२० पुस २०८१, शनिबार | January 4, 2025

‘उत्तरार्द्धको यात्रा’



निशाको घुम्टोबाट मुक्त भएकी धरणी ।पूर्व क्षितिजबाट रातो घुम्टो ओढेर उदाएकी उषा । प्रभातकालीन वाटिकामा पुष्पहरु जुर्मुराएका थिए । विहानैदेखि उमङ्ग रङ्गिएको पौडेल परिवारको आँगन । सबैभन्दा बढी रङ्गिएका थिए,तिलप्रसाद दम्पत्ति ।
अहिले, दिवाकर,आकाशको मध्यभागमा पुगेर यौवनपूर्ण थिए । पण्डितहरुले जुराएको प्रस्थानको उत्तम साइत । दुलहा भेषमा सजिएर घोडामा बसको पन्द्र बर्षे कुलप्रसाद पौडेलको जन्ती नौमती बाजा घन्काउँदै, डोली अगाडि लाएर हिड्यो, पारम्परिक संस्कारको पदचापमा । अभिभावक पिता तिलकप्रसाद, करीब तीनसय जन्तीको प्रमुख थिए । जन्तीको लस्कर भुर्तेल गाउँतिर सोझियो र दुलही घरलाई दायाँ पार्दै गन्तव्यमा पुग्यो ।

गणेशबहादुर जीसी

रामप्रसाद भुर्तेल बाजेले फूल अक्षता छरेर जन्तीलाई स्वागत गरे । दुलही भूषामा सज्जिएकी तेह्र बर्षकी शैलेश्वरीलाई यज्ञमण्डपतिर अगि सारे । दुईजना ब्राह्मणहरुद्वारा पूजा विधि शुरु भयो । दुलहा कुलप्रसादले लगन गाँठोसंग जोडिएर शैलेश्वरी भुर्तेलको स्यूँदोमा सिन्दुर भरे । र यज्ञकुण्डलाई दायाँ पारेर प्रदक्षिणा गरे,सात फेरा । कुलप्रसादको सिन्दुरले रङ्गिएपछी शैलेश्वरी, भुर्तेलबाट पौडेलमा परिणत भएर सदाको लागि कुलप्रसाद पौडेलको जीवन संगिनी भै उनको गृह प्रबेश गरिन् । त्यहाँदेखि कुलप्रसाद र शैलेश्वरीको जीवन विवाह नामधारी सांस्कारिक विधिद्वारा दाम्पत्य सुत्रमा बाँधियो । मानौं उनीहरुको जीवन नयाँ चरणमा पदार्पण भयो । असली विवाह यस्तै गठबन्धन हो, जसलाई जीवनका घडीहरुमा मृत्युको छायाँले पनि विथोल्न नसकोस् । आजीवन साथ रहने उत्कण्ठा बाँचिरहोस, समर्पणको सपथ जीवनभर रहोस ।

समयको प्रवाहमा शारीरिक विकास हुँदै उनीहरु वीचको आत्मीयताको फूल सघनतापूर्वक झाङ्गिदै फुल्दै फक्रिदै आल्हादपूर्ण प्रणयमा कसिलो भयो । पूर्वाद्र्धको रोमाञ्चकारी जीवन यात्रा ।

यौवनपूर्ण नयाँ दाम्पत्य सम्बन्धको प्रारम्भिककाल । अब सन्ततीको अभिलाषाले कुत्कुत्यायो उनीहरुलाई । प्रकृतिको नैसर्गिक सनातन प्रकृया । समयको गति र प्रकृतिको प्रावधान । संयोगवस उनीहरुको अभिलाषाको भोक तृप्त हुने संकेत प्रकट भयो । बैंशले पुष्टिएकी शैलेश्वरी ब्राह्मणीलाई अकस्मात वान्ता आउने, खाना रुची नहुने, जिउ असजिलो हुने कृया शुरु भयो । आम आमाको निजात्मक भोगाई । ब्राह्मण परिवार हर्षले पुलकित भयो । स्वयँ शैलेश्वरीलाई पनि आमा बन्ने खुशीले उनका अन्य शारीरिक कठीनाईहरु गौण भए । अन्ततः नवौं महिनाको भरिपूर्ण दिनमा घण्टौंको कष्टदायी, पीडाको छटपटाहट पश्चात यमराजलाई परास्त गरेर एउटा शिशुलाई धर्तिमा अवतरण गराइन् ,शैलेश्वरीले । मानौं तत्काल उनको पुनर्जन्म भयो,एक खड्गो पार ।
शैलेश्वरीको दृष्टि सबैभन्दा पहिले शिशुको लिङ्गमा आकर्षित भयो । पहिलो वेतमै पुत्ररत्न लाभ भएकोमा हर्षातिरेकले उनको हृदय पुलकित भयो । मानौं उनले तत्काल मातृप्रसवको पीडा पनि बिर्सिन् ।

सोेडेनीले सफाई कृया सकेपछि नवोदित आभालाई स्याहार सुसार गरी । खुशी र जिज्ञासा बोकेर कुन्ता आइपुगिन् । त्यसपछि तिलकप्रसाद र कुलप्रसाद । सबैको दृष्टिगोचर शिशुमै छापियो, एक तमासले । पुष्ट र सुन्दर शिशु ।

संयोगवस यथासमयमा प्रथम सन्ततीको रुपमा पुत्ररत्ननै अर्थात चलनचल्तीको वंशरक्षक लाभ भएकोमा कुलप्रसादको घरमा उल्लास छायो । पिता तिलकप्रसाद र माता कुन्ता पनि तेश्रो पुस्ताको उदय भएकोमा उनीहरुको छाति हर्षले प्रफुल्ल भयो । हर्षको उचाई एक कदम अझ माथि भएको थियो, “साउँभन्दा ब्याजको माया”।

सो अवसरमा कुलप्रसाद परिवार मात्र हैन, गाउँमै हर्ष छायो, शायद नयाँ पुस्ताको लागि अर्को पुरेत तयार भएकोमा । तर सन्तानको रुपमा अस्तित्वमा आएको त्यो नवोदित जीवको आत्मा भोली कुन डालीमा गएर बस्ने हो, कसलाई के थाहा ? यद्यपी खुशियालीका कोशेलीहरु गाउँलेबाट आइरहे, सुत्केरी खुवाउन घिउ चामल,फलफूल,चाकु , मसलादि ।

पारम्परिक संस्कारको निरन्तरता । शिशु जन्मेको नवौ दिन । ज्वाईँ नाता पर्ने ब्राह्मणद्वारा न्वारन कार्य । घरको शुद्ध शान्ति प्रकृया । तिलकप्रसाद स्वयं पूर्ण कर्मकाण्डी ब्राह्मण र उनैद्वारा दीक्षित कुलप्रसाद पनि कर्मकाण्डका ज्ञाता भए तापनि चलन अनुसार ज्वाँई, भान्जा नातालाई उपयोग, संस्कारगत अपरिहार्य आवश्यकता । त्यस न्वारन संस्कारबाट नवोदीत शिशुको नाम जु¥यो– भीमप्रसाद पौडेल ।
००००
जीवनको पहिलो सन्तती पुत्रलाभ भएपछि कुलप्रसाद दम्पत्तिलाई भयो, आफनो जीवन भन्दा प्यारो,ममताको खानी, उत्कट मोहपाश, सर्वस्व– भीमप्रसाद ।

हुन त अभिलाषाका सन्तानहरु आफू मार्फत संसारमा प्रकट भए तापनि आफना भावना र विचारसंग उनीहरु सहमत हुन पनि सक्छन् नहुन पनि । यद्यपी बालकरुपी माटोलाई भने राम्रो आकार र दिशा दिनु अभिभावकको नैसर्गिक कर्तव्य हो । पुस्तान्तरित पद्धति । त्यही कर्तव्य निर्वाहमा सदा समर्पित रहे, कुलप्रसाद परिवार ।

दोश्रो वेतमा छोरीको अङ्ग देखिएपछि अरुहरुको नाक अलिकति खुम्चिए तापनि मातृ माया,वात्सल्यता ओजस्वी र भेदरहित हुनेरहिछ । यसरी अभिभावकको अगाध मायालु स्नेही ओतबाट उनका सन्तान कोही बाहिर परेनन् । एबम प्रकारले अरु पुत्र र पुत्रीहरु पैदा भए क्रमशः । अनि सन्तानहरुको नाम जुराइयो– अरुणप्रसाद,बरुणप्रसाद र लक्ष्मीमाया, दिलमाया । पाँच सन्तानको बाबु आमा ।

तिलकप्रसाद दम्पत्ति र कुलप्रसाद दम्पत्ति लाई आफना सबै सन्तानका शिशु स्वरछन्दहरु कर्णप्रिय लाग्थ्यो,जति सुन्यो त्यति सुमधुर लाग्ने सांगीतिक झङकार । क्रमशः उनीहरुका हरेक आकांक्षी मागहरु परिपूर्ति गर्नमा सदा तन्मय रहे । खाना, नाना, ताना र रमौना आदि ।

सन्तानप्रतिको अनन्य माया, ममता,मोह, करुणा जन्मदिने बाबु र धारण गर्ने आमाको लागि हृदयमा अटल रहने प्राकृतिक चरित्र, मानव चेतका नैसर्गिक गुणहरु । आम अभिभावकहरुको भावना, आकांक्षा र कामना, आफना सन्ततीको आगत सौरभित होस, ओजस्वी होस, प्रदीप्त होस भन्ने अभिभावकीय कामना ।

०००
अमाप्य गतिशील समय । ठडिइरहने बृक्षको फेरिरहने पात । नापिरहने ऋतुमा स्मृतिको खात । वैवाहिक विधिसंग जोडिएर जीवनभर साथ दिएकी जीवन संगिनी र जीवन समर्पण गरिएका दोश्रो तेश्रो पुस्ताका सन्तानहरुप्रतिको माया, मोह, धन सम्पत्ति, अनि जिन्दगीले सामना गरिआएका अँध्यारी उज्याली रात–दिनका भोगाईहरुलाई शीर्ण शरीरको छातिमा च्यापेर, जीवनको पराकाष्ठामा पुगेका तिलकप्रसाद पौडेल बाजे भविष्यको सपना देख्ने वर्तमान सकिएकोले अन्तरिक्षमा छरिएका ताराहरु हेर्दै सांसारिक भोगबाट मुक्त भई शून्याकासमा विलीन भए, परिवारलाई शोकाकुल पार्दै । निउँ थियो, छेउ टुप्पो पत्ता नलागेको चार दिनको ज्वरो ।

उनको दोश्रो पुस्तामा तीन छोरीहरुपछि एक मात्र सुपुत्र थिए– कुलप्रसाद । उनका तेश्रो पुस्ताका सन्तानका बाललीला नै उनको जीवनको गर्विलो सुखानन्दानुभूति थियो । अन्ततः उभिरहेको सांसारिक रुखलाई त्यत्तिकै छोडेर फ्यात्त भुइँमा झरेर भुर्र शून्य उडे, सुकेका पात उनी ।

हुन त निर्जीव ढुङ्गा हैन धर्तिमा अटल रहने, रुख पनि जीव नै हो, कुनै दिन ढल्ने । यद्यपी उसले धर्तिमा ठिङ्ग उभिएर धेरै प्राणीहरु र धेरै पुस्ताहरुको लीला हेरिरहने दीर्घजीवी वनस्पति हो,साल ।

त्यसको केही बर्षपछि त्यस्तै पहेंलिएकी, शोकको श्वेत बस्त्रधारिणी एकल कुन्ता पौडेल । परिवारप्रतिको माया, मोह,शोक,हर्ष आदि सम्पूर्ण त्यागी, परिवारमा शोकाकुल छोडे इन्धन रुपी एकमुठी श्वासलाई फुस्स छोड्दै शून्याकासमा विलीन भईन् । जन्मसंगै साथमा लिएर आएको मानवको स्वभाविक मृत्युफूल टिपिन्, कुन्ताले पनि ।

कुलप्रसादको अघिल्लो पुस्ता यसरी समाप्तिँदा उनलाई पनि जीवनको गन्तव्यले हेरिरहेको थियो । हँसाइरहेका थिए,दुखाईरहेका थिए,जिन्दगीका उबडखाबड बाटाहरुले । त्यही अनुसरण गरिरहेका थिए,उनका नवागत सन्तानहरुले पनि । प्राणी जातिको यो स्वभाविक प्राकृतिक प्रकृयालाई कुलप्रसाद दम्पत्तिले बुझे पनि उनका सन्ततिले बुझ्न बाँकी थियो ।

००००
छोराहरुले संस्कृत कर्मकाण्डी विद्यातिर रुची नदेखाएकोले उनीहरुलाई अङ्ग्र्रेजीको बाटोतिर सोझ्याए, यथेष्ठ अर्थ लगाए, कुलप्रसादले । सन्ततिको्र दीप्तिमान भविष्यको कामना गर्दै । उन्नतिको अनिश्चय आकांक्षाहरु । छोरीहरुलाई भने सामान्य वर्णमालामा सीमित राखेर परम्पराको त्यान्द्रो पछ्याउदै बाह्र तेह्र बर्षमै कन्यादान गरी कर्म घर पठाइदिए, पितृ ऋण तारण भएको गर्व गर्दै ।

सन्ततिहरुको बाल्यदेखि, किशोर तथा युवा वयसम्मका चर्याहरुमा रमाउँदै, अगाध माया,ममताले चाट्दा चाट्दै समयको पदचापमा हिँडिरहेका कुलप्रसाद दम्पत्तिको जीवनयात्रा पनि क्षितिजको डाँडामाथि चढिरहेको थियो । छोराहरुको जीवनयात्रासंगै शैक्षिक खुट्किलो पनि उक्लिरहेको थियो, आशातीत ।

छोराहरुले वैवाहिक कर्म जेठाको पछि अरुले पुरातन संस्कारलाई पछ्याउन अस्वीकार गरेकाले उनीहरुको वैवाहिक कर्म उनीहरुकै स्वेच्छामा छोडिदिएका थिए, कुलप्रसाद पण्डितले । स्वभाविक । समय सापेक्ष ।

पानीले आफनो सतह आफै मिलाए जस्तै कुलप्रसादका छोराहरुको वैवाहिक कर्म पनि समयले जुराइदियो, आफै । एक एक बर्षको अन्तरालमा तीनै छोराको विवाह सम्पन्न भयो । अर्थात आ–आफनो जीवनको जोडा आफैले जोहो गरे । यो पनि समय सापेक्षित एउटा प्रकृया ।
००००
कुलप्रसाद दम्पत्तिको स्मृतिपटलमा सन्तानहरुको बालकृडाहरु घुमिरहन्थे, हातको मुठ्ठीबाट खेतबारीमा छरेको धान, गहुँका झुलेका लहलह बाला जस्तै । नकि वैमनश्यपूर्ण शहरको कोलाहली जङ्गल । उनका रातका सपनाहरु शहरको कोलाहल छोडेर शान्तिका लताकुञ्ज र पर्वतका शिखरहरुमा डोलाउँथे ।

उनको कृषिभूमि हराभरा थियो,सर्वसम्पन्न । उनीहरुको जीवन पनि हरियालीमय थियो,सर्व सम्पन्न । केहीकाल जीवनचक्रको डुङ्गा, सूर्यको सप्तरङ्गी किरण छाएको सागरमा राजहंश जस्तैे डुलेकोे थियो, गर्विलो र विश्वासिलो जलाशयको सयल र सुखानन्दी कक्षमा । उमेरको पदचाप उत्तराद्र्धको क्षितिजतिर ढल्कियो । ओर्लिरहेको जिन्दगी उपहासको धमिलो पानी भित्र डुङ्गा फस्यो, अन्ततः । खोलो तरेपछि लौरो विर्सने आधुनिकताले बुढाबुढीका लागि “खाई न पाई छालाको टोपी लाई” भइरहेको थियो, सन्तानहरुको कृयाकलापबाट ।

विवाह पश्चातको अभिलाषा र प्रकृतिको अनुग्रहबाट अस्तित्वमा आएका सन्तानप्रतिको मोह, एउटा धनुर्धारीको निशाना जस्तै अनन्त मार्गमा सोझिएको सोचिएको थियो । त्यसैले सन्तानहरुको आगतलाई उनीहरुकै उज्ज्वलमय भविष्यसंग जोडेर आफनो जीवनको उत्तराद्र्धमा “पाल्ने र फाल्ने” आशाको त्यान्द्रोतिर सोझ्याउदै सारा मन, तन, धन र जीवन समर्पित गरे, कुलप्रसाद दम्पत्तिले । परन्तु सन्तानका चिन्तनहरु भने अभिभावकको सुदूरगामी चिन्तनहरुको प्रतिकुल भए । विषादपूर्ण ।

०००
उनीहरुको अविभक्त परिवार मुस्किलले डेढबर्ष जति टिक्यो । त्यसपछि विवेकता र दायित्वबोधमा धमिरा लाग्न थालेपछि, किचन क्याबिनेट र अर्थ वृत्तमा खैलाबैला मच्चिन थाल्यो । तिक्तता र द्वन्द्वको हुण्डरी चल्न थाल्यो । अनि विभाजनको धाँजा फाट्न सुरु भयो, परिवाररुपी खेल मैदानमा ।

समयान्तरालमा सुशिक्षित कहलिएका तर नैतिकता र विवेकताको अभाव भएका बुहारीहरुको निकृष्टता छचल्कियो । परिवार रुपी दह धमिलिन थाल्यो । वातावरणमा सद्भावको खडेरीले सुकेको घाँस– झाडी जस्तो भयो । दिनप्रतिदिन चुलाका बुहारीहरुको बोली र सत्कारमा धार फेरिएर छुरा जस्तेै धारिलो बन्दै आयो । छोराहरु आ–आफना स्वास्नीका फरियाको फेर समातेर जन्मदाता, कर्मदाता बाबुआमाप्रति कटाक्षता तेस्र्याउन थाले । अनुशासन,सद्भाव र मेलमिलाप प्रणालीको सट्टा परस्पर इष्र्या,द्वेष,अहंता र फुटको लू लाग्न थाल्यो ,घरमा ।

“सोचेजस्तो हुँदो रहेनछ जीवन, भनेजस्तो हुँदो रहेनछ जीवन” । नौलो पिढीको प्रत्येक शब्द र वाक्यहरुमा आधुनिकताको नाम जोडियो “मोर्डर्नाइज”।

उसो त आधुनिकता अपभ्रंस नहुने हो भने सभ्य,सुसंकृत,समझदारिता, परिवारमा अरुको भावनाको कदर,सदभावपूर्ण आचरण,जेष्ठता र श्रेष्ठताको आदर र नैतिकतापूर्ण संस्कृति पनि त हो आधुनिकता । तर आधाआधी मान्छेहरुमा यो आदर्श निश्प्रयोजित हुँदोरहेछ । त्यही आधुनिकताको दुरुपयोग भयो, उनका जन्मजात र आयातित सन्तानहरुबाट । त्यसैले भने होलान् शायद पुर्खाले, “मूल हेरेर पानी खानु, कुल हेरेर विहे गर्नु” ।
००००

कुलप्रसाद पुत्रहरुको घरजाम भएको करीब एक डेढ बर्ष पश्चात तीनवटै सन्तानबाट लयबद्ध स्वरहरु गुञ्जन थाले, अंशवण्डा र अलग बास । मेल र जुटमा झेल र फूटले स्थान लियो । विभक्तको उद्देश्यमा स्वार्थ, अहंकार, असन्तुष्टि र कुसंस्कार भरियो । यसैको दावानल घरमा सल्किन थालेपछि अन्ततः उनले केही पैतृक र बढी मेहनतको रगत पसिनाबाट आर्जित अचल र चल सम्पत्ति मध्ये जिउनीको रुपमा केही खेत बारी र बुढीको गहना मात्र आफूसंग राखी अरु सम्पत्ति निष्ठाहीन छोरा बुहारीहरुको उम्लिएको अभीष्टलाई पूरा गरिदिन तीन भागमा बराबर विभाजित गरिदिए । बल्ल घरमा सल्केको कोलाहलको आगो निभ्यो । अन्तत्वगत्वा जहिले पनि खण्डिकृत हुनेनै हो,भन्ने ठम्याई बुढाको थियो । जतनले सम्हाली राखेको मुटुको उच्छ्वासलाई थामथुम पारे उनले ।

विद्यमान कानुनका केही दफामा स्वेच्छादिका जेसुकै दफा लेखिए तापनि बाबुको सम्पत्तिको अंशमा स्वतः छोराको हक लाग्ने र मृत्युपूर्व नै माग र भाग लाग्नसक्ने परम्परागत चलनलाई स्वीकार्दै कुलप्रसादले अंशभाग लगाएका थिए ।

बुढाबुढीको बासस्थानका बारेमा छलफल हुँदा कुत्सित जेठी बुहारीको चिप्लो मुख पहिले नै खुल्यो–“बुवा आमा यतै हामीसंगै बस्ने हो” । कुटुम्बकी छोरी भनेर आफैले बिहा गराइदिएकी जेठी बुहारीको मुखबाट यस्तो सकारात्मक शब्द निस्कनु अन्यथा थिएन । यद्यपी त्यसमा अर्कै स्वार्थको गुत्थी लुकेको रहेछ, ‘बुढाबुढीले छुट्याएको जग्गा पनि आफनै अधिनस्थमा परोस्’ । अनि बुढाबुढीले पालेका गाई भैंसीको दूध पनि आफनै मुखमा परोस् ।

बुढाबुढीको पशु स्याहारको दिनचर्या यथावत रह्यो । तथापी गोरस भने सबैको मुखमा । दोश्रो पुस्ताबाट जति अपहेलित भएपनि कुलप्रसाद दम्पत्तिलाई आफनो तेश्रो पुस्ताको बालचर्यामा अपार माया खनिएको थियो, मुटुभन्दा प्यारो । जुन आम बाजे बज्यैमा हुन्छ,“साउँको भन्दा व्याजको माया” । क्रमशः
०००

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ५० बजे

राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ गतेदेखि

काठमाडौं । राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ देखि १५

याे आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला हाे : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा फेला

काठमाडौं । काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका

मोडल अफ लुम्बिनी सिजन-२ सम्पन्न

बुटवल । बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यकासाथ मोडेल अफ