१० मंसिर २०८१, सोमबार | November 26, 2024

सामुद्रिक चक्रवात प्रभाव: औसतभन्दा बढी वर्षा



काठमाडौं । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका यी दुवै चक्रवात प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन् ।

दुई सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि प-यो । ताउ–तेबाट पश्चिमी र पूर्वी क्षेत्र बढी प्रभावित भएका छन् । मंगलबारदेखि पूर्व र मध्य क्षेत्रमा वर्षा जारी छ । योक्रम शनिबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली विरलै विकसित हुने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन् । ‘मेरो अध्ययनमा यति छोटो अवधिमा चक्रवात आएर मौसमलाई प्रभाव पार्ने कमै हुन्छ,’ उनले राजधानीसँग भने, ‘नेपालमा पनि यसको प्रभाव परिरहेकाले मनसुनी वर्षा विगतभन्दा बढी हुने अनुमान गर्न सकिन्छ ।’

पूर्वीमध्य अरब सागरमा विकसित ताउ–ते चक्रवातको असर नेपालमा गत २ जेठदेखि नै परेको हो । यसको प्रभावले हुरीबताससहितको मध्यम वर्षा र उच्च हिमाली भागमा हिमपात भएको थियो । ताउ–ते सकिएलगत्तै आएको यास चक्रवात प्रभावले पूर्वी नेपालका जिल्लामा वर्षा जारी छ । यो क्रमशः पश्चिम सर्नेक्रममा रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गरी बुधबार र बिहीबार १ देखि कर्णाली प्रदेशका जिल्लासम्म हल्कादेखि मध्यम वर्षा तथा हिममात हुने जनाएको छ ।

बुधबार राति प्रदेश १ को एक-दुई स्थान, बिहीबार राति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षा सम्भावना छ । ताउ ते र यास चक्रवातको विकसित मौसमी प्रणालीका कारण पानी पर्दा नेपालीले सुक्खा समय राहत महसुस गरेका छन् ।

कहिलेकाहीँ यस्ता चक्रवातले मनसुनमा प्रभाव पार्ने गर्छन् । जसकारण मनसुन ढिलो वा चाँडो सुरु हुने गर्छ । तर, अहिले नै मनसुन आगमनबारे निष्कर्ष निकाल्न भने नसकिने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् मानन्धर बताउँछिन् ।

‘अहिले मनसुनको गतिविधि विस्तारै विकास हुँदै गएको त छ तर यी दुई चक्रवात मात्रै हेरेर आगमन समय निश्चित गर्न सकिँदैन,’ उनले भनिन् । दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली प्रशान्त महासागरमा देखिने ‘अलनिनो’ र ‘लानिनो’ हो ।

समुद्री पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘अलनिनो’ भनिन्छ । यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ । ‘अलनिनो’को उल्टो ‘लानिनो’ हो । अर्थात्, समुद्री पानी औसतभन्दा चिसो भयो भने त्यसलाई ‘लानिनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढीपहिरोको जोखिम बढ्छ ।

वरिष्ठ मौसमविद् शाक्यका अनुसार एक साता यता प्रशान्त सागरको तापक्रम औसत देखिएको छ । यसो हुनु दक्षिण एसियाली देशका लागि राम्रो संकेत हो ।

दक्षिण एसियाका देशको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण ‘साउथ एसियन आउटलुक फोरम (सास्कोफ)’ले गर्छ । यसको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले मनसुनी अवस्थाबारे जानकारी दिन्छ । यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने निष्कर्षसमेत निकालिएको छ ।

जल तथा मौसम विज्ञान विभाग हावापानी विश्लेषण शाखा प्रमुखसमेत रहेकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार वर्षको मनसुनमा नेपालको अधिकांश भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ ।

यो सम्भावना स्थान विशेषअनुसार फरक छ । हिमाली भेग बढी र पहाडी भेगतिर अलि कम छ । तराईका क्षेत्रमा सरदर वर्षा हुने अनुमान छ । प्रदेश १ को दक्षिण भाग र प्रदेश २ को पूर्वी भागमा सरदरभन्दा कम वर्षा सम्भावना औंल्याइएको छ ।

सन् १९९१ देखि सन् २०२० सम्मको अवधि हेर्ने हो भने नेपालमा मनसुन सुरु हुने औसत अवधि १३ जुन र मनसुन बाहिरिने औसत समय २ अक्टोबर देखिन्छ । यसअघि, १० जुनमा मनसुन सुरु हुने र २३ सेप्टेम्बरको अवधि मनसुनी मानिँदै आएको छ । राजधानी दैनिकमा सविन शर्माले लेखेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : ४८ बजे

नेपालगन्ज भन्सारमा स्क्यानर मेसिन नहुँदा समस्या

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा

महिला आयोग १६ दिने अभियान मनाउन व्यस्त, आयोगको ढोका बाहिर पीडित अलपत्र

काठमाडौं । तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिइन्, कलङ्की

धितोपत्र बोर्डको अध्यक्षमा पेट्रोलियम ढुवानी व्यवसायमा बिवादीत व्यवसायी सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा इन्धन ढुवानी व्यवसायमा

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण