काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित गरिएको छ । बैठक बस्छ या बस्दैन भन्ने अन्यौलका बीच दिउँसो १ बजे निर्धारित समय र स्थानमा सुरु भएको बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको हो ।
डेढघण्टासम्म चलेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैठकमा आफ्नो छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराएका छन् । गत कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई काउन्टर गर्ने गरी ओलीले नयाँ प्रस्ताव ल्याउने भएका हुन् । प्रचण्डको प्रस्तावप्रति ओलीले तिब्र विरोध जनाएका छन् ।
अब मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले प्रस्ताव पेशगरेपछि दुवै अध्यक्षका अलगअलग प्रस्ताव, दुई अध्यक्षबीच भएका पत्राचार र र गत स्थायी कमिटी बैठकपछिको अन्तरपार्टी निर्देशिकामा समेत छलफल हुनेभएको छ ।
१३ गते ओलीले प्रस्ताव ल्याएसँगै सबै प्रस्ताव र पत्रहरुमाथि स्थायी कमिटीमा समेत छलफल हुने भएको छ त्यसका लागि आगामी मंसिर १८ गते स्थायी कमिटी बैठकको मिति तय गरिएको छ ।
अध्यक्ष ओलीको प्रस्तावलाई समेत ध्यानमा राखेर बैठक १० दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा महासचिव विष्णु पौडेलले सचिवालयबाट सबै जनाले सामुहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।
अहिलेको सचिवालयको अहिलेको टीमबाट पार्टी अगाडि बढ्ने सम्भावना नरहेको दाबी गर्दै महासचिव पौडेलले ९ जना सदस्यले नै राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेका छन् ।
मंसिर १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई २५ गते सारिएको छ । यसअघि गत कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको थियो । कोरोना भाइरसको संक्रमण देखाउँदै केन्द्रीय कमिटी बैठक स्थगित हुँदै आएको थियो ।
प्रतिक्रिया