काठमाडौं । कोभिड-१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ ।
कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबर/नोभेम्बरमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको बताए । ‘पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी जोखिममा पर्ने अनुमान छ,’ उनले भने ।
कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम थिए । हालको दोस्रो लहरमा कुल संक्रमितमा बालबालिकाको हिस्सा करिब १० प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समेत कोभिडको तेस्रो लहर आउन सक्ने र यसले बालबालिकालगायत खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्ने बताए ।
दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि स्कुल खुल्ने भएकाले संक्रमणको समस्या निम्तिने उनको भनाइ छ । ‘राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रले संयम तोडेर दोस्रो लहर ल्याउन सघाए,’ डा. अधिकारीले भने, ‘तेस्रो लहर चाँडै फैलिन्छ, अत्यन्त जोखिमपूर्ण स्थिति आउन सक्छ ।’ बालबालिकाका लागि खोपसमेत नभएकाले स्वास्थ्यमा जनशक्तिलगायत पूर्वाधार व्यवस्था तत्काल गर्नुपर्नेमा उनले जोड दिए ।
कोरोना भाइरसले सहजै रूप परिवर्तन गरिरहेकाले तेस्रो लहरमा बालबालिकालाई तीव्र गतिमा समस्यामा पार्ने डा. बिच्छाको अनुमान छ । ‘हालसम्म बच्चाका लागि कुनै खोप छैन । अमेरिकामा फाइजरको खोप १२ देखि १५ वर्ष उमेरसम्मका लागि सुरु भयो तर त्यो तत्काल यहाँ आउने सम्भावना देखिँदैन । बच्चाको खोप छिट्टै नआउने भएकाले तस्रो लहरमा उनीहरू नै सर्वाधिक पीडित हुने आकलन हो ।’
भारतमा बायोटेकको कोभ्याक्सिन खोप २ देखि १८ वर्ष उमेर समूहमा ‘क्लिनिकल ट्रायल’ चलिरहेको छ । ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले २ देखि १८ वर्षसम्मको उमेर समूहमा कोभ्याक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायलको मन्जुरी दिइसकेको छ । बालबालिकाका लागि सुरक्षित र प्रभावकारी खोपको क्लिनिकल ट्रायलमा नेपाल सहभागी हुन सके बेलैमा खोप आउन सक्ने विज्ञहरू बताउँछन् । बालबालिकाको खोप परीक्षणको परिणाम आउनमा सेप्टेम्बर/अक्टोबरसम्म लाग्न सक्ने डा. बिच्छाले बताए । ‘बच्चामा संक्रमणको विस्तार रोक्न अबको समय अत्यधिक उपयोग गर्नुपर्छ,’ उनले भने ।
सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कोभिडको तस्रो लहरसँग जुध्ने तयारी सुरु गरिसकेका छन् । ‘तस्रो लहरको निसानामा बालबालिका पर्ने भएकाले त्यसैमा केन्द्रित भएर प्रदेश सरकारले तयारी थालेको छ,’ मुख्यमन्त्री आदित्यनाथका मिडिया सल्लाहकार मृत्युञ्जय कुमारले कान्तिपुरसँग भने, ‘उत्तर प्रदेशका सबै ७५ जिल्लामा बालबालिकाका लागि आईसीयू तयार गर्न निर्देशन दिइएको छ ।’
मृत्युञ्जयले प्रत्येक जिल्ला अस्पतालमा १० बेड तथा मेडिकल कलेजमा कम्तीमा २५ बेड पेडियाट्रिक (बालचिकित्सा) आईसीयू बनाउने काम सुरु भइसकेको बताए । विशेषज्ञहरूले कोभिडको पहिलो लहर कम भएकै बेला दोस्रो लहर आउन सक्ने चेतावनी दिए पनि सरकारले तयारी नगर्दा अहिले बढी क्षति पुगिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए । ‘सरकारले त्यस्तो गल्ती अब दोहोर्याउनु हुँदैन । समयमै तयारी गरेर तेस्रो लहरमा बढी क्षति हुन नदिऔं,’ उनले भने ।
डा. बिच्छाले बालबालिका संक्रमित हुने मुख्य सम्भावित स्थल घर, समुदाय र स्कुल रहेको बताए । ‘सम्भावित संक्रमण रोक्न कडा पाइला चाल्नुपर्छ,’ उनले भने । विज्ञहरूका अनुसार बालबालिकाको छेउछाउमा रहने सबै व्यक्तिलाई कोभिडविरुद्घको खोप सुनिश्चित गरे संक्रमणबाट जोगाउन सकिन्छ । बालबालिकालाई संक्रमण वयस्कबाटै सर्ने गरेको छ । ‘बच्चाका लागि खोप नभएकाले उनीहरूको वरिपरि रहने सबैलाई खोप दिएर सुरक्षित राख्न सकिन्छ,’ डा. बिच्छाले भने, ‘४० देखि ६० प्रतिशत नागरिकलाई कोभिडविरुद्घको खोप दिन सके बालबालिकाका लागि जोखिम धेरै कम हुन्छ ।’ तर अक्टोबरसम्ममा मुलुकका ६० प्रतिशत नागरिकलाई दुई मात्रा खोप दिइसक्ने सम्भावना देखिएको छैन ।
डा. बिच्छाले चार महिनाभित्रमा सातवटै प्रदेशमा हाई डिपेन्डेन्सी युनिट (एचडीयू), आईसीयूलगायत भएको न्यूनतम २ सय बेडको अस्पताल तयार गर्नुपर्नेमा जोड दिए । ‘बच्चामा इम्युनिटी पावर उसै कम हुन्छ । अहिलेदेखि नै तयारी गरेनौं भने तेस्रो लहर आए सम्हाल्न सक्दैनौं,’ उनले भने । उनले जिल्लास्तरमा समेत बालबालिकाको स्वास्थ्योपचार सहज हुन सक्ने पूर्वाधार गर्नुपर्ने बताए ।
विद्यालयले भौतिक उपस्थितिको सट्टा भर्चुअल (अनलाइन) उपस्थितिमा कक्षा सञ्चालनलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । ‘तेस्रो लहर डिसेम्बरसम्म जान सक्छ । त्यतिबेलासम्म स्कुल खोल्दा जोखिम हुन सक्छ,’ डा. बिच्छाले भने । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले पनि तेस्रो लहर आउनुअघि नै बहुसंख्यक नागरिकमा खोप लगाउने व्यवस्था गर्नुका साथै संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि पूर्वाधार व्यवस्थापन गर्न जरुरी रहेको बताए । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन ।
प्रतिक्रिया