२ माघ २०८१, बुधबार | January 15, 2025

केपी ओलीलाई लाग्यो चुनाव, गृहजिल्लाबाट तताउँदै माहोल



काठमाडौं । नेकपा ‘एमाले’ अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन् । उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन् ।

सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने लवइङ गर्दै आएको र गत साता गृहप्रदेश सुदूरपश्चिम जाँदा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ताजा जनादेशबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएपछि ओली झनै हैसिएका हुन् ।

किनकि अहिल्यै अवस्थामा वैशाखभित्र मध्यावधि चुनाव भएमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा आफ्नो पार्टी एमालेले अगाडि हुने ओली पक्षीय आँकलन छ । सत्ता गठबन्धन चुनावी गठबन्धनमा परीणत नहोस् भन्ने चाहन्छन्, ओली ।

आगामी वैशाखभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने प्रस्ताव निर्वाचनआयोगले गरिसकेको छ । चुनावको खर्चमा मितव्ययिता अपनाउन तीन तहकै चुनाव एकैपटक गर्नुपर्ने माग पनि उठिरहेका बेला ओलीले गृहजिल्ला झापाबाट चुनावी माहोल बनाउन थालेका छन् ।

एमाले झापाका जिल्ला अध्यक्ष चिन्तन पाठककाअनुसार पछिल्लो समय ओलीको गृहजिल्ला आउजाउ बढेको छ । पछिल्लोपटक दुईदिवसीय यात्राका क्रममा आइतबार झापा पुगेका ओलीले भाषणभन्दा पनि भेटघाट तथा अरुको कुरा सुन्नमै समय व्यतित गरे । भद्रपुर विमानस्थल हुँदै ओली सुरुमा आफ्नो पिता मोहन ओलीको निवास भद्रपुर-१ पृथ्वीनगर पुगे । जहाँ उनका ९३ वर्षीय पितासँगै भाइ बुहारी बस्छन् ।

ओली आफ्नो पुर्ख्यौली निवास पुग्दा उक्त घर पार्टी कार्यालयजस्तै देखिन्थ्यो । आफन्त, छरछिमेक र नेता कार्यकर्ता तथा शुभचिन्तकको भीड लागेको थियो । ओलीले भ्याएसम्म शुभचिन्तक तथा छिमेकीसँग तस्बिर खिचाउने र सञ्चोबिसञ्चो भलाकुसारी गरे । कतिसम्म भने एकजना महिला शुभचिन्तक कुमारी लिम्बुले सधै फोटोमा मात्रै देखेको भन्दैमास्क खोल्न आग्रह गर्दा ओलीले मास्कमात्रै खोलेनन् नजिकै बोलाएर तस्बिर पनि खिँचाए । के कसो भनेर हालखबर सोधे ।

त्यहाँबाट बिर्तामोडस्थित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका ओलीले चुनावी शैली अपनाए । एकातिर सुवास नेम्वाङ, अग्नी खरेल, भानुभक्त ढकाल लगायत टीका लगाएर पार्टी प्रवेश गराउँदै थिए भने अर्कोतिर ओली मञ्चमा बच्चादेखि वृद्धसम्म भेट्दै फोटो खिँच्दै थिए । दूधे बालकलाई काखमा राख्नेदेखि वृद्ध आमाबाट आशिर्वाद लिनसम्म भ्याए । एकातिर नेताहरु भाषण गर्दै थिए भने ओलीको ध्यान नेता कार्यकर्ताका छोराछोरी बोलाएर मञ्चमै तस्बिर खिचाउने, वृद्धवृद्धाबाट आशिर्वाद लिने, युवासँग भलाकुसारी गर्नमै वित्यो । कतिसम्म भने दुईजना किशोरीले पेन्सिलले कोरेको आफ्नो चित्रसहित फ्रेम तस्बिर ग्रहण गर्न भ्याए । किशोरीको पढाईबारे सोध्दै धन्यवाद दिए ।

कांग्रेसबाट संविधानसभा सदस्य रही एमाले प्रवेश गरेका अमृतराज रावकी वृद्ध आमाको हातबाट पनि आशिर्वाद लिन भ्याए ओलीले । अमृतकी आमाले ओलीको शीरमै हात राखेर सफल हुनु, फेरि प्रधानमन्त्री बन्नु भन्ने आशिर्वाद दिइन् । उनले आशिर्वाद दिँदा टाउकोमै हात राख्दा ओलीको ढाका टोपी खल्बलियो । ओलीले टोपी उतारे । फेरि मिलाएर लगाए ।

यो समारोहमा ओली धेरै बोलेनन् । उनले दुर्गा प्रसाईदेखि लेखराज भट्ट, सुवास नेम्वाङसम्मबोल्न अघि सारे । आफू थोरै बोले । अन्य कार्यक्रममा घण्टौं बोल्ने ओली यहाँ भने बोल्ने भन्दा अनौपचारिक रुपमा भेट्ने र अरुका कुरा सुन्नमा केन्द्रीत रहे । सम्बोधनका क्रममा पनि उनी विपक्षीप्रति त्यति आक्रामक देखिएनन् । बरु एमाले पार्टी कस्तो हो, के के काम गर्योक, अब देश बनाउने एमाले नै हो, अरुले सक्तैन भन्ने खालको धारणा राखे ।

कलाकारको प्रस्तुति

पछिल्लो झापा भ्रमणमा अध्यक्ष ओलीले काठमाडौंबाटै कलाकार पनि साथै लगेका थिए । हाँस्य कलाकार राजा राजेन्द्र अर्थात राजेन्द्र पोखरेल, गायिका पूर्णकला बिसी पनि झापा जाँदा एकै जहाजमा सँगै थिए । भद्रपुर विमानस्थलबाट काठमाडौं उड्न लागेका तक्मे बुढोको नामले परिचित विल्सन विक्रम राईलाई पनि फ्लाइट क्यान्सिल गर्न लगाएर रोके ।

बृहत् पार्टी प्रवेश कार्यक्रममा तिनै जना कलाकारले प्रस्तुति दिए । नेता कार्यकर्तालाई मनोरञ्जन गराए । राजा राजेन्द्र र विल्सनको प्रस्तुतिमा ओली पनि कार्यकर्तासँगै रमाइलो मानेर हाँसेका थिए । यसरी चुनावी तयारीअन्तर्गत ओलीले कलाकार पनि मैदानमा उतारेका थिए । कलाकार ओली सँगसँगै थिए ।

गृहजिल्लामा ओली आफ्नो यात्रामा क्रममा बीचरबीचमा बाटोमा गाडी रोकेर नेता कार्यकर्ता भेट्ने र संक्षिप्त संवाद गर्नमा पनि सक्रिय रहे । ओली झापा झर्दा साढे ५ हजार बढी नेता कार्यक्रम पार्टी प्रवेश गरेको एमाले झापाको दाबी छ ।

गृहजिल्लामा रहँदा ओली सामान्य उद्घाटन कार्यक्रममा पनि सरिक भए । गौरादह नगरपालिकामा ओलीले नमूना पाहुना घर तथा नमूना ज्येष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन गरे । यहाँ पनि उनले स्थानीय उत्पादन प्रदर्शनी तथा प्रवर्द्धन गर्न आएका महिलासँग उत्पादित वस्तु हेर्दै भलाकुसारी गरे । स्वरोजगार बनेको भन्दै प्रशंसा पनि गरे । कार्यक्रम सम्बोधनका क्रममा आफूले गरेका विकास निर्माणका कामको फेरिहस्त सुनाए । गौरिगंजको पार्टी प्रवेश कार्यक्रममा पनि सहभागी भए ।

सधै सुरक्षा घेराभित्र रहने, डिस्टेन्स मेन्टेन गर्ने अध्यक्ष ओली यसपालि भने गृह जिल्लामा खुलेरै शुभचिन्तक भेटघाटमा सक्रिय भएको देखिए । उनले गृहजिल्लाबाट आफू चुनावी तयारीमा लागिसकेको एक खालको सन्देश पनि दिएका छन् ।

दुईपटक संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा पनि अदालतले रोक लगाएका बेला वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला चुनाव घोषणा गर्नसक्ने आंकलन ओलीको रहेको उनका निकटस्थ बताउँछन् । त्यसमाथि फागुनमा तीनवटै तहको निर्वाचन एकैचरणमा सम्पन्न गर्ने चर्चाले ओलीमा उत्साह ल्याएको छ । त्यसैले ओलीले आफ्नो जिल्लाबाट, आफ्नो ५ नम्बर निर्वाचन क्षेत्रबाट चुनावी माहोल तताउने जमर्को गरेका छन् ।

झापामा ओलीको रणनीति बुझेका एक नेताले भने, ‘बा ले आफ्नो जिल्लामा चुनावी तयारी लगभग सिध्याइसके । अब चुनाव घोषणा भयो भने देशैभरी बा भिड्नुपर्छ । यता आउने समय हुन्न । त्यसैले उहाँ अहिले आफ्नो जिल्ला केन्द्रीत हुनुभएको छ ।’ एमालेको औपचारिक चुनावी अभियान चितवनबाट सुरुआत हुने पनि उनले बताए । १०औं महाधिवेशन एमालेको आधिकारिक चुनावी तयारी भएको उनले तर्क गरे ।

त्यसो त मंगलबार पालिका अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले तीनै तहको चुनावी तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । यसबाट पनि ओली चुनावी मैदानमा उत्रिसकेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : ३८ बजे

नेप्से परिसूचकमा झिनो सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार

भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु

सुर्खेत । चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया सुरु नभएर

आशिका तामाङ पक्राउ

काठमाडौं । अभिनेत्री तथा अभियन्ताको रुपमा चिनिएकी आशिका तामाङ पक्राउ

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । एकीकृत समाजवादीको

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको