६ मंसिर २०८१, बिहिबार | November 22, 2024

रामभरोसेको सपना (भाग-२)



बाँके जिल्लाको राजनीतिक नक्शामा मात्र अंकित खलिया गाउँ । गाउलेसंग धग्गाधनी पुर्जा थियो,सरकारले राजस्व लिन्थ्यो । तर सरकारी दृष्टिमा “अन्ध शान्ति”। उनीहरु सरकारी निकायमा मुद्दा मामिला गर्न कहिल्यै जादैनथे त्यसैले । त्यहाँ मुखफोडुवा बहिर्मुखी साहसी पनि कोही छैन, त्यसैले । तर चुनावको भोट ब्यांक भएको कुचबदियाहरुको खलिया गाउँमा अघिपछि नेतागणहरुको, सरकारी संयन्त्रको भुत्लो नदेखिए पनि, हावा नछिरे पनि प्रत्येक दश बर्षमा हुने जनगणना टोलीको सुकिलो भेष देखिन्थ्यो ।

कथाकार

चुनावी हावा सर्रर चल्थ्यो,प्रत्येक पाँच बर्षमा, स्थानीय निकाय चुनाव । सबल भए पाँच बर्ष र दुर्बल भए बर्षैपिच्छे हुने राष्ट्र्यि चुनावमा समेत नेताहरुको खुबै भीडभाड लाग्थ्यो,खलिया गाउँमा । भलै चुनावपछि कसैले अनुहार नदेखाए तापनि चुनाव हुन्थ्यो । पर्याप्त भोट ब्याङक भएको त्यो गाउँमा पालैपालो प्रत्येक दलका उम्मेदवारहरु दलबल सहित आएर रक्सी,मासुका भण्डाराहरु खुलाउँथे । काला अनुहारका सुकिला भेषहरु चम्कन्थे, त्यतिबेला खुबैसंग । शिक्षा,स्वास्थ्य, सामाजिक तथा आर्थिक सुधार र पिछडा भत्ताका नाराहरु खुब घन्कन्थे । गरीब शव्दलाई फूटबल बनाएर गोलपोष्ट हाल्ने काम हुन्थ्यो । मानौँ यहाँ सबै पशुहरु बस्छन, जता घाँस देखायो उतै लम्किन्छन् । अवसरको फाइदा लिने भोट ब्यांङक यही हो ।

यो बिश्वास सबै राजनीतिक कर्मीहरुको मानसिकतामा दशैंको जमरा जस्तै उम्रिएको थियो । त्यसैले नेताहरु चुनावताका भोटरहरुका साक्खै बनेर सिना जोड्न आइपुग्थे । सुङ्गुरको मासुको थुप्रो र रक्सीका ग्यालनहरु लाइन लागेर उभिएका हुन्थे । पालैपालो विभिन्न समूहहरुबाट । जीवन सुधार अवश्य हुन्छ यिनलाई भोट दिएमा भन्ने आभाष फुक्न हरप्रकार अभिनयहरु हुन्थे,राजनीतिक दलका भुरेदेखि टाकुरेसम्मका नेताहरुबाट ।

तर त्यहाँ सबैभन्दा पहिले गरीबीको चरम समस्या थियो,बास,गास,कपास र पानीको । घरै पिच्छे नल हाल्न कसैको औकात थिएन । पुर्खाले बनाइदिएको एउटै इनारमा, ‘नदी किनारका बकुल्ला झैँ’ पानी उबाउन झुम्मिएका हुन्थे, भीड लागेर,महिलाहरु । त्यस्तै बिजुलीका पोलहरु, गाउँको छेउसम्म पुगे पनि लाइन तान्ने क्षमता नभएकोले सारा गाउँले विजुलीको पोल र आकाशको चन्द्रमाको उज्यालो हेरेर रात काट्थे । अरुका घरमा विजुली बल्थ्यो भने उनका घरहरुमा मट्टितेलका टुक्की बल्थे ।

गास,बास,कपास,शिक्षा र स्वास्थ्य जस्ता नागरिकको न्यूनतम आवश्यकता नबुझेका, केवल भोट माग्न मात्र बुझेका अज्ञान,स्वार्थी, अकर्मण्य भ्रष्ट नेताहरुका कारण ‘वाचालहरुका लागि दूध र भात, निमुखाहरुका लागि रित्तो हात’ थियो, नेपालको राजनीति ।

उनीहरु घर बनका मुसा,बिराला,स्याल,गोहोरो नपाएको अवस्थामा सस्तोमा पाउने मरे,सडेका खसी कुखुराका मासु तथा आन्द्रा भुँडी आदि र अन्य दुषित खाद्यवस्तुले कैयन रोगहरु गाउँमा पसेर आबाल बिनिता, वृद्ध र कमजोर भए युवासम्मलाई कालले टपक्क टिपेर लान्थ्यो, परिवारलाई रुवाउँदै । उपचार गर्न जान पैसाको गरालोले छेक्थ्यो । हरेक साल बर्षाको बाढीले असोजमा पुनःजन्मेका घरटहराहरु भत्काइदिन्थ्यो । फेरि उठाएर टालटुल पार्थे । उनीहरुको जिन्दगीमा लागेको घाउ हेर्न चुनावमा कोकोहोलो गर्न आउने नेताहरु हारको रोदन र जितको दम्भभित्र हराउथे । चुनावमा भोट माग्दा गरेको वाचा कबुलहरु,गरीब जनताका दुःख पीडाका फेहरिस्तहरु चुनाव पश्चात नेताहरुको दिमागबाट डिलिट भैसकेका हुन्थे । त्यसैले ती निमुखाहरुको पीडा जस्ताको तस्तै ।
०००
जेठ महिनाको अन्तिम हप्ता । पानी आएन खेत रोप्न ढिला भयो भनेर कृषकहरुमा खैलाबैला भैरहेको समय । कुचबदियाहरुको अलिखित बिधान अनुसार आज पनि एकजनाले “आज काम हडताल” बोलिदिएकोले साम्प्रदायिक छुट्टी भएको दिन । रामभरोसे लगायत समूहका सबै पुरुषहरु आ—आफना हतियारहरु भाला,चक्कु र सिकारी कुकुरहरु लिएर जंङ्गलतिर लागे । जङ्गलबाट कसैले केही कसैले केही ल्याए– बिरालो,मुसा,गोहोरो,स्याल आदि । त्यस्तै रामभरोसेले दुईटा गोहोरो ल्यायो । अलिकति स्यालको मासुको भाग पनि पायो ।

उसले मासु पोलपाल र काटकुट पारेर बुढीलाई पकाउन दिएपछि दिमाग हल्लाउने तन्तु,ठर्रा लिन पठायो,छोरीलाई बोतल दिएर । जुग्नीले मासु र रातो धानी चामलको भात पकाई ।

मासु पाकेपछि बच्चाहरुलाई मासु,भात पस्कीएर दिई । चन्द्रमा भुइभरि छापिएकी थिइन् । मासु भात पाएर खुशी भएका बच्चाहरु खाना खाएपछि दिनभरिको बाललीलादेखि थाकेकाले आफनो सर्व दुःखहारीणी निन्द्रादेवीको काखमा घुस्रिन गए,खुला भुइमा राखिएको चारपाईमा । जुग्नी, मासुको कचौरा लिई लोग्नेसंग मद विनिमय गर्न आइपुगी,सदा झैँ । तब दुबै जना बुढाबुढी मासुको स्वाद र रक्सीको मादमा चुर्लुम्म डुबुल्की मार्न थाले । मानौं उनीहरुलाई रक्सीको मादले स्वर्गीय आनन्दी दुनियामा पु¥यायो ।

खुलेको धपक्क मुख बाल्दै रामभरोसे (भावार्थ) –“हेर् जुग्नी, दुःखपछि सुखको अनुभव, भोकपछि तृप्तीको अनुभव । त्यस्तै थकानपछि आरामको अनुभव, गर्मीपछि शीतलताको अनुभव, वशन्तमा छायाँको आनन्द,हेमन्तमा घामको आनन्द भन्ने कुरा तलाई थाहा छ ?” रामभरोसेले अनुभबको गाथा सुनायो । सांसारिक कुरा ।

जुग्नीले सहमति जनाउदै भनी–“बात तो सही । मनैको जत्ता भुक लासी उत्ता मीठ लासी । चल अब्से खाना खासी” भन्दै भाततिर संकेत गरी ।

रक्सीको लीलाक्रम सकिएपछि जुग्नीले भात,मासु ल्याएर आई, बच्चाहरुले खाइसकेको थालमा । अनि फेरि मुलतबीमा रहेको छोरीको बिहाको कुरा उप्काई —
“छोरीके मग्नी तो होइगा अब सादीके सर्जाम नाइबटुरे हो ” ?भनेर ।
त्यसबेला जुनेली रातको मन्द हावाको शीतलताले उनीहरुलाई अझ आनन्द बिभोर बनाएको थियो ।

स्वास्नीलाई उत्साहित र बिश्वस्त पार्दै भरोसे–(भावार्थ) “ अँ अँ मलाई थाहाछ । त्यसको व्यवस्था मैले मिलाइसक्याछु । तर त्यो मात्र हैन, अस्ती भनेको कुरा बच्चाहरुको स्कूल भर्ना र पढाईका कुरा बिर्सिस कि याद छ ? त्यसको जुगाड पनि मैले मिलाइसक्याछु,स्कूलमा सम्पर्क गरेर । हाम्रा बच्चाहरु पढेर जान्ने भए भने छोरीले आफ्नो घर सम्हाल्ली,राम्रोसंग आफना छोराछोरी पढाएर । छोराहरुले नोकरी पाउलान् । नपाए पनि हाम्रै कारोबारलाई पनि नयाँ उन्नत तरिकाले व्यापार गर्लान । आर्थिक उन्नति होला । अनि हाम्रो जीवनशैलीमा परिवर्तन आउला । शिक्षाको उज्यालो भन्यात भित्रैदेखिको उज्यालो होनि त । अनि हाम्रो परिवार सुखी र सुसंस्कृत होला । हाम्रो नयाँ चलनलाई हाम्रा अरु समुदायले पनि अनुसरण गर्लान ।” यही थियो उसको भनाईको आशय ।

लोग्नेको सपनालाई साथ दिदै जुग्नी–(भावार्थ)“कुरा त ठीकै होला । हेरौं, घस्रिदै जाऔं । भगवानले साथ दिउन् । कृपा गरुन् ।” कुरा टुंग्याई ।

पारम्परिक संस्कारलाई आमूल रुपान्तरण गरेर उज्ज्वलमय,सभ्य,सुसंस्कृत परिवार बनेर उच्च जीवनशैलीमा रमाउने, समाजको प्रेरणादायी बन्ने रामभरोसेको उत्कण्ठित कल्पनाहरु । वस्तुतः उनीहरुको काल्पनिक भविष्य बहुरङ्गी पूmलहरुको सुन्दर उद्यान थियो । हिमाल जत्रो उच्च ।
०००
चन्द्रमाको सौम्य प्रकाशको मन्द हावाले बुढाबुढीको शारीरिक र मानसिक पीडामा मलम लगाइरहेको थियो । मानौं रुखका हाँगाबाट झुलेका सिसौका पातहरुले प्रचण्ड गर्मीबाट आहत भएका प्राणीहरुलाई पंखा हम्किएर राहत पुरयाइरहे झैँ । यसैको आनन्दीको स्वप्नील गङ्गामा पौडीरहेका थिए, भुर्इँ र खाटमा यत्रतत्र सुतेका रामभरोसे परिवार ।

अकस्मात, शुक्लपक्षीय मध्ये रात्रीको चन्द्रमाको टहटहलाई कालो बादलले ढाकेर खग्रास चन्द्र ग्रहण जस्तो अन्धकार बनायो । हावाको गति अलिअलि गर्दै अचानक उद्वेलित भयो । एकछिनपछि हावाको गति र बादलको सघनताको भीषण टकरावले आकाश नै विदीर्ण हुने गरी बादल गज्र्यो, विजुली चम्कियो । मानौं पृथ्वीको कुनै भागमा आणविक युद्धनै चलिरहेकोछ । आँधीबेहरीको भीषण रुप, पानीको मानेथोपा । त्यो मुसलधारे पानी क्रमशः चँदुवाको रुपमा भुईँमा झ¥यो ।

कुचबदियाहरुको खल्ला (गहिरो ठाउँ) बस्ती, त्यसमा पनि रामभरोसेको भागमा परेका जमिन अझेै गहिरोमा थियो । त्यसैले सबैभन्दा बढी प्रभाव त्यसैमा प¥यो, प्रकृतिको बज्रपात ।

बिनासकारी भीषण आँधीबेरीले छाप्रो छेड्यो,ज्यान छेड्यो । माटोको दिवाल गल्यो । खामाहरु सहाराविहीन भएर ढले । छाएका खरहरु र बलाहरु थामिन नसकेर मानिसकै जिउमाथि चढे । कोही बच्चा ऐअ भन्नै नपाएर तत्कालै विसर्जित भए । चक्रवातको बाढी पसेर घरै समुन्द्र बनेपछि बाँकी जीवन “हाय …बच्चा,.हाय.जुग्नी,..हाय.बुढौ..बाबा…आम्मा”भन्दाभन्दै छप्लाङ्ग छुप्लुङ गर्दै प्रकृतिमा लीन भए ।

रामभरासेको उत्कण्ठित सबै सपनाहरु उनीहरुको जिन्दगीसंगै समाप्त भए ।
मानौँ गरीबीको नश्वर सांसारिक दुःखसागरबाट मुक्त भए,उनीहरु । सामाजिक रुपान्तरण,आर्थिक उत्थान गरिदिने,डुबान मुक्त स्थानको बन्दोबस्त गरिदिन्छु, घरघरमा पानीको नल लगाइदिन्छौं,विजुलीले गाउँ झलमल्ल पारिदिन्छौं भन्ने तर चुनाव सकिएपछि अस्ताएको सूर्य हुने अकर्मण्य, बेइमानी नेताहरुलाई लोप्पा ख्वाउदै समाप्त भयो,रामभरोसेको पारिवारिक जिन्दगी ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : १६ बजे

एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक

नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ

निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्नुस, सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु