१० मंसिर २०८१, सोमबार | November 25, 2024

लुम्बिनी प्रदेशमा धान उत्पादन : कतै वृद्धि, कतै ह्रास



नारायणपुर । घोराही उपमहानगरपालिका-१० नारायणपुरका किसान रामसिंह चौधरी यस वर्ष धेरै खुसी देखिन्छन् । धान स्याहार्दै गरेका चौधरी विगतका वर्षभन्दा धेरै धान फलेकामा खुसी देखिएका हुन् ।

आफ्नै १५ कट्ठामा लगाएको धान यसपालि कट्ठामा चार मुरीको दरले फलेको छ । “पोहर, परार कट्ठामा तीन मुरी मात्रै फल्ने गर्थ्यो यो वर्ष धेरै उब्जनी भयो खुसी लागेको छ”, चौधरीले भने ।

त्यस्तै, घोराही-५ का किसान देवीराम आचार्य पनि विगतका वर्षभन्दा यो वर्ष धान धेरै उत्पादन भएको खुसी छन् । उनले १० कट्ठामा लगाएको धान पनि चार मुरीकै दरले फलेको छ ।

सिँचाइकै समस्याले दिक्क भएका आचार्यलाई यसपालि मौसमले खुबै साथ दियो । “जसोतसो रासायनिक मलको जोहो पनि अभाव हुनुभन्दा पहिल्यै गरिसकेको, मौषम र मिहिनेत पनि यस वर्ष कोरोनाले गर्दा दिन पाइयो र उत्पादन बढ्यो”, आचार्यले भने । गाउँका कसैकसैले युएस ३१२ जातको हाइब्रिड धान कट्ठामा पाँच मुरीसम्म फलाएको उनले सुनाए ।

कोरोनाले व्यापार-व्यवसाय चौपट बनायो, अर्थतन्त्र तहस-नहस भयो, तर कृषि अर्थतन्त्र भने आत्मनिर्भरको अवस्थामा पुग्ने धान उत्पादनले देखाएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । “दाङ कृषिमा पहिले पनि आत्मनिर्भर नै थियो, तर यसपालि बिक्री गर्ने हैसियतमा पुगेको हाम्रो अनुमान छ”, कृषि ज्ञान केन्द्र घोराहीका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले भने ।

अहिले उत्पादन बढेको भए पनि जिल्लाको उत्पादनलाई अझै केही वृद्धि गर्न सकिने अवस्था रहेको उनले बताए । समयमा पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्थापन र वर्षात् नभएको अवस्थामा पनि नियमित सिचाइँको व्यवस्थापन गर्न सके यहाँ धानबालीको प्रशस्तै सम्भावना रहेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार अघिल्लो वर्ष दाङमा ३७ हजार ७ सय १० हेक्टरमा धानखेती भएको थियो । त्यसमा एक लाख ६९ हजार ६ सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष दाङमा धानबाली लगाउने जग्गाको क्षेत्रफल बढेसँगै उत्पादन पनि अपेक्षित रुपमा वृद्धि भएको अनुमान ज्ञान केन्द्रले गरेको छ ।

यो वर्ष उपयुक्त समयमा पानी पर्नु र कृषि जनशक्तिको अभाव नहुनुले पनि धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । कार्यालयले तयार गरेको तथ्याङ्कमा यो वर्ष करिब ७ सय ८७ हेक्टर थप क्षेत्रमा धानबाली लगाइएको थियो । “यो वर्ष धेरै एरिया बढेको छ, बाँझो जग्गा प्रयोगमा आएको थियो, पक्कै उत्पादन बढेको छ”, कृषि अर्थविज्ञ श्रेष्ठले भने । अहिलेसम्म पालिकाले दिएको तथ्याङ्कलाई हेर्दा अनुमानित एक लाख ८० हजार मेट्रिक टन धान उत्पादन हुने देखिएको श्रेष्ठको भनाइ छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा यस वर्ष प्रमुख अन्नबाली धानको उत्पादनमा ह्रास आएको छ । बाढी, मलबीउको अभाव, लगातारको वर्षालगायत कारणले यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आएको कृषकले बताएका छन् । धान रोप्ने बेला पर्याप्त पानी परेकाले खुसी भएका कृषक अहिले भने उत्पादन घटेपछि चिन्तित भएका छन् ।

यस वर्ष जिल्लामा करिब ३० प्रतिशतले धान उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्राले जानकारी दिए । विशेषगरी सरावल र पाल्हीनन्दन गाउँपालिकामा धान उत्पादनमा भारी गिरावट आएको उनले बताए ।

पश्चिम नवलपरासीमा २१ हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लाभर ९० हजार ३ सय ५४ मेट्रिक टन धान उत्पादन भएको बताउँदै केन्द्र प्रमुख मिश्राले भने, “बाढीले डुबाउँदा धेरै धान सखाप भयो, बन्दाबन्दीका कारण कृषकले समयमा मल बीउ पाउन सकेनन् र धानमा दाना लाग्ने बेलामा वर्षा हुँदा परागशेचनमा अवरोध हुन गई धान उत्पादनमा ठूलो गिरावट आएको छ ।” जिल्लामा सुरुमा करिब १५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिए पनि ३० प्रतिशतसम्म ह्रास आउने देखिएको उनको भनाइ छ ।

रामग्राम नगरपालिका, सरावल, प्रतापपुर गाउँपालिकालगायत जिल्लाभर नै उल्लेख्य मात्रामा धान उत्पादन हुने गरेको छ । सरावल-६ र ७ मा करीब एक हजार ५ सय बिघा धानखेती बाढीले डुबाएको थियो भने पाल्हीनन्दन-१ र ६ मा गरी ६ सय बिघाभन्दा बढी धानखेती डुबाएको थियो । बाढीले डुबाएको धान पूरै नष्ट भएको पाल्हीनन्दन-१ का कृषक धनपाल चौधरीले बताए । “मैले पाँच बिघामा धान लगाएको थिएँ, गाउँभरि ४ सय बिघामा धान लगाइएको तर तीन पटकसम्म आएको बाढीले सबै सखाप पा¥यो”, उनले भने ।

बाढीले क्षति नपुर्‍याएका स्थानमा पनि लगातारको झरीका कारण ५० प्रतिशतसम्म कमी आएको कृषकले बताएका छन् । धान पसाउने बेलामा खैरा रोगले समेत कृषकलाई सताएको थियो । दुई बिघामा धानखेती गरेका सरावल-३ गोइनीका हरिलाल यादवले यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले धान उत्पादन घटेको बताए । धानको बाला लाग्ने समयमा पटकपटक आएको बर्सातको पानीका कारण उत्पादन घटेको उनको भनाइ छ ।

धान उत्पादनमा ठूलो गिरावट आएपछि कृषक चिन्तामा परेको कृषक हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्याय बताउँछन् । “मैले पनि एक बिघा आठ कट्ठामा धान लगाएको थिएँ, तर पानीले ढल्दा धान राम्रोसँग पाक्न सकेन, उत्पादनमा ३० प्रतिशतले ह्रास आएको छ”, उनले भने ।

जिल्लाका अधिकांश कृषकको प्रमुख आयस्रोत धानबाली नै हो । बाढीले धानबाली नष्ट गर्दा पनि स्थानीय तहबाट राहत पाउन नसकेको कृषकको गुनासो छ । बाढी र डुबानको समस्या वर्षौँदेखिको भए पनि कृषकलाई राहत दिने विषयमा स्थानीय तहसँग पूर्वतयारी नभएका कारण राहत दिन नसकिएको जनाएका छन् ।

सरावल गाउँपालिकाले धानमा राहत दिन नसके पनि प्रभावित क्षेत्रका कृषकलाई गहुँमा ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । गहुँको उत्पादन बढाएर कृषकलाई राहत पु¥याउने उद्देश्यले बीउबिजन तालीमलगायत प्रबन्ध गर्न लागिएको बताउँदै उनले भने, “यस पटक धानमा धेरै क्षति पुगेको छ, ६ र ७ नम्बर वडामा बाढीले डुबाएका कारण धान नै हुन सकेन, अन्य वडामा पनि धान काट्ने बेलामा आएका हावाहुरी र पानीले क्षति पुर्‍यायो ।”

पाल्हीनन्दन गाउँपालिकाले पनि गहुँमा अनुदान दिने भएको छ । धानमा क्षति व्यहोरेका कृषकलाई गहुँबाट राहत पुर्‍याउने गरी गाउँपालिकाले पहल थालेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले बताए ।

गहुँबालीको उत्पादन बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन लागिएको उनले उल्लेख गरे । पर्याप्त पानी परेका कारण यस वर्ष कृषकले समयमै धान रोपेका थिए । अहिले अधिकांश कृषकले धान भित्र्याइसकेका छन् । जिल्लामा रामधान, सावा मन्सुली, राधा ४ लगायत जातका धान लगाउने गरिन्छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : ५२ बजे

ढोरपाटनमा चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

बागलुङ । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न

पश्चिम नवलपरासीमा एक करोड बढी मूल्यको सालका काठ सड्दै

नवलपरासी । पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा