११ पुस २०८१, बिहिबार | December 26, 2024

आज ४२ औँ विश्व पर्यटन दिवस मनाइँदै



काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कोभिड-१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक रूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवस भव्य रूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख्याको उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए । उनका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ ।

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’ मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताए । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । गत वर्ष भर्चुअल रूपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्यामाझ दिवस मनाइएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिक रूपमै कार्यक्रम गर्न लागिएको हो । दिवसकै अवसरमा नेपाल एसोसियसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रक्तदान कार्यक्रम गर्दै छ । नक्सालस्थित संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तादान गरिनेछ ।

नेपाल पर्वतारोहण सङ्घले पनि दिवसको अवसर पारेर सोमबार नागपोखरीस्थित आफ्नो नवनिर्मित भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले सरकारी निर्णयको स्वागत गर्दै सबै सेवा पुनः सञ्चालन गर्ने जनाएका छन् । सीमा नाका खोल्ने र क्वारेन्टिनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ ।

कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले विज्ञप्ति निकालेर विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल व्यवसायी उत्साहित भएको जनाएको छ । सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ४३ बजे

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

एमाले सचिवालय : संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच

गणतन्त्रमा देशको मालिक जनता : उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई

काठमाडौँ । वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्युएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर