काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक दृष्टिकोणले पवित्र तीर्थस्थलको रूपमा चिनिने पनौतीमा प्रत्येक १२ वर्षको समयको अन्तरमा सूर्य मकर राशिमा पर्ने बखत मकर मेला अर्थात् कुम्भ मेला स्नान लाग्ने गर्दछ । माघ महिनाको अन्तिम साता पनौती मकर मेला स्नान गर्न भक्तजनको अत्यन्त घुइँचो देखियो ।
जो मानिस रोशी र पुण्यवती नदीको पानी आफ्नो हत्केलामा राखी गुरु गोरखनाथमा अर्पण गर्न जान्छ, त्यस मनुष्यले चिताएको मनकामना, इच्छासिद्धि पूरा हुन्छ भन्ने धार्मिक आस्थासमेत रहिआएको छ ।
जसले मकर मेला स्नान गर्दछ, त्यस मनुष्यको शरीरमा भएको रोग पखालिन्छ, मनमा भएको खोट, पाप नाश हुन्छ भन्ने पौराणिक कथन छ ।
हिन्दुशास्त्रका अनुसार सत्ययुगमा जब देवराज इन्द्रलाई शरीरमा श्राप जन्य रोग लागेको थियो, त्यस बखतमा पनौती उपासनाबाटै निको पारेका थिए भन्ने किम्बदन्ती छ ।
आजभन्दा धेरै वर्षअघि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेका बेला बखतमा, त्यस्तो अवस्थाबाट अत्यन्त चिन्तित भएर पनौतीका राजा दिर्गरथ र काठमाडौंका राजा सत्यवर पानी वरदान माग्न फूलचोकी देवीको दर्शन गर्न गए । त्यहाँबाट फर्केपछि खडेरीबाट मुक्त हुन दुवै देशका राजालाई फूलचोकी देवीले सपनामा सुन र चाँदीको फूल चढाउन ल्याउनू भन्ने आदेश दिइन् ।
काठमाडौंका राजा भने आफ्नो देशमा प्रशस्त कालीगढहरू हुनाले अत्यन्त खुसी भए र सुन जुटाउनतर्फ लागे । पनौतीका राजा दिर्गरथ कालिगढहरूको अभावमा चिन्तित देखिए । सुन र चाँदी नभएकाले तोरी र फूलको माला चढाउन उनका मन्त्री, भाइभारदारहरूले सल्लाह दिए ।
सल्लाहअनुसार उनले सुन र चाँदीको फूलको सट्टा तोरी र मुलाको फूल फूलचोकी देवीलाई चढाए । आफूसँग कालिगढहरु नभएका कारण सुनचाँदीको सट्टा फूल चढाउनु बाध्य भएको भनेर उनले देवीसामु फूल प्रस्तुत गरी बिन्ती गरी क्षमा मागेर । उनको भक्ति देखेर फूलचोकी देवी अन्यन्त प्रसन्न भएर रुद्रावती रोशी नदीमा पानी पठाइदिइन् ।
केही समयपछि काठमाडौंका राजा सुन र चाँदीको फूल लिएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए। त्यो देखेर उनले आफूलाई पनि वरदान मिल्नुपर्ने प्रार्थना गरे । त्यसपछि फूलचोकी देवी प्रसन्न भएर आधा नदी त्यसतर्फ पठाइदिन्, जुन नदीलाई तत्कालीन समयमा गोदावरीका नामले चिनिन्छ ।
त्यही किंवदन्तीका कारण पनौती त्रिवेणी र गोदावरीमा ६-६ वर्षको अन्तरमा, गोदावरीमा श्रावण महिनाभरि र पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर १२ वर्षे मेला लाग्छ ।
प्रतिक्रिया