साउन ६ गते । अर्थात नेपालको राजनीति र साहित्यिक इतिहासमा सधैंभर सम्झिरहनुर्ने यौटा युगपुरुषको स्मृतिदिवस । अर्थात बिपी कोइरालाको स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवसको अवसरमा आज कांग्रेसीजनले उनलाई विशेष सम्झिन्छन् ।
भारतका नेता महात्मा गान्धीले थालेको भारतीय स्वाधीनता संग्राममा सानैमा होमिएर राजनीतिक जीवन सुरु गरेका थिए, बिपी कोइरालाले । कोइरालाले प्रहरी हिरासतदेखि जेलसम्मको २ वर्षे जीवन भारतमा व्यतित गरे । भारतको बनारसमा अध्ययनरत हुंदैगर्दा राजनीतिमा डुबेका कोइरालालगायत नेपाली नेताहरुले भारतीय राजनीतिक आन्दोलनमा गरेको योगदान उल्लेखनीय छ । कोइरालाको फराकिलो अध्ययनले उनलाई गान्धीको अनुयायीमा मात्रै सीमित गरेन, राम मनोहर लोहियादेखि जयप्रकाश नारायणको समाजवादी खेमातिर पुर्यायो । संसारमा समाजवादको बाढी आइरहेको बेला सानैदेखि मार्क्सवादी विचारबाट प्रेरित भएका वीपी कोइराला भन्ने गर्थे : म विचारमा मार्क्सवादी, राजनीतिमा प्रजातान्त्रिक समाजवादी र साहित्यमा अराजकतावादी हुँ ।
महात्मा गान्धीले सुरु गरेको भारतको स्वाधीनता आन्दोलनबाट भारत स्वतन्त्र भएपछि बिपीको ध्यान नेपालमा प्रजातन्त्र स्थापना गर्नेतिर केन्द्रीत भएको थियो । उनले राष्ट्रिय नेपाली का“ग्रेसको नाममा राणाशासनविरोधी पार्टी तयार पार्दै आन्दोलन सुरु गरेका थिए, वैधानिक राजतन्त्रअन्तर्गत प्रजातन्त्र स्थापना गर्ने उद्देश्यका साथ । २००३ सालमा राष्ट्रिय नेपाली कांग्रेस र प्रजातान्त्रिक नेपाली कांग्रेस एक भएपछि २००६ सालमा नेपाली कांगे्रसका सभापति बने बिपी कोइराला । १ सय ४ बर्षे राणाशासन समाप्त गरी प्रजातन्त्र स्थापना गर्ने सशस्त्र संघर्षको नेतृत्व गरेका बिपीको लोकप्रियता भने मरणोप्रान्त झन् झ्यांगियो । उनले एक जमानामा राणाशासन र पंचायती तानाशाहीविरुद्ध सशस्त्र संघर्षको नेतृत्व गरे, अर्काे जमानामा राजासँग मेलमिलापको नीति पनि अख्तियार गरे ।
अब ठ्याक्कै यतिबेलाको राजनीतिक परिदृश्यसँग वीपीको विचारको तुलना गरौं त । झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार तीनवर्षको बीचमै छिन्नभिन्न मात्र भएन, शक्तिशाली कम्युनिष्ट पार्टी पनि नामेट भयो । अदालतको सहारामा उही टुक्रे एमाले र माओवादी केन्द्र जीवित त बनाइए । तर, टुक्रे एमालेभित्र पनि भयंकर शक्तिसंघर्ष जारी छ । फलस्वरुप वीपीको अनुयायी दाबी गर्ने नेपाली कांग्रेस पुनः सत्तामा पुगेको छ । सत्तामा पुर्याइएको छ तिनै टुक्रे कम्युनिष्ट पार्टीहरुकै बैशाखीमा ।
२०३९ सालमा बिपीको निधन भए पनि उनको विचार र सपनाको भने मृत्यु भएको छैन, भलै उनलाई महामानव बनाउने उनकै पार्टी र उनका कार्यकर्ताले बिपीका आदर्शलाई बिर्से पनि । राजनीति र कूृटनीतिमा गरेको साहसिक प्रयोगका कारण बिपी देहान्तपछि पनि अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय नेपाली राजनेताका रुपमा परिचित छन् ।
केपी शर्मा ओलीको अघिल्लो सरकारले दुई तिहाईको नाममा शक्तिको दुरुपयोग गरेर सहमतीय संस्कार समाप्त पार्यो । तर, समयक्रमले पुनः पुष्टि गर्यो, नेपालका राजनीतिक दलहरुबीच सहमतिको आवश्यकता अझे छ भनेर । माओवादी केन्द्र र एमालेको यौटा समुहको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवा नै सहमतिको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका छन् । यस्तो बेलामा बिपीको मेलमिलाप नीतिको नयाँ परिभाषा र कार्यान्वयनको आबश्यकता अझ बढी सान्दर्भिक रहने देखिन्छ ।
राष्ट्रिय मेलमिलापका कुशल सिल्पी
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख व्याख्याकारका रुपमा चिनिन्छन् । प्रजातान्त्रिक समाजवादका अभियन्ता बिपी कोइरालाले राणाशासनको अन्त्यका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका पूरा गरेका थिए । २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको सशस्त्र संघर्षको दिल्ली सम्झौतामा टुंगिएपछि अन्तरिम सरकारका गृहमन्त्रीसमेत बनेका बिपी कोइराला नेपाली कांग्रेसको मात्र नभै नेपालकै सबैभन्दा लोकप्रिय नेताका रूपमा राजनीतिको केन्द्रमा रहे जीवनभर । र, त्यो लोकप्रियता आजसम्म पनि कायम नै छ, गरिब किसानमुखी कृषिक्रान्ति लगायत सामाजिक रुपान्तरणको अगुवाइ गरेका कारण ।
२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई तिहाइभन्दा बढी मत प्राप्त गर्ने नेपाली कांग्रेसको नेताका रूपमा प्रधानमन्त्री चुनिएर बिपीले पहिलो जननिर्वाचित सरकार सञ्चालन गरेका थिए । उनले सामाजिक रुपान्तरणलाई तेज पार्न खोजेपछि आफ्नो भूस्वर्ग गुम्ने डरले थर्कमान भएका जमिन्दार, सामन्त र राजाबाट अवरोध सिर्जना भएको थियो । अन्ततः २०१७ साल पुस १ गते राजा महेन्द्रले शाही नेपाली सेनाको बलमा शाही कु गरेपछि बिपीले आठ वर्ष जेल जीवन बिताउनुप-यो । उनले जेलजीवनलाई साहित्यिक लेखन र वैचारिक–राजनीतिक चिन्तनका उर्बर कालखण्डका रुपमा उपयोग गरे । जेलबाट रिहा भएपछि भारतमा बसेर पञ्चायतविरोधी गतिविधिमा संलग्न बिपी कोइराला शीतयुद्धको मौका उठाउँदै भारतमा समेत तानाशाही थोपरिएपछि निकै हच्किएका थिए । भारतको सत्ता राजनीतिको खिचातानीका कारण आफ्नो प्रजातन्त्रविहीन देशको राष्ट्रियता पनि गुम्ने हो कि भन्ने भयको पोको बोकेर उनी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नाराका साथ नेपाल फर्किएका थिए । त्यसको एउटा कारण थियो कांग्रेसको नेतृत्वमा नेपालमा जहाज अपहरण भएपछि, भारतले नेपालमाथि बढाउन थालेको हस्तक्षेपकारी नीति । हो, तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको वैदेशिक नीति र सुरक्षाको अधिकार भारतलाई दिने भए राजनीतिमा पुनर्स्थापित गराइदिने भन्दै बार्गेनिङ गरेपछि बिपी मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए ।
स्वदेश फर्किंदा मारिने सम्भावना भएको तथ्य थाहा हुँदाहुँदै पनि देशभित्र मृत्युदण्डको माग गर्ने पञ्चहरूको हाँक स्वीकार गर्न पनि बिपी पछि हटेनन्, शीतयुद्धकालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरी । उनले राजासँग मेलमिलाप गर्ने नीति लिए पनि राजा र राजावादी भने मेलमिलापको मुडमा थिएनन । जब २०३६ सालमा विद्यार्थी आन्दोलन भयो, तब उनीहरु सुधारिएको पंचायत र बहुदलबीच जनमतसंग्रह गर्न तत्पर हुनुप¥यो र वीपी बहुदलका प्रवक्ताका रुपमा प्रकट भए । २०३७ सालको जनमत संग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा उनले अधिराज्यव्यापी राजनीतिक प्रचारको नेतृत्व गरे । जनमत संग्रहमा धाँधली गरेर पनि पंचायतलाई जिताइए पनि राजतन्त्रको अवशान भने सुरु भयो नै । राजतन्त्रको सामन्ती जनाधार र अप्रजातान्त्रिक चरित्रलाई कसैले पनि थेग्न सक्ने स्थिति थिएन । अन्ततः मेलमिलापको नीति पनि असफल बनाइयो, हठी राजावादीबाट ।
२०३९ सालमा बिपीको निधन भए पनि उनको विचार र सपनाको भने मृत्यु भएको छैन, भलै उनलाई महामानव बनाउने उनकै पार्टी र उनका कार्यकर्ताले बिपीका आदर्शलाई बिर्से पनि । राजनीति र कूृटनीतिमा गरेको साहसिक प्रयोगका कारण बिपी देहान्तपछि पनि अन्तर्राष्ट्रिय स्तरमा पनि लोकप्रिय नेपाली राजनेताका रुपमा परिचित छन् ।
समाजवादी चिन्तन
त्यसो त, विश्वेश्वरप्रसाद कोइरालाको चिनारीका अनेकौँ आयामहरु छन् । तीमध्ये कोइरालाको समाजवादी राजनीतिज्ञको चिनारी प्रमुख पहिचान हो । राजनीतिमा सक्रिय भएको समयदेखि नै उनले समाजवादप्रति प्रतिबद्धता जनाएका थिए । सन् १९२९ र ३० को समय भारतीय जनआन्दोलनको इतिहासमा एउटा महत्वपूर्ण कालखण्ड थियो । भारतीय राष्ट्रिय कांग्रेसले त्यस बेला ४० वर्ष बल्ल पुगेका जवाहरलाल नेहरूलाई आफ्नो अध्यक्ष निर्वाचित गरेको थियो । उनी दिनरात समाजवादको कुरा गरिरहन्थे । भारतीय युवा वर्गका माझ समाजवाद लोकप्रिय हुँदै गएको थियो । वीपी कोइराला त्यस समय कासी विश्वविद्यालयमा अध्ययनरत थिए । कांग्रेस सोसलिस्ट पार्टीमार्फत कोइराला प्रत्यक्ष रूपमा आचार्य नरेन्द्रदेव र जयप्रकाश नारायणबाट प्रभावित थिए । यस्तै परिस्थितिमा बिपी कोइरालाको राजनीतिक प्रशिक्षण भएको थियो । द्वितीय विश्वयुद्धको प्रारम्भिक वर्षमा कोइराला दार्जलिङमा वकालत गर्थे । तर, वकालत पेशामा उनकोे मन लागेको थिएन । त्यसैले त्यस उथलपुथलमा भाग लिने मनसायले कोइरालाले वकालत पेशा परित्याग गरे । त्यसै बिपी क्रममा हजारिबाग जेल परे । जेलमा भारतका थुप्रै नेतासँग बिपीको संगत भयो । १९४६ मा हजारिबाग जेलबाट छुट्नु र राणाको काराबासमा रहेका पिताजीको देहान्त हुनु एकै साथ भयो । १९४७ आउँदा–नआउँदा भारत स्वतन्त्र हुने टुंगो भइसकेको थियो ।
नेताहरुले देखाएको गुटबन्दीको नीति र फँडानी गर्ने व्यवहारले बिपी स्मृति दिवस मात्रै होइन, बिपीको नीति र सिद्धान्त नै कांग्रेसभित्र हराउन खोजेझैं देखिन्छ । पार्टीको नीति र वीपीको नीतिमा आकाश जमिनको अन्तर आइसकेको छ ।
भारतीय स्वतन्त्रताको प्रभावमा बिपी कोइरालाको प्रयासमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भयो । नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो उद्देश्यका रूपमा समाजवादलाई राखेको थिएन । तर, बिपी कोइरालाको व्यक्तित्व र विचारमा भारतीय समाजवादको पूरै छाप परेको थियो । उनको समाजवादी पहिचान स्थापित भइसकेको थियो । २००७ सालको क्रान्तिको सफलताका निमित्त भारतीय समाजवादीहरूको सहयोग निर्णायक सिद्ध भएको थियो । तदनुरुप सिंगो नेपाली कांग्रेस भारतीय समाजवादीप्रति कृतज्ञ थियो । नेपाली राष्ट्रिय कांग्रेसको गठनमा जनताप्रति उत्तरदायी शासन प्रणालीको वकालत गरिएको थियो । बिपी कोइरालालाई नेपाली कांग्रेसको नेतृत्व गर्ने क्रममा मुख्यत भारतका समाजवादी नेता जयप्रकाश र लोहियाले मद्दत गरेका थिए ।
००७ सालको क्रान्तिपछि बिपी कोइराला गृहमन्त्री बने । तर, कार्यकाल लामो भएन । कोइराला गृहमन्त्री भएको अवधिमा मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसका पार्टी सभापति थिए । नेपालमा सामाजिक क्रान्ति गर्ने विषयमा नेपाली कांग्रेस जागरुक थियो । ००७ सालको क्रान्ति लगत्तै भएको कार्य समितिको प्रस्तावमा सामाजिक आर्थिक रूपान्तरणले प्रमुखता पायो । सामाजिक रूपान्तरणको प्रश्नमा सिंगो नेपाली कांग्रेस कटिबद्ध थियो । निश्चय पनि बिपी कोइरालाको पहलले यस्तो हुन सकेको थियो । ०१२ सालमा वीरगन्जमा महाधिवेशन सम्पन्न भयो । वीरगन्ज महाधिवेशनबाट नेपाली कांग्रेस विधिवत् रूपमा समाजवादको लक्ष्य लिन पुग्यो । नेपाली कांग्रेसको समाजवाद नेहरूको भन्दा केही भिन्न देखिने प्रयत्नमा थियो । त्यसैले गर्दा कोइरालाले भारतमा भारतीय राष्ट्रिय कांग्रेससंग भन्दा सोसलिस्ट पार्टीसँग भ्रातृ सम्बन्ध राखेका थिए ।
विक्रम संवत् २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत ल्यायो । बिपी कोइराला जननिर्वाचित प्रधानमन्त्री बने । प्रधानमन्त्रीत्वकालमा बिपीको आर्थिक कार्यक्रम भने जवाहरलाल नेहरू वा अशोक मेहताको चिन्तनअनुसार निर्मित भएको थियो । केही समयपछि कोइराला प्रधानमन्त्रीको रूपमा नै सुन्दरीजल थुनिए । आठ वर्षको काराबासमा कोइरालाले प्रशस्त अध्ययन गर्नु स्वाभाविक थियो । तर, जेलबाट निस्केपछि पनि समाजवादको विचारमा कुनै पनि परिवर्तन आएन । जेलबाट निस्केपछि कोइराला आत्मनिर्वासनमा वनारस बसे । अक्टुबर १९६९ मा कोइरालाले वनारसमा एउटा महत्वपूर्ण प्रवचन दिए । प्रवचनमा बिपीले गान्धीको राजनीतिक र आर्थिक सिद्धान्तको आलोचना गरे जुन धेरैले स्वीकार गरे । २०१२ सालमा नेपाली कांग्रेसले समाजवादलाई अंगीकार गरेपछि पनि समाजवादको सामान्य एवम् ठोस अध्ययनको कुनै गम्भीर प्रस्तुति कोइराला वा कांग्रेसले गरेको छैन । यद्यपी, जुन नीतिले किसानको भलाई गर्छ, जोत्ने मान्छेको भलाई गर्छ, गाउंमा बस्ने जनताको भलाई गर्छ त्यही नीति र कार्यक्रम नै समाजवादी नीति र कार्यक्रम हो भनेका थिए ।
बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको प्रचारप्रसार गर्ने क्रममा ठाउँठाउँमा समाजवादबारे आदर्श भाषण गर्थे । समाजवादको कुरा गर्दा उनले पहिले उत्पादन नै हुनुपर्छ भनेर बारम्बार जोड दिएका थिए । कोइराला प्रस्ट छन्, म संसदीय प्रजातन्त्र भनेर भन्दिनँ । किनभने प्रजातन्त्र संसदीयबाहेक अरू प्रकारको पनि हुन सक्छ । तर, प्रजातन्त्रविना मुलुकमा स्थायित्व भने सम्भव छैन भन्ने दुरदर्शीता बिपीमा देखिन्थ्यो । समाज विकास र परिवर्तनका लागि बिपी कोइरालाको समाजवादी चिन्तनका दृष्टिकोण आज पनि अधुरै रह्यो यस्लाई न त कसैले बोक्ने हिम्मत गरे नत नेपाली कांग्रेसले नै ? दुर्भाग्यवश उनको यो प्रयास निष्कर्षमा पुग्न सकेन । परिणाम आज पनि बिपीको भजन गाउँदै धेरैले जीविकोपार्जन गर्दैै आएका छन्, हेरौ उनीहरुको पेशा कहिलेसम्म टिक्नेछ !
नेपाली कांग्रेसका नेताहरु विश्वेश्वरप्रसाद कोइरालालाई अक्सर सम्झिने गर्छन् । अझ आजको दिनमा त उनीहरुको कर्मकाण्डी सम्झाई गतिलै हुन्छ । कांग्रेसी नेताहरुको बिपीप्रतिको यो लगाव केवल औपचारिकतामा मात्र सीमित भएको छ । कांग्रेसले त बिपीको समाजवादी धारलाई अनुसरण गर्न छोडिसकेको छ, बिपीको मेलमिलापको नीतिलाई समेत भुल्दै जान थालेको छ । बरु, कांग्रेसका नेताहरुमा त बिपीको मेलमिलापको नीति होइन, आ–आफ्नै गुटबन्दीको नीति सल्बलाइसकेको छ।
नेताहरुले देखाएको गुटबन्दीको नीति र फँडानी गर्ने व्यवहारले बिपी स्मृति दिवस मात्रै होइन, बिपीको नीति र सिद्धान्त नै कांग्रेसभित्र हराउन खोजेझैं देखिन्छ । पार्टीको नीति र वीपीको नीतिमा आकाश जमिनको अन्तर आइसकेको छ । वीपीले परिकल्पना गरेको समाजवाद, वीपीले देखेको पार्टी, देश र जनता एवं वर्तमान कांग्रेसका नेताहरुको गतिविधिमा छेउटुप्पो भेट्न समेत नसक्ने अवस्था छ । आफ्ना आदरणीय नेतालाई सम्झिन त कांग्रेसी नेताहरुलाई बाह्र बज्छ भने ती नेताको विचारमा पार्टी चलेको छ भनेर अब कसले पत्याउने होला ?
प्रतिक्रिया