काठमाडौं । सरकारले आज विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्दैछ ।
नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने नापी विभागले जनाएको छ ।
दुई वर्षअघिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक हुँन लागेको हो ।
चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आउँदा सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने घोषणा भएको थियो ।
दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।
आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको नापी विभागले जनाएको छ । भारतले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो ।
प्रतिक्रिया