरुपमा क्षति भयो भने कम्तिमा ९ घरमा भेल पसेर बस्न नमिल्ने बनायो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले केही घरहरू क्षति भएको भए पनि सबै विवरणका लागि नगरपालिकाबाट इन्जिनियर पठाइएको बताउँछन् ।
उपमहानगरले सो क्षेत्रको बस्ती जोगाउन केही दिन अगाडिबाट पानीको भल तर्काउने, पानीको बहावलाई सिद्धबाबा तर्फ फर्काउने र ड्याम बनाएर पहिरो रोक्ने कामको सुरुवात गर्न लागे पनि त्यसले झन् लेदोसहितको ढुंगामाटो बस्तीमा ल्याएको स्थानीयको भनाइ छ ।
स्थानीय बसुन्धरा बस्याल तिवारीले अघिल्लो वर्ष गएको चुरे पहिरो नियन्त्रणका लागि सुस्त गतिमा काम हुंदा अहिले पनि चुरेले त्रास बढाएको र कमजोर तारबार लगाउँदा सामान्य पानी आउँदा पनि ज्योति नगरमा लेदोसहितको पहिरो आएको बताउँछिन् ।
२०३८ सालमा सोही क्षेत्रमा खसेको पहिरोले ६४ जनाको ज्यान लिएको थियो । त्यतिबेला त्यस क्षेत्रमा निकै पातलो बसोबास रहेको थियो । खुल्ला स्थानमा पहिरो खस्दा समेत त्यस क्षेत्रको नजिक बसोबास गरिरहेका लक्ष्मिनगर र ज्योतिनगरको तल्लो भागका स्थानीय ६४ जनाले ज्यान गुमाएका थिए । पहिरो र पहिरोको बहाव क्षेत्र पहिलेको तुलनामा आधा बढी साँघुरो बनेको बुटवलका पुराना बासिन्दाको ठहर छ । ३८ सालकै जस्तो पहिरो आए सयौंको ज्यान जान सक्ने उनीहरुको आँकलन छ ।
प्रतिक्रिया