२ मंसिर २०८१, आइतबार | November 18, 2024

कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको प्यारातालमा भारतीयको दाबी : विवाद सुल्झाउन आग्रह



महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ ।

तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हाल स्थानीय तहले तालमा माछा मार्ने ठेक्का दिँदै आएकामा भारतीय पक्षले तालमा आफ्नो पनि स्वामित्व दाबी गरेर बखेडा झिकिरहेको छ । विसं २०६१/६२ मा आएको नेपाल-भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमास्तम्भ गाडेको स्थानीयको भनाइ छ ।

झण्डै चार दशकदेखि प्यारातालको विषयमा नेपाल-भारतबीच देखिएको विवाद सुल्झिने कुनै सुरसार देखिएको छ । विसं २०२२ देखि जिल्ला विकास समितिले तालमा माछा पार्न ठेक्का दिँदै आइरहेको प्यारातालमा २०३५ सालयता भारतीय पक्षले पनि उक्त तालमा आफ्नो पनि दाबी गर्दै विवाद गरिरहेको छ ।

पुनर्वास नगरपालिका-९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले तीन वर्षयता पुनर्वास नगरपालिकाले प्यारातालमा माछा मार्ने ठेक्का दिँदै आएको बताए । “नगरपालिकाले ठेक्का दिए पनि भारतीय पक्षले त्यति सहजै माछा मार्न भने दिएको छैन”, वडाध्यक्ष जैशीले भने, “पूर्व-पश्चिम फैलिएको तालमा भारतले आधा आफ्नो दाबी छाडेको छैन ।”

तालसँगै छेउमा रहेको भारतीय दुधुवा नेसनल पार्कका वन्यजन्तुको पानीको प्यास मेटाउने एक मात्र ठाउँ प्याराताल हुने भएकाले सो प्रयोगजनका लागि भारतले तालमा आँखा गाडेको उनको भनाइ छ । “डेढ दशकअघि ताल पारी नेपाली भूमिमै भारतीय पक्षले सीमा स्तम्भ गाडेर हाम्रो भूमि कब्जा गरेको थियो”, जैसीले भने, “त्यो बेला स्थानीयले स्तम्भ भत्काएर सीमाको रक्षा गर्दै भूमि फिर्ता लिएका थिए ।” सो घटनापछि भारतले तालबारी आएर विवाद भने गर्न सकेको छैन । “अहिले ताल छेउको हामीले फिर्ता लिएको त्यही भूमिमा कच्ची सडक बनाउन वडाले रु अढाइ लाख रकम विनियोजन गरेर काम सुरु गरेको छ”, उनले भने, “प्याराताल संरक्षण नहुँदा जलकुम्भीले पुरिँदै गएको छ । यसबारेमा माथिल्लो स्तरबाट कुनै चासो देखाइएको छैन ।”

स्थानीयका अनुसार तालभन्दा करिब ५ सय मिटर दक्षिणसम्म नेपाली भूमि रहेपनि भारतीय पक्षले त्यहाँ आवागमन गर्न रोक लगाएको छ । करिब तीन किलोमिटर लम्बाइमा प्याराताल फैलिएको छ । माछाको ठेक्का पाएका स्थानीयले भने माछा मारेर ५० प्रतिशत भारतीय पक्षलाई दिनुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् ।

पर्यटकीय र जलाधार क्षेत्रको महत्वपूर्ण सम्भावना बोकेको यस ताल पछिल्लो समय स्थानीय निकायले संरक्षणमा ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोज स्थल बनाइएको छ । प्याराताल क्षेत्रको पारी (दशगजा) क्षेत्रमा पर्ने साविक सीमास्तम्भ नम्बर १९५ अझै तालभन्दा वर जङ्गलमै मर्मतसम्भारको पर्खाइमा छ भने १९६ सीमास्तम्भ लामो समयदेखि हराएको छ ।

पुनर्वास नगरपालिकामै पर्ने आनन्द बजारमा सीमास्तम्भ नम्बर २ सय छैन । भारतले सो क्षेत्रमा एउटा रुखलाई सीमास्तम्भ मानी त्यसैलाई दाबी गर्दै आइरहेको छ । सोही रुख नजिकै गत वर्ष कल्भर्ट बनाउने विषयमा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा पुनर्वासका गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए । सीमास्तम्भ १ सय ९६ देखि सीमास्तम्भ नम्बर २ सयसम्म नेपाल-भारतबीच लामो समयदेखि सीमा विवाद हुने गरेको छ ।

त्यसैगरी पुनर्वास नगरपालिकाका प्रमुख जीवनराम थापाले प्यारातालको विवाद सुल्झाउन केन्द्रमा पटकपटक ज्ञापनपत्रसहित आग्रह गर्दा पनि केही पहल नभएको बताए । उनले तालमा माछा मार्ने ठेक्का नगरपालिकाले दिएको भए पनि भारतीय हस्तक्षेप कायम रहेको बताए । “शहीद गोविन्दा गौतमले सीमा विवादकै कारण मृत्युवरण गर्दा पनि हामीले प्याराताल विवाद प्राथमिकतामा राखेर पहल गरेका थियौँ”, नगरप्रमुख थापाले भने । यस विषयमा टोली बनाएर काठमाडौंमा धाउँदा पनि कुनै ठोस पहल नभएको उनको गुनासो छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ७ : २९ बजे

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

आजबाट अल्फाबिटाको सेवा नेपालगन्जबाट

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आजबाट आफ्नो शाखा नेपालगन्जमा

राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को

ढुङ्गानाको योगदान राष्ट्र र जनताले सम्झिरहनेछन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

ओखलढुङ्गा समन्वय समितिको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध

काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका