काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कुलमान घिसिङको कार्यकाल सकिएको छ ।
घिसिङको चारवर्षे कार्यकाल आइतबारबाट औपचारिक रुपमा सकिएको हो ।
चार वर्ष अघि भदौ २९ गते कार्यकारी निर्देशकको नियुक्ति पाएका घिसिङले विद्युत प्राधिकरणलाई आम जनताको विश्वासयोग्य संस्था बनाउन सफल भएका छन् ।
कुशल नेतृत्व र व्यवस्थापनसहित देशकै पीडा बनेको लोडसेडिङ घटाउन सफल कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई निरन्तर नाफामा समेत लैजान सफल भएका छन् ।
घिसिङको कार्यकाल समाप्त भएपनि उनलाई नै पुनः कार्यकारी निर्देशक बनाउनुपर्छ भन्ने माग उठिरहेको छ ।
अब बस्ने मन्त्रिपरिषद्ले समेत घिसिङलाई नै नियुक्ति गर्ने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय स्रोतले बताएको छ ।
यसका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा छलफल गरिने प्रस्ताव तयार पारिसकेको बताइएको छ ।
घिसिङलाई पुनः कार्यकारी निर्देशक बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली दुवै सकारात्मक भएपछि उनी दोहोरिने निश्चित बनेको हो ।
प्रतिक्रिया