काठमाडौं । कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौं उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।
उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ ।
टोखा नगरपालिकाको सामाखुसीस्थित राधास्वामीको भवनमा एकीकृत आइसोलेसन सेन्टर भने गत शुक्रबारदेखि सञ्चालनमा आइसकेको छ । उपत्यकाका १८ वटा नगरपालिकालाई पायक पर्ने चार स्थानमा ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ससाना आइसोलेसन केन्द्र सञ्चालन गर्दा पर्याप्त जनशक्ति र स्वास्थ्य पूर्वाधार अभाव हुने, साथै बिरामी जोखिममा पर्ने भएकाले कम क्षमताका आइसोलेसन केन्द्र सञ्चालन नगर्न सरोकारवालालाई आग्रह गरेको थियो । मन्त्रालयको यो आग्रहसँगै फोरमले धेरै बिरामी अट्ने क्षमताका एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेको हो । देशभर रहेका एक लाखभन्दा बढी सक्रिय सङ्क्रमितको आधा सङ्ख्या उपत्यकामै छ ।
प्रमुख श्रेष्ठले भने, “ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्दा ससाना आइसोलेसनमा खर्च गरिरहनु नपर्ने, आइसोलेसनको भौतिक, स्वास्थ्य पूर्वाधार र जनशक्तिसमेत व्यवस्थापन गर्न सहज हुने भएकाले उपत्यका नगरपालिका फोरमले सामूहिक रूपमा आइसोलेसन सञ्चालनको लागत बेहोर्न लागेको हो ।”
आइसोलेसन सेन्टर निर्माण र सञ्चालनको कुल लागतमध्ये काठमाडौं महानगरपालिकाले ३४ प्रतिशत र ललितपुर महानगरपालिकाले १६ प्रतिशत बेहोर्नेछन् भने बाँकी ५० प्रतिशत लागत अन्य १६ नगरपालिकाले बेहोर्ने गरी लागत साझेदारी हुने भएको छ । लागत उपत्यका नगरपालिकाले बेहोर्ने भए पनि व्यवस्थापकीय कार्यमा भने नेपाल सरकार, नेपाली सेना र प्रहरीसँग सहकार्य गरिनेछ ।
उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, “उपत्यकामा थोरै शैया भएका आइसोलेसन त सबै नगरपालिकाले आ-आफ्नै नगरपालिकाभित्र निर्माण गरेका छन् । उपत्यकामा साझा आइसोलेसन नभएकाले एकीकृत आइसोलेसनको प्रक्रिया अगाडि बढाइएको हो ।”
आइसोलेसनमा एम्बुलेन्स, चिकित्सक, नर्सलगायतका जनशक्ति र स्वास्थ्य पूर्वाधार तयारी गर्ने योजना बनाइएको छ । आवश्यक स्वास्थ्य र भौतिक पूर्वाधारसहितको एकीकृत आइसोलेसनमा कोरोना सङ्क्रमण अन्त्य भइसकेपछि अन्य प्रयोजनका लागि पनि उपयोग गर्ने गरी एकीकृत आइसोलेसन निर्माण गर्न लागिएको हो । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन ।
प्रतिक्रिया