१ मंसिर २०८१, शनिबार | November 16, 2024

नाउर र झारलको गणना भएन



बागलुङ । कोभिड-१९ का कारण यो वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन । पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ । गत असोज/कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो ।

यसअघि विसं २०७२ मा गणना गर्दा दुई हजार २०२ नाउर भेटिएका थिए । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको कोटा निर्धारण गर्ने गर्छ । पछिल्लो गणनापछि वर्सेनि २० नाउरको शिकार कोटा तोकिएको छ ।

कार्यालयका रेञ्जर दीपेन्द्र पोखरेलका अनुसार आउँदो वर्ष नाउरको गणना गरिनेछ । “चैत/वैशाखसम्मै आरक्षको उच्च भेगमा हिउँ नपग्लने भएकाले त्यो याममा पनि गणना सम्भव हुँदैन, अब अर्को वर्ष हुन्छ”, उनले भने । ढोरपाटनमा प्रायः गरी असोज/कात्तिकतिरै नाउर र झारलको गणना गरिन्छ ।

विभागले हरेक पाँच/पाँच वर्षमा नाउर र झारलको गणना गर्नुपर्ने प्रावधान बनाएको छ । झारलको पनि अर्को वर्ष गणना हुनेछ । विसं २०७३ मा गरिएको गणनामा ३८८ झारल फेला परेका थिए । जुन सङ्ख्या २०६८ मा गरिएको गणनामा भन्दा १०३ ले बढी हो । उक्त गणनामा ४२ समूहमा झारल भेटिएका थिए ।

सबैभन्दा ठूलो ५१ वटा झारलको समूह देखिएको थियो । तीमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएकामा बाँकीको पहिचान हुन सकेको थिएन । उक्त गणनापछि विभागले वर्षमा ११ झारलको शिकार कोटा निर्धारण गरेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा रेञ्जर, भरिया र शिकारमा अनुभवी स्थानीयवासीसमेतको सहभागितामा नाउर र झारलको गणना गरिन्छ ।

नाउर र झारल बाख्रा प्रजातिमा पर्ने जनावर हुन् । बर्सेनि असोज/मङ्सिर र फागुन/वैशाख गरी दुई याममा ढोरपाटनमा शिकार खुला हुन्छ । कोभिड–१९ का कारण यो वर्षको पहिलो शिकार याम (असोज-मङ्सिर) मा जम्मा एक नाउर र एक झारलको शिकार भएको रेञ्जर पोखरेलले बताए । विभागले शिकारका लागि बोलपत्र खोले पनि विदेशी शिकार खेल्न अनिच्छुक देखिएका हुन् ।

अघिल्लो वर्षको दोस्रो शिकार याममा भने बन्दाबन्दीका कारण आरक्षमा शिकार नै खुला भएन । शिकार हुन नसक्दा राजस्व पनि गुम्यो । सात शिकार कम्पनीले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन् । शिकारका लागि आरक्षमा सात ब्लक तोकिएको छ । सुर्तिबाङ, फागुने ब्लक बागलुङमा, घुस्तुङ, दोगाडी, सेङ र सुनदह ब्लक रुकुम पूर्वमा पर्छ ।

यस्तै म्याग्दीमा बार्से ब्लक पर्छ । प्रत्येक ब्लकमा नाउर र झारल शिकारको वार्षिक कोटा तोकिन्छ । सुर्तिबाङ ब्लकमा भने नाउरको शिकार गर्न रोक लगाइएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष क्षेत्र १३२५ वर्ग किमिमा फैलिएको छ । वैधानिक शिकारका लागि ढोरपाटन विश्वमै प्रख्यात गन्तव्य मानिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि विदेशी शिकारी ढोरपाटन आउँछन् ।

एक जना शिकारीले रु ३० देखि ३५ लाखसम्म शिकारमा खर्चन्छन् । दुई वर्षअघि एउटा नाउर शिकारको रु १३ लाख ५१ हजार र झारल शिकारको रु १३ लाख ५० हजार तिर्न कम्पनी तयार भएका थिए । बर्सेनि शिकारको राजश्व घटबढ हुने गरेको छ । शिकारको माग बढ्दा कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाले शिकारको दर बढ्छ भने माग घट्दा राजस्व पनि कम उठ्छ ।

आउँदो फागुन-वैशाखमा यो वर्षको दोस्रो शिकार याम खुला हुनेछ । शिकारका लागि अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायतका देशबाट पेशेवर शिकारी ढोरपाटन आउँछन् । हेलिकप्टरमार्फत आरक्ष पुग्ने शिकारीले बढीमा २१ दिनसम्म आरक्षमा बिताउन पाउँछन् । शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार खेलाउँछन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ५६ बजे

कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको

विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी

नेपालगन्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी

राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

विवाह पञ्चमीको निम्तो दिन मधेसका मुख्यमन्त्री जम्बो टोलीसहित अयोध्या प्रस्थान

जनकपुरधाम । यही मङ्सिर २१ आयोजना हुने जानकी विवाह महोत्सवका

भक्तपुरमा ट्रयाक्टर दुर्घटना; एकको मृत्यु, पाँचजना घाइते

भक्तपुर । भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको