पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि आज मतदानको तयारी गरिएको हो ।
मनोनयन समेत आज नै हुनेछ । यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् ।
सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने आज बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिएपनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।
मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।
उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।
आकांक्षीहरुले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएका भन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने छन् । एमालेको आन्तरिक बैठकमा बहालवाला सांसदलाई मेयर उपमेयरमा छेक्ने प्रयास भएको छ । बैठकका सहभागीहरुले कडा रुपमा उनीहरुको विरोध गरेको एक नेताले बताए । ‘बहालवाला सांसदको कार्यकाल अझै आधा वर्ष बाँकी छ । उही मान्छेलाई तानेर मेयर बनाउने कुरा राम्रो हुन सक्दैन,’ ति नेताले भने, ‘सांसदलाई मेयर उपमेयरको टिकट दिन हुँदैन । सबैको आवाज त्यसैमा केन्द्रित भएको छ ।’
२०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिश्पर्धाबाटै मेयर र उपमेयरको नाम टुंग्याईएको थियो । मानबहादुर जिसीले सबैभन्दा बढी मत ल्याएर मेयरको टिकट पाएका हुन् भने उपमेयरमा प्रभा कोइरालाले धेरै भोट ल्याएपनि भेग र जातीय हिसाव मिलाउनुपर्ने भएकोले दोश्रो नम्बरमा सिफारिस भएकी गुरुङले टिकट पाएकी हुन् ।
अहिले पनि मतदातबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ । दुबै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ । मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्ने छन् ।
प्रतिक्रिया