काठमाडौ । बागमती प्रदेशभित्रका सबै जिल्लाका व्यावसायिक फर्म अबदेखि प्रदेश सरकारमार्फत दर्ता हुने भएको छ । एक कार्यक्रमबीच आज प्रदेश मातहत आउन बाँकी रहेका उपत्यकाका तीनवटा जिल्लाका वाणिज्य प्रशासनसम्बन्धी कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेल तथा वाणिज्य विभागका महानिर्देशकले भिडियो कन्फरेन्समार्फत सेवाको शुभारम्भ गरे । उनले व्यवसाय दर्ताको काम प्रदेश मातहत आएपछि सेवा अझ चुस्तदुरुस्त हुने बताए । पौडेलले प्रदेश सरकारको आयस्रोत वृद्धि हुने बताए । उनले सरकार जनताको घरदैलोबाटै सेवा दिने प्रयासमा जुटेको बताए ।
प्रदेश सरकार स्थापना भएपछि उपत्यका बाहेकका सबै जिल्लामा व्यवसाय सञ्चालन फारम प्रदेश सरकारअन्तर्गत दर्ता हुँदै आएको भए पनि उपत्यकाका तीन जिल्लाका व्यावसायिक फारम वाणिज्य विभागले दर्ता गर्ने व्यवस्था थियो ।
हस्तान्तरणपछि यो अधिकार विभागबाट घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरमा सरेको बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए ।
यसैबीच घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुखले पहिलो सेवाग्राही रोज श्रेष्ठको वाणिज्य फर्म दर्ता गरी आजबाटै सेवा शुभारम्भ गरेका छन् । बागमती प्रदेशका प्रमुख सचिव डा मानबहादुर विके, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा सिन्धु ढुङ्गाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया