कमलाको प्रस्तुतीपछि लोकेशनका बारेमा विशालदाईले जिज्ञासा उकास्नु भयो । मैले आद्योपान्त सबै सुनाएँ,आफ्नो जीवनचक्र…………आदि ।
अनि भनेँ–“रुढान्ध सामाजिक र सांस्कारिक मान्यतालाई चिरेर जीवन र जगतको नयाँ वस्तुगत धरातल निर्माणतिर हामी जुट्यौं । यो हाम्रो सामाजिक क्रान्ति थियो, सैद्धान्तिक अध्ययनको व्यवहारिक रुप, हाम्रो अन्तरजातीय विवाह हो दाजु ।”
त्यस पश्चात विशाल दाईको ओजस्वी उद्गार यस्तो थियो–“वैवाहिक सम्बन्ध जीवनको एउटा शाश्वत सत्य हो । रुढताको अन्धकारमा अल्मलिएको समाजलाई मुक्तिको उज्यालो बाटो देखाउनु, अर्को सत्य हो । मैले जस्तै तिमीहरुको पनि विचारदेखि म अत्यन्त हर्षित भएँ । विवाह भन्ने कुरा पृथ्वीमा तेश्रो आत्मा जन्माउनको लागि दुई दिव्य स्वरुपहरुको मिलन हो । अभिभावकको चाहना हुन्छ, त्यो जन्मलिने तेश्रो आत्मा वीणाका तारहरु जस्तै एउटै रागमा तरङ्गित होस्, तर बन्धनमुक्त । विवेकले समाज र देशलाई सत्य र तथ्यगत बाटोमा डो¥याउछ । नैतिक चरित्रले वातावरणलाई सुमधूर बनाउँछ । समाजलाई सुन्दर बनाउँछ ।
हाम्रो मुलुकमा, जनताको राज्यमा सामन्ती राज्य व्यवस्थाको स्वेच्छाचारी शासकले जनतालाई दास बनाएर बिना काम राज्यको ढुकुटी दोहन गरिरहेकोछ । न राज्यको काम,न जनतालाई माम । अकर्मण्यछ, राज्य सञ्चालक । न नीति न स्थिति । हामीलाई तिराएको करमा जुवा खेलिरहेकोछ, राज्यको शासकले । ‘चोरलाई चौतारो,सोझालाई सुली’ गरिरहेकोछ ।
हुनुपर्ने के हो भने, राज्यको ढाँचामा सार्वभौम अधिकार जन्तामा निहित भएको जनबादी व्यवस्था । यहाँ स्वघोषित शासक हैन, नागरिकद्वारा प्रत्येक्ष निर्वाचित प्रशासक हुनुपर्छ । नागरिकलाई निःशुल्क शिक्षा,स्वास्थ्य र सबैलाई गास,बास,कपास अनि काम,माम,दाम तथा समान अधिकार,समान न्याय हुनुपर्छ । राज्यका सबै अङ्ग,सबै कार्यमा, सबैलाई समान अवसर भएको जनकेन्द्रित, जनवादी व्यवस्था हुनुपर्छ, जसमा,जात,लिङ्ग,वर्णा,वर्ग आदि भेदभावरहित वर्गविहीन समाजवादी राज्य प्रणाली हुनुपर्छ । हामीले भनेका छौं । अहिलेसम्म राज्य हरेक कुरामा पूर्ण परनिर्भरछ । पहिलो पटकलाई विदेशी प्रविधिहरु भित्राएर सबै उद्योगहरु स्वदेशमै हुनुपर्छ । यातायात सबै विकासको पूर्वाधार हो । यातायात लगायत हरेक कुराको विकासको नक्शा हामीले बनाएकाछौं । “नागरिक शासन मुलुकको मुटु”, भन्ने माग राखेर हामी राज्य विरुद्ध आन्दोलनमा उत्रिएका हौँ । हाम्रो यस्तो राम्रो कुरा सामन्ती जनघाति सरकारलाई पाच्य भएन, किनकी उसको चरित्रले पचाउन सकेन । त्यसैको विरुद्धमा हाम्रो भूमिगत आन्दोलन केन्द्रित हो भाई । देशको परिवर्तनको लागि हामीले जीवन उत्सर्ग गरेकाछौं । हाम्रा केही साथीहरुलाई उसले बलबेदीमा चढाइसक्यो । तर हामी यसो मौका हेर्दै बेलाबेलामा तर्साउदै गरेकाछौं । यसमा तिमीहरुको साथको पनि अपेक्षा राखेको छु ।”
उहाँको सारगर्भित अभिव्यक्ति र समर्पणको जीवन कथाले हामी अनुगृहीत भएर हार्दिक कृतज्ञता ज्ञापन गर्दै मैले आफनो विचार त्यसैमा थपेँ –
“दाजुले देशभक्तिपूर्ण अत्यन्त मार्मिक कुरा भन्नु भयो । त्यसमा हाम्रो साथ अवश्य हुनेछ,यथौसर । मुलुकमा साँच्चैको नागरिक शासन भएको भए दाजुले भनेका गहन,महत्वपूर्ण कुराहरु पूर्ण हुने थियो होला । हाम्रो मुलुकलाई प्रकृतिले सम्पदाहरु दिएकीछन्,पर्याप्त । सम्पत्तिहरु दिएकीछन् गरिखाने,अथाह । केवल बुद्धि भएको स्वच्छ, इमान्दार शासकको खाँचो हो । यदी त्यस्ता शासक देशले पाउने हो भने हाम्रो मुलुक द्रुत्तर रुपमा उभो लाग्न धेरै समय लाग्ने थिएन । यो संसारमा हामीभन्दा साना र कान्छा मुलुकहरु पनि छन् तर विकासको शिखरमा पुगेर हामीलाई नै भिक्षादान दिने हैसियतमा पुगेका छन्, स्विजर्लैण्ड,सिंहापुर,डेनिडा,इजरायल आदि । किनकी उनीहरुले समयमै बुद्धि विवेक प्रयोग गरे । नागरिक शासन,समानतामुलक न्याय प्रणाली,शासन प्रणाली,द्रुत्तर विकासका योजनाहरु निर्माण गर्दै कृयान्वयनको दिशामा अगि बढ्दै गए । हामीलाई ज्ञान,बुद्धि,विवेक प्रयोग गरी गरिखान प्रकृतिले दिएको अथाह सम्पदा छ, वैभवछ जल, जमिन,जङ्गल,जडिबुटी,धातु,तेल खानी आदि । अकर्मण्य हाम्रो शासक निर्लज्जतापूर्वक अरुसंग हात फैलाउँछ,भिक्षाको लागि । हरेक कुरामा राज्य नै परमुखापेक्षी,परजीवी भएपछि त्यो मुलुकको जनताको भोगाई गङ्गटाको चल्लाको जस्तो हुनु अस्वभाविक भएन ।
विशाल दाईसंगको भलाकुसारी सकेर हामी आफनो कोठातिर गयौं । किनकी हाम्रो बेग्लै नयाँ संसार सुरु हुदै थियो, चुलोचौको देखि अन्यान्य दायित्व ।
सुखपछिको दुःखद ऋतुभन्दा दुःखपछिको सुखद ऋतु आनन्ददायी हुने हाम्रो ठम्याई । हामीले रोजीरोटीको लागि पहिलो चरणमा शिक्षण पेशा खोज्दै नेपालगञ्जको महेन्द्र मा वि मा पुग्यौंं । अवसरवस आफ्नै गुरु आदरणीय गुरु कृष्णप्रसाद शर्मा हुनुहुँदो रहेछ,प्रधानाध्यापक् । जो सुर्खेतको ज्ञानज्योति माध्यमिक विद्यालयमा हामीलाई शिक्षाको ज्योति देखाउनु हुने मेरो हृदयका नायक । हामीले गर्वको छाति फुलाउदै दश औंला जोडेर अभिवादन ग¥यौं । हाम्रो व्यवहारबाट उहाँ पनि प्रफुल्ल हुनुभयो । भेटमुलाकातपछि आफनो उद्देश्य उहाँको चरणमा राख्यौं । शिक्षकको आवश्यकता पनि रहेछ,उहाँलाई । अनि गुरुज्युकै मायाबाट महेन्द्र माध्यमिक विद्यालयमा स्तर अनुसारको अध्यापन गर्ने अस्थायी शिक्षकमा नियुक्ति पायौं । गुरुजीको कृपाबाट खुशीप्ूर्वक हाम्रो चुलो बल्ने निश्चित भयो । हामी पुलकित भयौं । त्यसपछि हामीले अध्ययन र अध्यापन दुबै डुङ्गाको बहना समातेर सन्तुलित रुपमा ख्याउदै जीवनको रङ्गिन लक्ष्यको नदीमा अगाडि बढिरह्यौँ ।
हम्रो दाम्पत्य जीवनयात्रा अहिले, करीब तीन बर्षको फेरोमा घुम्दै थियो । समयको वहावसंगै उडेको हाम्रो मिलनको तेश्रो बर्षको परिणाम, पुत्र लाभ भयो । प्रकृतिको वरदान ।
बास गासको व्यवस्था भएपछि घरबाट आमा बालाई झिकाएँ । पढ्नको लागि बहिनीलाई पनि । हामी दुबैजना शिक्षण कर्तव्यमा अभ्यस्त । मैले अतिरिक्त कक्षा समेत गरी विहानदेखि बेलुकीसम्म करीब बाह्र घण्टा समयको जिम्मा लिएँ ।
दुईजनाको बौद्धिक शिक्षण श्रमको पारिश्रमिकले अर्थोपार्जन राम्रै भयो । त्यसले हामीलाई नेपालगञ्जमा एक कट्ठा घडेरी किन्ने उत्साह जाग्यो र दुई जनाको सहमतिबाट सो आकांक्षालाई पूरा गरियो । त्यसपछि घर बनाउने महत्वाकांक्षा जुर्मुरायो ।
बाको रेखदेखमा यनकेन प्रकारेण घर ठडाउने सपनाले केही मूर्तता पायो । घर बनेको खुशियालीमा हाम्रो परिवारको घरमा उमङ्ग रङ्गिएको थियो । समयको पदचाप । हाम्रो खुशी हाँसी परिवारिक जिन्दगीको उडानमा एकदिन अकस्मात पखेटा भाँचियो ।
जिन्दगीको मोड
बालाई घाँटिनिर सानो घाउ निस्कियो । त्यसको उपचार गर्दै जाँदा प्राणघातक क्यान्सरले बाको आयु छोट्याएको कालो झण्डा देखाइदियो,समयले । त्यति मात्र हैन, मेरो सानो कन्तुरमा धमिरा लागेको,अनिष्टको संकेत पनि दियो । अस्पतालले, हाल नेपालबाट सम्भव नभएकोले दिल्ली लैजान प्रेस्क्राइब हात पा¥यो । सास हुञ्जेल आश । त्यसको लागि गरुङ्गै थैलीको आवश्यक पर्ने भयो । पहिलो चोटी आफन्ती आत्मीयजनहरुसंग सापटी मागेर बाको सास जोगाउन दिल्लीतिर हान्निएँ । सीमित बजेटले छेउ लागेन । अलिअलि गर्दै ऋणको भारी बोझिलो हुँदै धान्न नसकिने भयो । बाको सास आधा झुण्डिएको थियो । बल्लतल्ल बनाएको जिन्दगीको ओत दृष्टि बन्धकी राख्नु पर्ने भयो । बहिनीलाई बाको रेखदेखमा दिल्लीमा छोडेर घर आएँ, र ६० प्रतिशत ब्याज तिर्ने गरी अपूर्ण घर बन्धकी राखी ऋणको असह्य भारी उठाएर पुनः दिल्ली हान्निएँ । ममाथि लगानी भएको बाको अपूरणीय योगदानलाई हृदयमा राखी आशा र विश्वासको छाति फुकाएर बाको उपचारमा जुटेँ ।००
बाह्र महिना उपचार गराएपछि न बा रहनु भो,न पैसा रह्यो । सबै गुमाएर हृदयभरि बेदना र आँखाभरि आँशु बोकेर रित्तै घर फर्किएँ । दिल्लीबाट फर्किदाको मैले रोदन ल्याएर मैले आमा,बहिनी र पत्नी कमलालाई बाँडे ।
एक बर्ष दिल्ली बसाईबाट राहत शिक्षक जागिरको दाम्दो छिन्यो । साहुको ऋणको व्याज आयतन चुलिदै चुलिदै पहाड बनेको रहेछ । मेरा ट्युसन विद्याथीहरुको बाटो पनि अन्तै सोझियो । साहुको पीरो मर्मभेदी शब्द वाणले मुटु निचोरेर थन्थिलो पा¥यो । घर जिम्मा लगाएर पुनःविशाल दाइकै घरतिर डेराडण्डा सा¥यौ ।
ऋणभारले खंँगारिएको अर्थतन्त्रले मेरो मनस्थितिलाई विदेश सोझायो । मेनपावर कम्पनीले मेरासामु मनग्गे अङ्गुरको झुप्पा जस्तै अर्थको रुख देखायो । म पग्लिएँ । कमलासंग हठ तेर्साउदै सहमति मागेँ ।
त्यसपछि,कमलाको संचयकोषबाट केही रकम र बाँकी थपथापको लागि विशाल दाईलाई गुहारेँ, विदेश यात्राको लागि । गुरु कृष्णप्रसादले “हिड्दा खुट्टा सम्झिनु,म कहाँ हिड्दैछु,भनेर रे,कि म कहाँ पाइला टेक्छु भनेर । भरसक स्वदेशमै विकल्प खोज,विभिन्न माध्यमहरुभित्र पसेर । यदी दिमागमा सम्भावना सुल्झिएन भने जाउ । विशालदाईबाट पनि त्यही सल्लाह पाएको थिएँ । भावी दिनको लागि दुबैको सल्लाह र सहमति सदृश थियो, यहाँ परिवारको लागि चिन्ता लिनु पर्दैन । आमा,बहिनी हुनुहुन्छ,कमलालाई सहयोग गर्ने । वाँकी म पनि छदैछु । विदेश गएपछि, त्यहाँको उपयुक्त सभ्यता,विकास मोडल र कृषि तथा अन्य प्रविधिज्ञ ज्ञानहरु पनि दिमागमा बटुलेर ल्याउनु, पैसाको साथै । पछि काम लाग्छ । सरकारी बजेटबाट विदेश भ्रमण गरी पैसा मात्र बटुली खाली दिमाग आउने हाम्रा अकर्मण्य नेताहरु जस्तो नहुनु ।”
यसरी गुरु कृष्णप्रसाद र विशाल दाईप्रति कृतज्ञ हुँदै,मनग्य अर्थोपार्जन गरेर सर्वसौविध्ययुक्त सुखी भावी जीवनको सपनाको उडान भर्दै छातिमाथि ढुङ्गा राखेर म बिदेश प्रस्थान भएँ,शिक्षित बेरोजगारीको वैकल्पिक धागो समातेर ।
०००
अरब पुगेपछि नेपालको म्यानपावर कम्पनीले यहाँ मलाई देखाएको लालीपप एकथरि उहाँ पुगेपछि मेरा हात परेको माटो अर्कै पर्नजाँदा दूतावास मार्फत कानुनी प्रकृया जारी राख्दै उताको कम्पनीले जबरजस्ती घिचाउन खोज्दाको मेरो जिन्दगीको कुनो–
मरुभूमिको टन्टलापुर प्रचण्ड गर्मीमा ऊट,भेडाको गोठालाको जिम्मेवारी सम्हाल्नु, बाख्राको दूध दोएर मालिकलाई चढाउनु, रात्रीकी काली यामिनीको घुम्टोभित्र दिनका मर्मभेदी पीडाहरु ओढेर सुत्थेँ । अनि चार घण्टा भए पनि बिश्रान्तिको सास फेर्थे । यही मेरो नियति थियो ।
कठिन,संघर्षपूर्ण दुःखद अनुभूति । बाख्राहरु चराउदा मालिकले मलाई दुर्विन दिएको थियो । पहिलो पटक मेरो हातमा दुर्विन परेपछि त्यसको लेन्सबाट अगाडि हेरेँ, छरिएर टाढा टाढासम्म पुगेका बाख्राहरु छर्लङ्ग देखिए,उनका जिउका साना साना दागहरु समेत । कोशौं टाढा भएका चिजहरु आँखै अगाडि छर्लङ्ग देखेँ ।, ।
घरबाट कमलासंग मोबाइलमा कुरा हुँदा “म सुख सुबिधापुर्वक कम्पनीको अफिसमा कुर्चीमा बसेर काम गरिरहेकोछु । मलाई आनन्दछ । मेरो चिन्ता नलिनु । बरु त्यहाँ तिमी लगायत आमा,बाबु,बहिनीलाई कस्तोछ ?” भनेर सत्यलाई हृदयमै दबाएर झूठोलाई मुखबाट ओकलेको थिएँ ।
दुई महिनासम्म मरुभूमिको अति कष्टपूर्ण जीवन व्यतीत पश्चात दुतावासको दबाबलाई स्वीकार गरेर श्रमिक आह्वान गर्ने कम्पनीको एमडीले मलाई बोलाएर मसंग अन्तरवार्ता लियो । र मेरो शैक्षिकस्तर,इमानदारिता र अनुभवी क्षमताको कदर गर्दै प्रारम्भिक तालिम पश्चात भेडा गोठालाबाट झिकेर श्रमिक परिचालन गर्ने,अफिस वर्कर कारिन्दा बनाएपछि बल्ल टन्टलापुर घामको टोकाई र भेँडा,बाख्रासंग कुदाईको कष्टकर जीवनबाट मुक्ति पाएँ ।
त्यहाँ भेडा चराउँदा मैले मरुभूमिमा बनेका चिल्ला सडकहरु देखेँ । कृषि प्रणाली देखेँ,भाषा संस्कृति,जीवन र जगत देखेँ । अफिस कारिन्दा हुँदा बजारको संरचना देखें,विकास र सभ्यता देखेँ । संस्कार देखेँ । बालुवामा टाढाटाढा देखि गाडीमा माटो बोकेर ल्याएर, पानीका फोहोराले खेती गरेको कृषि प्रणाली देखेँ । अनि नजिकबाट देखेँ, कृषि तथा पशुपालन प्रणाली ।
रात्रीको निन्द्राभित्रको स्वप्निल संसार सुदूर परदेशमा रहँदा,मेरो हृदयको स्मृति गङ्गामा श्वेतभेषधारिणी मेरी आमा,मेरो जीवनका सुख दुःखका मोडहरुमा सामाजिक क्रान्ति अभियानमा साथ दिन आएकी जीवन संगिनी कमला, जीवनको उत्कट अभिलाषाको नवदीप्त सन्तान छोरा शुभ्रको चञ्चल बालसुलभता र बहिनीको तस्वीर छचल्कि रह्यो ।
मेरा गुरु कृष्णप्रसाद र सामाजिक,सांस्कृति क्रान्तिका अभियन्ता विशाल दाईका उच्च आदर्श र हितोपदेशहरु मेरो स्मृतिपटमा सम्मानपूर्वक पोको पारेर राखेको थिएँ । मेरा कठिनतम भोगाईभित्रबाट मैले गहनतम संकलन गरेका अनुभूतिका गाथाहरुलाई डायरीमा लिपीवद्ध गरेको थिएँ ।
गतिशील समय । हाम्रो भौतिक दूरी लाखौं माइल टाढा भए तापनि फक्रिएको विश्वीकृत संसार जोड्ने,संचार प्रविधि विकासले हामीलाई नजिक्याएको थियो । यसको उपयोगले ंहामीलाई साक्षात्कार हुने अवसर पनि जुटाइदिएको दियो,मोबाइल प्रविधि ।
००००००
रङ्ग फेर्दै कुद्ने गतिशील समय । जसले समयको प्रत्येक गतिलाई सदुपयोग गर्न सिक्यो उसको जीवन सफल र सार्थक हुन्छ । तर समयको स्वभाविक गतिलाई दुरुपयोग गर्ने मान्छे जीवनमा जहिल्यै असफल रहन्छ । ऊ कुलतको दिग्भ्रमित बाटो समातेर अँध्यारो गर्तमा फस्छ ।
हाम्रो मिलन, बस्तुबादी धरातल देख्न नपाएका विगतका कूपमण्डुकहरुलाई बैचारिक वहनाद्वारा तारण गरेर उज्यालो आगत देखाउनु पनि हो । अँध्याराका उल्लुहरुलाई चन्द्रमाको उज्यालो देखाउनु पनि हो । हामीले सताव्दीऔँ देखि सामना गर्दैँ, आएको विसंगत संस्कारका काँडाहरुलाई पन्छाउने अभियानको प्रारम्भ विन्दु पनि हो हाम्रो कथित अन्तरजातीय मिलनको जिन्दगीे ।
सगुण सत्यलाई ओझेलमा पारेर स्वयंलाई स्खलित पार्ने यो निर्गुण शून्य निशाचरलाई समाप्त पार्ने हाम्रो लक्ष्य । सबै मानवको वर्ण फरक भएपनि रगत उही हो, रातो । मन फरक भए पनि आत्मा उही हो, दुख्ने,कुण्ठिने,भाँचिने, रुने,हाँस्ने । भोग फरक भए पनि चिन्तन उही, विचार,बिम्ब र प्रतीकको संयोजन । हाम्रो समाजका अबुझ अभिमानीहरु शून्यबादको भूँमरीमा घुमिरहेकाछन् । कौवाको पछिलाग्ने सतही मान्छे हैन, शिरको टोपी छामेर आत्मबोध गर्ने र गहिराइमा डुबेर मोती टिप्ने सार्थक मानव बन्नुछ, हामीले । असल मानव बनेर मृत्युपर्यन्त सम्मान र मृत्युपरान्त इतिहासको पानामा बाँचिरहने लक्ष्य हुनुपर्छ मानवको ।
हाम्रो यो मिलन चिरा परेको दुई धर्तिको मिलन हो । बर्ग सामन्जस्यताको मिलन । ०००००
प्रतिक्रिया