८ मंसिर २०८१, शनिबार | November 24, 2024

दुर्लभ गैँडा भारत जाने चिन्ता



चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो ।

केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि अन्य केही गैँडा ल्याउन सकिएको छैन । त्यसपछिका वर्षहरुमा पनि बाढीले बगाएर गैँडा भारत पुर्याएको अनुमान छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हाल निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ झण्डै ७० प्रतिशत हाराहारी गैँडा रहेको अनुमान छ । आउँदो चैत ९ गतेबाट गैँडा गणना गरिँदै छ । गणनापश्चात् यकिन तथ्याङ्क आउने बरालले बताए । सानो ठाउँमा उच्च चाप रहेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा भारतीय सीमामा वाल्मीकि टाईगर रिजर्ब रहेको छ । पर्साको ठोरीदेखि त्रिवेणीसम्म भारतीय सीमामा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएका छन् ।

सीमा क्षेत्रमा चुरे पहाड, खोला, जङ्गल र मानवबस्तीसमेत रहेको छ । बरालले नारायणी नदी हुँदै र चुरे पहाडबाट समेत गैँडा भारत जाने सम्भावना रहेको बताए । उनका अनुसार नदीबाट बगेर गण्डक ब्यारेज हुँदै गएका गैँडा फर्किन असम्भव छ । गण्डक ब्यारेजपछि नदीको दुवैतर्फ ठूला तटबन्ध रहेकाले नदीबाट बाहिरिनसमेत कठिन हुने उनको भनाइ छ । पुनः फर्किएर आउन पनि बाँधका कारण सम्भावना छैन । उनले भने, “गण्डक ब्यारेज र त्यसपछिको नदी क्षेत्र वन्यजन्तुमैत्री नहुँदा समस्या भएको छ ।” गैँडा गणनापछि अवस्था हेरेर आन्तरिक स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ । “भारतमा गैँडा जाने चिन्ता छ”, उनले चिन्ता व्यक्त गरे ।

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल सीमा क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको भन्दै भारततर्फ जाने खतरा बढेको बताउँछन् । घाँसे मैदान र पानीका पोखरी निर्माण गरी आन्तरिक स्थानान्तरण गरेर पूर्वको खगेन्द्र मल्ली र पदमपुर क्षेत्रमा ल्याउनुपर्ने कँडेलको भनाइ छ । “निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थानका लागि राम्रो व्यवस्थापन गर्नुपर्छ”, कँडले भन्छन् ।

राप्ती नदीमा भएको उत्खनन र नदीको पानी खेतीमा सिँचाइका लागि ल्याउँदा निकुञ्जमा पानीको अभाव भएको छ । नदीको पानी घटेर निकुञ्जमा चिसोपन कम हुँदा घाँसे मैदान र पानीको पोखरी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । यसबाट निकुञ्जका गैँडा पश्चिमतर्फ केन्द्रित भएको छ । निकुञ्जको पूर्वी क्षेत्रबाट बाढीमा नदीमा बगेर केही तल पुगेर उत्रिन सक्ने भए पनि सीमा क्षेत्रबाट बगेका गैँडा भने भारत पुग्ने गरेका छन् ।

कँडेल यसै निकुञ्जमा प्रमुख संरक्षण अधिकृत हुँदा बगेर भारत पुगेका १० वटा गैँडा भारतसँग समन्वय गरी उद्धार गरेर ल्याइएको थियो । पछिल्लो समय भारतले समेत गैँडा फिर्ता दिन आनाकानी गर्दै आएको छ । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलगञ्ज कुँवर सीमा क्षेत्रको भेलौजी आसपासका क्षेत्रमा गैँडाको सङ्ख्या बढेकाले भारत जाने सम्भावना पनि उत्तिकै रहेको बताउँछन् । एक दिनमा गैँडा ४० किलोमिटरभन्दा बढी आवातजावत गर्ने भन्दै उनले पूर्वी क्षेत्रको हेटौँडा, रौतहट र सर्लाहीसम्म गैँडा पुग्ने गरेको बताए । “नेपाली क्षेत्रमा गएका गैँडा उचित बासस्थानको अभावमा फर्किएर आउँछन् तर भारत पुगेका भने आउन असम्भवजस्तै छ”, उनले भने ।

नेपालकै विभिन्न ठाउँमा गैँडा पुग्ने भए पनि राम्रो बासस्थान खोज्दै पुनः निकुञ्जमै फर्किने गरेका छन् । कुँवरले भारतसँग समन्वय गरेर त्यहाँबाट आउनका लागि जैविक मार्गको व्यवस्थापन गर्नुपर्ने बताउँछन् । एउटा देशबाट अर्को देशमा वन्यजन्तु आवतजावत गर्न रोक्न नमिल्ने भए पनि यहीँ उचित बासस्थानको व्यवस्थापन गर्न सके गैँडा भारत जानबाट रोकिने उनको तर्क छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सीमा क्षेत्रको चुरे क्षेत्रबाट जाने सम्भावना कम भए पनि अमुवा खोला र ठोरीतर्फबाट गैँडा भारत जान सक्ने बताउँछन्। बर्सातको समयमा बगेर जाने खतरा सबैभन्दा बढी रहेको उनको भनाइ छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । यसै वर्ष गणना गरिँदै छ ।

निकुञ्जमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका गोही भारत पुग्ने गरेका छन् । जसका कारण बर्सेनि नदीमा गोही छोडिएको भए पनि सङ्ख्या बढाउन सकिएको छैन । भारततर्फ गएका गोही ब्यारेजका कारण नेपाल फर्किन कठिन हुने गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ९ : १७ बजे

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान