काठमाडौं । प्रचण्ड-नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
अनेरास्ववियूका विद्यार्थीहरुले बिहीबार दिउँसो बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ र प्रदर्शन गरेका हुन् । त्यसक्रममा विद्यार्थीहरुले प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नारावाजी गरेका थिए ।
अनेरास्ववियूले बिहीबार बिहान देशभरका क्याम्पसमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका थिए ।
सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्यवृद्धि गर्न बाध्य भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । यो दुईवर्ष यताको सबैभन्दा उच्च मूल्यवृद्धि हो ।
आयल निगमले मूल्यवृद्धि गर्नाको कारण अन्तराष्ट्रिय बजारलाई देखाएपनि सरकारले पेट्रोलियम पदार्थमा असुल्ने शतप्रतिशत करका कारण नेपालमा उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य भएका हुन् ।
प्रतिक्रिया