बुटवल । बुटवलमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता २०७८ को उपाधि एभरेष्ट ईगलिस बोर्डिङ स्कुलले चुमेको छ । शुक्रवार भएको अन्तिम दिनको खेलमा एभरेष्टले १२ स्वर्ण, २ रजत, ६ कास्य गरी २० पदक जित्दै उपाधि हात पारेको हो ।
बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा भएको नगर स्तरीय प्रतियोगितामा कालिका मानवज्ञान मा.वि. ९ स्वर्ण, ९ रजत र ६ कास्यसहित २४ पदकका साथ द्वितीय भएको छ । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. ८ स्वर्ण, ९ रजत र ७ कास्य गरी २४ पदक जित्दै तृतीय तथा न्यू होराइजन ७ स्वर्ण, ५ रजत र १३ कास्यसहित २५ पदक प्राप्त गरी चौथो भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद सवैका लागि खेलकुद भन्ने मूल नाराका साथ एन्फा टेन्किल सेन्टर देवीनगरमा चैत्र १ गतेबाट सञ्चालित खेलमा बुटवल उप महानगरपालिका अन्तर्गत १८ वटा सामुदायिक २२ वटा संस्थागत विद्यालयहरु गरी ४० वटा विद्यालयको सहभागिता रहेकोमा १३ वटा सामुदायिक र १२ वटा संस्थागत विद्यालयहरु गरी २५ वटा विद्यालयहरुले विभिन्न पदक प्राप्त गरेका थिए ।
एथलेटिक्स फिल्ड १०, ट्रयाक १६ गरी २६ विधामा ३८ प्रथम, ३९ द्वितीय र ७६ तृतीय गरी जम्मा १५३ विद्यार्थीहरुहरुले पदक प्राप्त गरेका थिए । कबड्डी तर्फ छात्रछात्रा दुई विद्यामा १८ प्रथम, १८ द्वितीय र ३६ तृतीय गरी ७२ पदक प्राप्त गरेका छन् । भलिवल छात्रछात्रा तर्फ दुई विधामा १८ प्रथम द्वितीय र ३६ तृतीय गरी कुल ७२ पदक कराते छात्र तर्फ ४२, ४७ र ५२ केजी र काता, छात्रा तर्फ ४०, ४५ र ५० केजी र काता गरी ८ प्रथम, ८ द्वितीय र १६ तृतीय गरी कुल ३२ पदक र तेक्वाण्डो तर्फ छात्र ४५, ४८ र ५१ केजी छात्रा ४२, ४४ र ४६ गरी ६ प्रथम ६ द्वितीय १२ तृतीय गरी २४ पदक रहेका छन् ।
आज एक समारोहकाबीच नगर प्रमुख शिवराज सुवेदी, एमाले नेता गोपाल राना, उपमहानगरका महाशाखा प्रमुख विष्णु खनाल, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराई, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्य, प्रदेश सचिव शंकर पाण्डे, खेलकुद विकास समिति अध्यक्ष नन्दु काउचाले विजेता, उपविजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरेका छन ।
समापन समारोहमा बोल्दै बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुटवलले खेल क्षेत्रको योजनाबद्ध विकास गर्न पहिलो पटक खेलकुद ऐन ल्याउनुका साथै योजनाबद्ध रुपमा खेल पूर्वाधारको विकास गरिएको दाबी गरे । उनले खेलकुदका पूर्वाधार विकास तथा खेलाडी पहिचान, प्रशिक्षण र अवसरका लागि समेत विशेष कार्यक्रम बनाइएको बताए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले राज्यका तीन वटा सरकारले सहकार्य गरेर अगाडि बढेमा मात्र खेलको विकास र विस्तार हुने धारणा व्यक्त गरे ।
यसैगरि मार्च पास तर्फ नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. प्रथम, मदरल्याण्ड बोर्डिङ्ग स्कूल द्वितीय, दीप बोर्डिङ्ग तृतीय र न्यू होराइजन सान्त्वना भएको छ । कालिका मानवज्ञान मा.वि.को बुटवलमा स्वागत र पिटी उत्कृष्ट रहेको थियो भने नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.को विविध बहु साँस्कृतिक कार्यक्रम उत्कृष्ट रहेको थियो ।
प्रतिक्रिया