२ पुस २०८२, बुधबार | December 17, 2025

न्यायापालिका भ्रष्टाचारमुक्त नरहेसम्म राज्यका अरू अंगले लोकतन्त्रको रक्षा गर्न सक्दैनन् : चण्डेश्वर श्रेष्ठ



काठमाडौं । न्यायापालिकामा सुधारका लागि नेपाल बार एसोसिएसन कात्तिकदेखि चरणबद्ध आन्दोलनमा छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार अन्त्यका लागि गोला प्रणाली लागू गर्ने र भविष्यमा अटोमेसनबाट पेसी तोक्ने सुझावसहितको हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न नमानेको भन्दै बारले सुधारमा जबरा बाधक रहेको निष्कर्ष निकाल्दै उनको राजीनामा मागेका आन्दोलन गरिरहेको छ ।

आन्दोलन थालेको दुई महिना वितिसक्दा पनि प्रधानन्यायाधीशले राजीनामा दिएका छैनन् । बारको आन्दोलन पनि सुस्त देखिएको छ । यद्यपि बारले माग गर्दै आएको गोला प्रणालीबाट पेसी तोक्ने काम भने सुरु भएको छ ।

तर, प्रधानन्यायाधीश जबरा हटाउन नेताहरूको दैलोमा पुगेको बार पछिल्लो समय भने सुस्ताएको देखिएको छ । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसँग न्यायापालिका सुधार आन्दोलनबारे न्युज कारखानाले गरेको कुराकानीको सम्पादित अंश :

 

नेपाल बार एसोसिएसनले अदालतमा भइरहेका विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध थालेको आन्दोलन कहाँ पुग्यो ?

बारको आन्दोलनले गोला प्रणाली लागू गराउने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्याय सम्पादनमा सहभागी हुन नपाउने हिसाबबाट अगाडि बढेको छ । २ माघबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली लागू हुँदैछ ।

यसबाट प्रधानन्यायाधीश वा मुख्यन्यायाधीशले आफूखुसी बेच्न तोकेर बिचौलिया र भ्रष्टाचारको जो विकृति रहिरहेका छन् त्यो रोक्नका लागि यसले केही हदसम्म सफलता प्राप्त गरेको छ ।

अदालतभित्रको विकृति, विसंगति, भ्रष्टाचार, बिचौलिया रोक्न न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने पक्षमा नरहेका प्रधानन्यायाधीश जबरा बाधक रहेकाले राजीनामा माग गर्दै आएकोमा यी उपलब्धी भएका छन् । यद्यपि पूर्ण कार्यान्वयनका लागि आन्दोलनमा छौं ।

 

तपाईंहरू आन्दोलनमा रहेकै बेला आज प्रधानन्यायाधीशले न्यायसेवा आयोगको बैठक बोलाउनु भएको छ, यसलाई कसरी लिनुभएको छ ?

नेपाल बार एसोसिएसनले न्याय परिषद्, न्यायसेवा आयोगका सदस्यलाई सुधारका बाधक प्रधानन्यायाधीश जबराको अध्यक्षतामा बैठक नहोस् भनेर महिना दिनअघि भनिसकेको छ । मलाई लाग्छ कि आजको बैठक पनि सायद उहाँको अध्यक्षतामा हुँदैन होला ।

 

तपाईंहरूको अनुरोधका बीच बैठक बस्यो भने के गर्नुहुन्छ ?

त्यो भयो भने पनि हाम्रो विरोध रहिरहन्छ । त्यसमा भएका विसंगतिका कुरा आयो भने त्यसलाई एक्सपोज गर्ने बारले वाचडगको रुपमा उभिएर विरोध गर्ने र सुधारको लागि पहल गर्नेछौं ।

 

दुई महिनादेखि आन्दोलनमा हुनुहुन्छ । बीचमा आन्दोलन हराएजस्तो देखियो । बाहिर चर्चा भएजस्तो आन्दोलन तुहिएकै हो ?

त्यो अवस्था होइन । हिजोसम्म पनि सर्वोच्च अदालतको प्रांगणमा हामी मूल गेटमा हामी कानुन व्यवसायी उभिएर शान्तिपूर्ण ढंगले कालोपट्टी बाँधेर प्रदर्शन गरिराखेका छौं । प्रधानन्यायाधीश त्यो बाटोबाट सर्वोच्च अदालत प्रवेश गर्न सकिराख्नुभएको छैन । यो आन्दोलन यहाँमात्र होइन देशभर सबै बार इकाईमा जारी रहेको छ ।

आन्दोलनले गोला प्रणाली लागू गर्नेदेखि लिएर अरु सुधारका कार्यक्रम अगाडि बढ्दै गइरहेकाले यो आन्दोलन चोलेन्द्रको राजीनामा मात्र सीमित छैन । समग्र न्यायापालिकाको सुधारको अभियानमा लागेको हुनाले यो आन्दोलन निरन्तर जारी रहन्छ ।

 

न्यायापालिका सुधारको अभियानमा साथ माग्दै दललाई ज्ञापनपत्र बुझाउनुभएको थियो । तर, राजनीतिक दलले कुनै निर्णय लिएनन् नि ?

यो विषयमा हामी गम्भीर छौं । संसदमा प्रतिनिधित्व गर्ने दलका नेता, सरकार प्रमुखदेखि प्रतिपक्षी प्रमुखसम्मलाई भेटेर चोलेन्द्रको बहिर्गमन हुनुपर्ने १७ वटा आधार दिएका छौं । ध्यानाकर्षण गराएका छौं ।

यो विषयमा उहाँहरूले अहिलेसम्म औपचारिक रुपमा नबोल्नुरनहेर्नु भनेको न्यायापालिकामा रहेको विकृति, विसंगति, भ्रष्टाचारलाई नियन्त्रणतर्फ उहाँहरूको ध्यान नगएको भन्ने रुपमा लिनुपर्ने हुन्छ । यदि त्यस किसिमको भयो भने न्यायापालिका भ्रष्टाचारमुक्त नरहेको अवस्थामा न राजनीतिक दल, न राज्यका अरू अंगले लोकतन्त्रको रक्षा गर्न सक्दछ । यो स्थिति भएकाले उहाँहरूले पनि अहिलेको स्थिति गम्भिरतापूर्वक हेर्नुहुनेछ । उहाँहरूले आफ्नो निष्कर्ष दिनुपर्छ । दिनुहुन्छ भन्ने लाग्छ ।

 

प्रधानन्याधीशले राजीनामा नदिने, दलहरूले महाभियोगको कुरै नगर्ने अवस्थामा आन्दोलन कहिलेसम्म चल्छ ?

जबसम्म न्यायापालिका र लोकतन्त्र रहन्छ तबसम्म नेपाल बार एसोसिएसनको वाचडगको रुपमा रहेको आन्दोलन निरन्तर जारी रहन्छ । यदि स्वतन्त्र न्यायापालिका असर पर्ने, नकारात्मक प्रभाव पर्ने खालको कुनै पनि कदम हुन्छ भने त्यो बेलामा बार एसोसिएसन सदैब वाचडगको रुपमा आन्दोलनको स्वरुपमा अगाडि बढ्दछ ।

हिजो लोकतन्त्र नरहँदा, दलहरूमाथि प्रतिबन्ध लाग्दाको अवस्थामा पनि बार एसोसिएसनले नै लोकतन्त्र प्राप्ति तथा दलहरूले प्रतिस्पर्धाका आधारमा लोकतन्त्रको रक्षा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदै आएको हुनाले यो आन्दोलन क्षणिक होइन, चण्डेश्वरको पालामा मात्र होइन कुनै पनि बेलासम्म रहन्छ । हिजोका दिनमा देबनारायण प्रसाद बर्मा जसले आजको दिनमा बार स्थापना गरेर पुर्‍याए, ६६ वर्ष प्रवेश भइसकेको छ ।

यो दिनसम्म हिजोका मितिमा जति लड्दै आएको छ न्यायापालिका, लोकतन्त्र, मानवअधिकारको रक्षाका लागि, यो आन्दोलन निरन्तर जारी रहन्छ । यस किसिमको अभियान रोकिने अवस्था होइन ।

 

आन्दोलन स्वरुप एकैनासको हुन्छ कि तपाईंहरूले भनेजस्तो सडकमा पनि जानुहुन्छ ?

प्रधानन्यायाधीश जबरा बहिर्गमन भइसकेपछि हाम्रो अभियान सुधारका अभियान हुनेछन् । त्यो सुधारका अभियानमा जो जो बाधक रहन्छन्, कानुन व्यवसायी, न्यायाधीश वा अरु कोही, त्यसकिसिमको बाधकको रुपमा रहेका विरुद्ध आन्दोलन हुन्छ । न्यायपालिकाको सुधारका लागि निरन्तर जारी रहन्छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ५१ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको