बुटवल । स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा मेयरका आकांक्षीहरुले आन्तरिक भेटघाटलाई तीव्र बनाउन थालेका छन् । लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये बुटवल उपमहानगरपालिकामा यतिबेला धेरैको चासो देखिएको छ । यो नगरमा २२ वर्षदेखि एमालेले एकतर्फी कब्जा जमाउँदै आएको छ ।
बलियो संगठन भएको हिसाबले पनि बुटवलमा एमालेले चुनाव सहजै जित्ने आंकलन गर्न थालिएको छ । मेयरका लागि एमालेबाट गोपाल राना र बाबुराम भट्टराईमध्ये एकले टिकट पाउने संभावना बढेको एमाले भित्रै चर्चा चल्न थालेको छ । चुनाव नजिकिएसँगै टिकट हात पार्न दुवै नेताले जिल्लादेखि केन्द्रसम्म लविङ तीव्र पारेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो । एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्छन्, ‘बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आएपनि एमालेले सहजै चुनाव जित्छ ।’
एमाले नेता पन्थीले यस्तो दाबी गरिरहँदा बुटवलमा रहेको राजधानी दाङ पठाउन सघाउनु, मोतीपुर औद्योगीक करिडोरमा सुकुम्बासीहरु प्रति दोहोरो रोल देखाउनु, बुटवलको मुख्य सडकको लामो समय कन्तविजोग हुँदा पनि उपमहानगरले ठोस पहलकदमी नदेखाउनुबाट एमाले आलोचकहरु ७४ सालको अवस्था नरहेको पनि भन्ने गरेका छन् ।
राना र भट्टराईमा को बलियो ?
गोपाल राना
गोपाल राना आवरणमा बुटवलका प्रतिष्ठित होटल व्यवसायी भएपनि रुपन्देही पेरिफेरिमा एमाले निर्माणमा रानाको महत्वपूर्ण भुमिका रहेको छ । सहयोगी स्वभावका राना विपक्षिलाई समेत आकर्षण दिन सक्ने व्यक्तित्वकारुपमा पनि चिनिन्छन् । मृदुभाषी राना हस्पितालिटि क्षेत्रमा सक्रिय रहेकाले पनि सर्वसाधारणसँग सजिलै घुलमिल गर्ने क्षेमता राख्ने राना निकट नेताहरुको तर्क छ ।
मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र बुटवलको ड्रिम इन्टरनेशनलका सञ्चालक रहेका राना पार्टीका निवर्तमान जिल्ला उपसचिव र हालका प्रदेश कमिटी सदस्य हुन् । त्यस्तै उनी होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत हुन् ।
बुटवल र यस आसपासमा आदीबासी जनजाती मत तान्नका लागि पनि राना योग्य उम्मेदवार बन्न सक्ने उनी निकट एमाले नेताहरुको तर्क छ । बुटवल उपमहानगरमा ८ प्रतिशत बढी आदीबासी जनजाती मतदाता रहेको र सो समुदायमा जातीय एकता बलियो हुने भएकाले राना योग्य उम्मेदवार बन्न सक्ने राना समर्थकहरुको दाबी छ । युवा र खेलाडीहरुमा पनि राना उत्तीकै लोकप्रिय रहेको बताईने गरिन्छ ।
बाबुराम भट्टराई
अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको बाबुराम भट्टराईले १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न व्यक्तिकारुपमा चिनिन्छन् । पार्टीका नेताहरु भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गएको र पार्टी निर्माणमा भट्टराईको ठुलो योगदान रहेको एमाले रुपन्देहीका भट्टराई निकट नेताहरुको तर्क छ । २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध भएका भट्टराईले पार्टीलाई आर्थिकरुपमा पनि ठुलो योगदान गरेको एमाले भित्र चर्चा चल्ने गर्दछ । लामो समय उनले औषधी व्यवसाय सेक्टरमा रहेर काम गरे पनि भट्टराईसँग पार्टीको विभिन्न संगठनमा बसेर काम गरेको अनुभव छ । पार्टीको जिल्ला कमिटी हुँदै हाल उनी प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरिसकेका छन् ।
२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् ।
अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए । उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए ।
बुटवलमा २०७४ सालको निर्वाचनयता १३ हजार भन्दा बढी मतदाता थपिएका छन् । ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ । “कार्यकर्तापंक्तिमा बौद्धिक व्यक्तित्वलाई टिकट दिनुपर्ने मत धेरै छ, तर थपिएका मतदाताबारे पनि अध्ययन भैरहेको छ”–एमालेका एक युवा नेताले भने ।
कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ । उनी अहिले पार्टीको बुटवल नगर सभापति छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गरेका छन् ।
बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया