८ मंसिर २०८१, शनिबार | November 23, 2024

सुदूरपश्चिमको राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन



गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो ।

प्रदेशसभाको विसं २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले गोदावरी नगरपालिकाको–२ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । असोज १२ गते दुईतिहाइ बहुमतले उक्त स्थानलाई स्थायी राजधानी घोषणा गरी राजधानीसम्बन्धी निर्णय १४ गते प्रमाणित गरेको थियो ।

प्रदेशसभाले राजधानीको स्थान र नाम छनोटका लागि गठन गरेको समितिले तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तर–पश्चिम, गोदावरी–धनगढी–डडेधुरा राजमार्ग पश्चिम, गोदावरीखोलाबाट पूर्व र गोदावरी बजारबाट दक्षिणको चार किल्ला क्षेत्र सिफारिस गरेको थियो । प्रदेशको नामाकरण प्रदेश सरकारले सिफारिस गरेको थियो ।

राजधानी घोषणा भएको तीन वर्ष पुग्नै लाग्दा पनि आवश्यक अन्य प्रक्रिया अघि नबढ्दा अस्थायी राजधानी धनगढीबाटै नियमित कामकाज सञ्चालन हुँदै आएको छ । प्रदेशको नामाकरण चलनचल्तीमा आए पनि राजधानीको जग्गा प्राप्तिसँगै अन्य आवश्यक पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले बताए ।

“राजधानीको स्थान तोकिएसँगै पछिल्ला हरेक आर्थिक वर्षमा प्रदेश सरकारको प्राथमिकतामा राजधानी बनाउने भनेर बजेट विनियोजन हुँदै आएको छ”, उनले भने, “तर जग्गाको भोगाधिकार पाउन नसक्दा बजेट कार्यान्वयन हुनसकेको छैन ।” सङ्घीय सरकारबाट जग्गाको भोगाधिकार पाउनेबित्तिकै पूर्वाधार निर्माणले गति लिने उनको भनाइ छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभाले तोकेको स्थानमा राजधानी निर्माणको काम अघि बढाउन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा राजधानी पूर्वाधार समितिसमेत गठन गरेको छ । सो समितिका प्रदेशका मन्त्री सदस्य छन् । राजधानी पूर्वाधार निर्माणका विषयका कुनै पनि काम अघि बढ्न सकेको छैन ।

राजधानी पूर्वाधार विकासकार्यलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्ष २०७७/७८ लागि सञ्चालन अनुदान र वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदनलगायतको कार्य गर्न पूँजीगत र चालु गरी रु दुई करोड ७४ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको गत आव २०७६/७७ को बजेट, नीति तथा कार्यक्रममा प्रदेश राजधानीको संरक्षण, तटबन्धन, घेरा, पर्खाल र सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रदेश सरकारले राजधानी तोकिएको स्थानको संरक्षणका लागि गत आव २०७६/७७ मा रु पाँच करोड विनियोजन गरेको थियो । चालु आवमा प्रदेश सरकारले राजधानी पूर्वाधार विकास समितिलाई प्रभाकारी बनाउन, वातावरणीय प्रभाव मूल्याङ्कन गर्न र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न रु दुई करोड ७२ लाख विनियोजन गरेको छ ।

वन क्षेत्रमा राजधानीको स्थान घोषणा भएका कारण कार्यान्वयनमा समस्या आएको बुझाइ छ । त्यसैमाथि सर्वोच्च अदालतमा दुईवटा मुद्दा नै दर्ता भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई आग्रह गरेको छ । जग्गा प्राप्तिपश्चात डिपिआरलगायत पूर्वाधारको काम अघि बढ्ने जनाइएको छ ।

गोदावरी–८ का राजनीतिक अगुवा कार्यकर्ता खम्ब बुढाका अनसार प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिन नसक्नु विडम्बना भएको बताए । उनले राजधानी निर्माणका लागि आवश्यक पूर्वाधारलगायतका कामलाई तत्काल अघि बढाउन प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पटक–पटक ज्ञापनपत्र बुझाइसकिएको जानकारी दिए । “राजधानी निर्माणको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने, “त्यसका लागि प्रदेश सरकारलगायत सरोकारवाला निकाय जागरुक बन्न आवश्यक छ ।”

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १० : ५४ बजे

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क

पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको

काठमाडौं महानगरपालिकामा करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५