३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग



ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।

स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा समेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

यसैबीच सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो । “हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौँ”, उनले भने । यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै रहेको पनि उनले बताए ।

फुङलिङ नगरपालिका-११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि शुरु भएको आगो पाथीभरा क्षेत्रको जङ्गलमा फैलिएको थियो । आगो कसले लगायो भन्ने खुलेको छैन । रासस

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : ४० बजे

नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु

काठमाडौँ । २०८१ सालमा नेपालमा उत्पादित बिजुली भारतपछि बङ्गलादेशतर्फ निर्यात

सांसद राजेन्द्र बजगाईं विरुद्ध पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका

दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हन्छ : उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण

विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने प्रचण्डको विश्वास

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

नुवाकोटको माझिटारमा शीतभण्डार निर्माण

नुवाकोट । जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको