२३ भदौ २०८१, आइतबार | September 8, 2024

प्युठानमा व्यावसायिक कागती खेती



झिमरुक । प्युठानको ऐरावती गाउँपालिका-६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाएका छन् ।

उनका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उनले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । विसं २०७२ मा ४ सय बिरुवाबाट कागती खेती सुरु गरेको उनी बताउँछन् । पछिल्ला वर्षमा कागतीका बोट वृद्धि गर्दै हाल साना-ठूला गरेर एक हजार कागतीका बिरुवा आफ्नो बारीमा रहेको उनले बताए ।

आफ्नै करिब ४० रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएको उनी बताउँछन् । “यत्तिकै बस्यो भने अनेकन रोग लागेर बिरामी भइन्छ, मेहेनत गर्यो भने परिश्रमको फल मिठो हुन्छ”, उनले भने, “परिश्रमी बन्न कागती खेती गर्दै आएको हूँ ।”

तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट ४ सय बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि उनले कागती खेती सुरु गरेका हुन् । त्यसपछि ऐरावती गाउँपालिका कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा ६ सय बिरुवा थपी एक हजार बिरुवा पुर्याएको उनले बताए । एक हजार बिरुवामध्ये हाल ६ सय बिरुवाले फल दिइरहेको र अन्य बिरुवा फल्ने अवस्थामा रहेको उनले बताए ।

लामो समयसम्म गाउँमै तरकारी खेती गरेका डोरबहादुरले तरकारी खेतीलाई समय दिन नसकेपछि कागती खेती सुरु गरेको बताए । अघिल्लो वर्षमा रु ३५ हजार बराबरको कागती बेच्न सफल भएको उनले बताए । कागती गाउँघरसँगै बजार क्षेत्र बिजुवारमा पुर्याएरसमेत बेच्ने गरेको उनले बताए ।

करिब रु तीन लाख लगानीमा कागती खेती गरिएको उनले बताउँछन् । यस वर्षमा भने कागती बोटबाट झरेर घाटा भएको डोरबहादुरका छोरा भरतले बताए । उनका अनुसार करिब चार क्वीन्टल कागतीका दाना झरेर खेर गएको छ । वैशाखदेखि यता दुई क्वीन्टल कागतीका दाना बेचेको उनले बताए ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका-९ लामाचौरका पूर्णप्रसाद कालाथोकीले पनि व्यावसायिक कागती खेती गर्दै आएका छन् । उनले माण्डवी गाउँपालिका-३ साजपानीमा चार वर्षदेखि कागती खेती गर्दै आएका हुन् । एकचालीस वर्षीय कालाथोकीले ३४ रोपनी जग्गामध्ये आधा क्षेत्रफलमा ३ सय ५० कागतीका बिरुवा लगाएका छन् ।

उनले लगाएकामध्ये केही कागतीले यस वर्षदेखि फलसमेत दिन सुरु गरेका छन् । कागती खेतीबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यसहित कागतीका बिरुवा एक हजार लगाउने लक्ष्य कालाथोकीको रहेको छ । त्यस्तै कागती लगाएर बचेको बाँकी जमिनमा हलेदो, अदुवा लगाएको र दालचिनी लगाउने उनको योजना छ ।

स्वदेशमै केही गर्नपर्छ भन्ने उद्देश्यले कागती खेती गरेको र यसले प्रतिफल पनि राम्रो दिने आशा गरेको उनले बताए । कागती खेती गर्नका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको थियो । वर्षमा एकपटक मलजल गरेर पुग्ने कागती खेती अन्य खेतीको तुलनामा सजिलो खेती हो ।

गाउँपालिकामार्फत एक घर एक धारा निर्माणको अभियानले सिंचाइका लागि एक धारा निर्माण गरिदिएपछि थप सहजता प्रदान गरेको छ । आगामी दिनमा कागती सिंचाइका लागि प्लाष्टिक पोखरी निर्माण गरी पानी सङ्कलन गर्ने योजना बनाएको समेत उनले बताए ।

यस स्थानमा जग्गा खरिद र कागती खेतीसँगै अन्य कामका लागि करिब रु ५० लाख खर्च भइसकेको कालाथोकीले बताए । सडकदेखि टाढा रहेकाले उनले कागती खेतीसम्म पुग्नका लागि आफ्नै लगानीमा करिब ५ सय मिटर सडकसमेत निर्माण गरेका छन् । आफूसँगै कागती खेतीको रेखदेख र स्याहारसुसारका लागि एक कर्मचारीसमेत राखेका छन् ।

त्यस्तै ऐरावती गाउँपालिका-२ हारबुङका कमलसिंह गुरुङले पनि कागती खेती गर्दै आएका छन् । गुरुङले करिब सात रोपनी जग्गामा साना ठूला गरेर ४ सय कागतीका बिरुवा लगाएका छन् । विसं २०६४ देखि ५० बोटबाट कागती खेती सुरु गरेको गुरुङले बताए । उनकाअनुसार हाल ५० बोट फल्ने गरेका छन् भने अन्य केही बोट अर्को वर्षदेखि फल्नेछन् । कबुलियती वनको अनुदान र आफैँ कलमे बनाएर कागतीका बिरुवा लगाएको उनले बताए ।

गत वर्ष चार क्विन्टल कागतीका दाना र ८० लिटर रस बेचे पनि यस वर्ष असिनाले दाना झार्दा आम्दानी घटेको उनले बताए । गुरुङले कागतीको नर्सरीसमेत राखेका छन् । उनको नर्सरीमा दुई हजार कागतीका बिरुवा छन् । कागतीसँगै गुरुङ परिवारले ५ सय बोट टिमुर, ६५ बोट मौसम, ४५ बोट कफीसमेत लगाएको छ ।

जिल्लामा परम्परागतरूपमा गरिँदै आएको कागती खेतीलाई पछिल्लो समय व्यावसायीकरण गरिएको छ । जिल्लाको ऐरावती गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका, नौबहिनी गाउँपालिकाका केही क्षेत्रका किसानले पछिल्लो समय व्यावसायिकरूपमा कागती खेती गर्दै आएका छन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : १७ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर