काठमाडौं । आइपिएलको नयाँ टिम गुजरात टाइटन्सले प्रतियोगिताको सुरुआत जितका साथ गरेको छ ।
गएराति भएको पहिलो खेलमा अर्को नयाँ टिम लखनउ सुपरजाइन्ट्सलाई ५ विकेटले हराएको छ । मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।
गुजरातका लागि अलराउन्डर राहुल तिवेटियाले सर्वाधिक ४० रन बनाए । उनले २४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै, कप्तान हार्दिक पाण्ड्याले ३३ रन बनाउँदा म्याथु वाडे र डेविड मिलरले समान ३० रन बनाए ।
लखनउका दुशमन्था चामीराले २ तथा आभेस खान, कुर्नाल पाण्ड्या र दीपक होडाले समान १ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाउँदै १५९ रन बनायो । २९ रन बनाउँदै ४ विकेट गुमाएको लखनउका लागि दीपक हुडा र आयुष बदोनीले अर्धशतक बनाएपछि चुनौतीपूर्ण स्कोर खडा गरेको हो ।
हुँडा र बदोनीले पाँचौं विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । हुडाले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाउँदा बदोनीले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५४ रन बनाए । बदोनीले आइपिएलको डेब्यूमै अर्धशतक बनाए ।
यस्तै, कुर्नाल पाण्ड्याले १३ बलमा २१ रन बनाउँदा इभान लेविसले १० रन बनाए । गुजरातका मोहम्मद सामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने वरुण आरोनले २ विकेट लिए ।
आइपिएल अन्तर्गत मंगलबार राजसस्थान रोयल्सले सनराइजर्स हैदरावादको सामना गर्नेछ ।
प्रतिक्रिया