९ मंसिर २०८१, आइतबार | November 25, 2024

चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी



काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले शुक्रबार कुनै पनि भेटघाटको कार्यक्रम गरेनन् । भ्रमणको दोस्रो दिन शनिबार बिहान ६ः३० बजे हाइकिङ जाने कार्यक्रम रहेको छ । उनको भ्रमणको क्रममा रुट पर्ने ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली सुरक्षामा खटिनेछन् । हाइकिङबाट फर्किएपछि वाङले समकक्षी परराष्ट्रमन्त्री खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्कासँग भेटपछि वाङ सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । साथै भ्रमणको तेस्रो दिन आइतबार बिहान ९ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेको छ । दुई नेतालाई भेटेपछि उनी त्यसै दिन स्वदेश फर्कनेछन् ।

नेपाल भ्रमणका क्रममा वाङले काठमाडौंबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्था’ विस्तृतमा छलफल हुने भएको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बीआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीहरूको भनाइ छ । त्यस्तै, नेपाल र चीनबीच केरुङ-काठमाडौं सीमापार रेलसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा घोषणा गरेको ५६ अर्ब रुपैयाँ अनुदान सहयोग कार्यान्वयनको विषय सो समझदारीपत्रले सम्बोधन गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चीनले नेपाललाई वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ पु¥याउने भएको छ ।

चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएको छ । यससम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र एक चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुने भएको छ । सो अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ ।

त्यस्तै, भ्रमण तयारीमा संलग्न अर्का अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पतालसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । यसैगरी, नेपालतर्फ आयातमा चिनियाँ कन्टेनरको संख्या सीमा हटाउन पनि नेपाल सरकारका तर्फबाट आग्रह गर्ने तयारी छ ।

नेपालबाट चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुने भएको छ । त्यस्तै, वाङले नेपालका विद्यार्थीलाई चीनमा चाँडै फर्काउन तयार रहेको घोषणा परराष्ट्रमन्त्री नारायण खड्कासँगको द्विपक्षीय छलफलका क्रममा गर्ने भएका छन् ।

रातामाटे-केरुङ विद्युतीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौतालाई परिमार्जन गर्ने सहमतिपत्रमा हस्ताक्षर हुनेछ । सन् २०१९ मा रातामाटे-केरुङ विद्युतीय प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । दुई वर्षभित्र सम्भाव्यता अध्ययन पूरा गर्ने भनिए पनि नसकिएपछि पुनः नयाँ सहमतिपत्रमा हस्ताक्षर हुन लागेको हो ।

मुस्ताङस्थित कोरला सीमा नाका सुचारु भएको घोषणा गर्ने सहमतिपत्रमा पनि हस्ताक्षर गर्ने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्तै, ऊर्जासम्बन्धी परियोजनामा पनि भ्रमणका क्रममा हस्ताक्षर हुनेछ ।

नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म कुनै प्रगति भएको छैन । नेपालले बीआरआईबाट ऋण होइन, अनुदान लिन चाहेको छ । नेपालले सुरुवातमा बीआरआईबाट फाइदा लिनका लागि ३५ वटा परियोजना अघि सारेको थियो तर चीनले त्यसलाई एक अंकमा घटाउन भनेपछि नेपालले नौवटा बनाएर पठाएको बताइएको थियो । आधिकारिक रूपमा भने नेपालले बीआरआईका लागि भनेर कुनै पनि परियोजना’ निर्णय गरेको छैन । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : १९ बजे

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू, कुल नगद पुरस्कार ६७ लाख ३२ हजार

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू

विवाहपञ्चमीको तयारी सुरु

जनकपुर । यही मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी