काठमाडौं । २८ मंसिर २०७७ : ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि ट्यांकरमा आगलागी । वारुण यन्त्र प्रयोग गरी समयमै आगलागी नियन्त्रण ।
५ पुस २०७४ : वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास भण्डारण ट्यांकीबाट ग्यास लिक भई आगलागी । अग्निनियन्त्रक टोलीका दुईसहित तीन जनाको मृत्यु। मानवीयबाहेक १५ करोड रुपैयाँबराबरको क्षति ।
२३ कात्तिक २०७४ : त्रिपुरेश्वरको जयन्ती आयल स्टोर परिसरभित्र आलम मेकानिकल वर्कसपमा आगलागी । एक जनाको ज्यान जानुका साथै दुई जना घाइते ।
९ भदौ २०७३ : बल्खुको दक्षिणकाली पेट्रोल पम्पमा विद्युत् सर्ट भई आगलागी । तीन कामदार, प्रहरी र गाडी चालक घाइते ।
असार २०७४ : लोकन्थलीको सिद्धार्थ पेट्रोल पम्पमा आगलागी । चार जना घाइते । ठूलो परिमाणमा धनसम्पत्तिको नोक्सानी ।
माघ २०६४ : बल्खुको पेट्रोल पम्पनजिकै सडकमा १८ टन ग्यास बोकेको बुलेट दुर्घटना । पम्पबाट डेढ सय मिटर दूरीमा ग्यास डिपो । दर्जनौं चिम्नी । ग्यास लिक भएको भए आधा काठमाडौं सकिने जुद्ध वारुणयन्त्र काठमाडौंका तत्कालीन प्रमुख हरि बुढाथोकीको भनाइ ।
यी घटनाले पेट्रोलियम पदार्थको बिक्री-वितरण, ओसारपसार तथा भण्डारणको अवस्था देखाउँछन्। पेट्रोलियम र ग्यास ढुवानी गर्दै गर्दा बाटो र पम्पमा तेल खन्याउने क्रममा भएका दुर्घटना दर्जनौं छन् । अग्निनियन्त्रक टोली समयमै आएका कारण ठूलो क्षति हुनबाट जोगिएको देखिन्छ । तर, दुर्घटना रोकिएको छैन । घना बस्ती र व्यस्त सडकमै पेट्रोल पम्प सञ्चालन गर्दा सहरवासी नै जोखिममा छन् ।
ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि केही समयअघि ट्यांकरमा भएको आगलागीबाट ठूलो जनधनको क्षति हुन सक्थ्यो । ‘थोरै ढिलो जानकारी आएको भए कल्पना गर्नै नसक्ने गरी क्षति हुन सक्थ्यो’, जुद्ध वारुण यन्त्रका प्रमुख लीलाराज गाछाले भने, ‘तत्कालै रेस्पोन्स गरी टिम परिचालन गरेकाले ठूलो दुर्घटनाबाट स्थानीय बासिन्दालाई जोगायौं ।’
गाछाका अनुसार ट्यांकरमा करिब १२ हजार लिटर पेट्रोल थियो । संयोग नै मान्नुपर्छ, ट्यांकर अगाडिको भागमा आगो फैलिँदै गर्दा अग्निनियन्त्रकले निभाएका थिए । ‘आगोको लप्काले ट्यांकरको ट्यांकीलाई टिपेको भए के हुन्थ्यो ? सहजै अनुमान गर्न सकिन्छ’, उनले भने, ‘ट्यांकीमा आगो लागेको भए पम्पमा पनि आगलागी हुन्थ्यो र पम्पसँगै स्थानीय घना बस्तीलाई सजिलै आगोको लप्काले भेट्न सक्थ्यो । ठूलो भवितव्य दुर्घटना टर्यो ।’
उनले उपत्यकामा घना बस्ती र सडकमै सञ्चालन भइरहेका यस्ता ‘विनाशकारी बमरूपी पम्प’लाई अन्यत्र सार्नुपर्ने सुझाव दिए । उनका अनुसार राजधानीका ९० प्रतिशत पम्पले अति प्रज्वलनशील पेट्रोलियम पदार्थको मापदण्डविपरीत र असुरक्षित तवरबाट व्यवसाय गर्दै आएका छन् ।
गाछाले भनेजस्तै काठमाडौं उपत्यकामा सञ्चालित अधिकांश पम्पसँग फराकिलो क्षेत्रफल छैन । चारैतर्फ अग्ला पर्खाल लगाइएको छैन । घना बस्तीको घरसँगै टाँसिएका छन् । सुरक्षाको अत्याधुनिक उपकरण छैन । व्यस्त सडकमै टाँसेर सञ्चालनमा छन् । यस्ता पम्पका कारण वरिपरिका बस्तीका साथै बटुवा र सार्वजनिक सवारी साधनसमेत जोखिममा छन् ।
यस्ता पम्पको ‘फ्युल डिस्पेन्सर’ बाटोमै पर्छन् । पम्पका कर्मचारीले सडकमै उभिएर इन्धन नोजलबाट सवारी साधनमा खन्याउँछन् । पम्पसँगै वर्कसप, चिया तथा चमेनागृह छन् । बिजुलीको हाई भोल्टेजको तार र ट्रान्सफर्मर असरल्लै छन् । पम्प छेउबाटै सयौं सवारी साधन गुड्छन् । यस्तो अवस्थामा सानो त्रुटिले नै कुनै पनि बेला ठूलो विनाशकारी खतरा निम्तिन सक्छ ।
सुरक्षाप्रति छैन चासो
यो विषयमा सरोकारवाला सबै जानकार रहे पनि जिम्मेवारीबाट पन्छिने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, काठमाडौं महानगरपालिका, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन लगायत यसप्रति गम्भीर देखिएका छैनन् ।
प्रधानमन्त्री कार्यालयले सवारी आवागमनलाई बाधा पर्ने गरी सञ्चालनमा रहेका पम्पको बिक्रीस्थल अन्यत्र स्थानान्तरण गर्न ०७६ पुस १७ गते निगमलाई पत्राचार गरेको थियो । महानगरपालिकाले जोखिमयुक्त पम्पका विषयमा अध्ययन गर्यो । तर, व्यवस्थापनको सवालमा चासो देखाएन । महानगरपालिकाको सहरी सुशासन विभाग प्रमुख हरिबहादुर कुँवरले सडक र घना बस्तीबीच रहेका १८ वटा पम्पको अध्ययन गरी प्रतिवेदन मन्त्रालय र निगमलाई बुझाइएको बताए । उक्त समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।
प्रतिक्रिया