बुटवल । निजगढअघि नेपालको दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा लिइएको रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ । ९२ प्रतिशत काम सम्पन्न भएसँगै विमानस्थलले आकर्षक दृश्य पनि प्रदान गर्न थालेको छ ।
हुन त सरकारले २०२० को जनवरीबाट उडान सुरु गर्ने घोषणा गरको भएपनि विदेशी बजारबाट आउनु पर्ने उपकरण र दक्ष जनशक्ति आइनपुग्दा सरकारको लक्ष्य भने असफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीको सपथसँगै मन्त्री योगेश भट्टराईले जनवरी १ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने घोषणा गरेका थिए ।
अघिल्लो वर्षदेखि उपकरण नआएका कारण काम नसकिएको भनिएका कामहरु अहिले पनि त्यहि अवस्थामा छन् । २०७६ को बैशाखमा नै धावनमार्गमा बत्ती जडान गर्ने परियोजनाको लक्ष्य रहेको थियो । तर अन्तर्राष्ट्रिय बजारबाट आउनुपर्ने बिद्युतीय उपकरणहरु नआइपुगेका कारण समयमा काम सम्पन्न हुन नसकेको विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारी बताउँछन् ।
धावनमार्गका लागि लाइट युरोपियन देशबाट आउन बाँकी छ भने टर्मिनल भवन भित्रको ‘कनभेयर बेल्ट’ (यात्रुका व्याग घुमेर आउने ठाउँ) को उपकरण चीन तिब्बतको ल्हासामा रोकिएको आयोजना प्रमुख अधिकारीले जनाए । नेपालका लागि हिँडेका उपकरणसहितका कन्टेनर असार १० गतेदेखि बाटोमै रोकिएको परियोजनाले जनाएको छ ।
भौतिक निर्माणको काम सकिएपनि अझै टर्मिनल भवनभित्र लाग्ने विद्युतीय स्वचालित उपकरण, धावनमार्गको विद्युतीय उपकरण जस्ता प्राविधिक कामहरु भने बाँकी नै रहेको आयोजना प्रमुख अधिकारीले बताए । ‘हामी निर्माणको अन्तिमको चरणको पुगेका छौं’ अधिकारीले भने, ‘अब हामी फिनिसिङ र उपकरण जडानको काममा मात्र बाँकी छ ।’
सुस्त गतिमा निरन्तर काम
अधिकारीका अनुसार विमानस्थलमा लकडाउनमा पनि निर्माणको काम रोकिएको छैन । ३० चिनियाँ सहित ३ सय कामदारबाट कामलाई निरन्तरता दिइएको छ ।
यद्यपी, परियाजनाको काम सम्पन्न गर्न आवश्यक २५ जना दक्ष जनशक्ति भने कोभिड–१९ कै कारण आउन सकेका छैनन् । चीनबाट आउनु पर्ने उनीहरुको भिसा समयमै लागेमा उनीहरु आएपछि प्रबिधिक काम अगाडि बढ्ने अधिकारीले बताए ।
सरकारले कोरोनाको जोखिमका कारण विदेशबाट आउने सबै उडान स्थगित गर्नुका साथै भिसा जारी गर्न समेत रोक लगाएको छ ।
परियोजनाका अनुसार महत्वपूर्ण मानिने उपकरण जडानका लागि धेरैजसो चीन र केहि प्राबिधिकहरु सम्बन्धित उपकरण निर्माण कम्पनीले पठाउनुपर्ने हुन्छ । तर, विश्वभरी फैलिएको कोरोना भाइरसको महाहामारीका कारण ती दक्ष कामदार नेपाल आइपुग्ने दिन भने अनिश्चित छ । सरकारले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने बताए पनि कोरोनाको जोखिम थपिएपछि सरकारले १६ गते सम्मका लागि उडान स्थगित गरेको छ ।
बारम्बार म्याद थप
विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो । सन २०१४ बाट काम सुरु गरिएको विमानस्थल निर्माण गर्ने कार्य २०२० आउनै लाग्दा सम्म ३ पटक ठेकेदार कम्पनीले म्याद थप गरिसकेको छ ।
विमानस्थल निर्माण गर्ने ठेक्का पाएको चिनिँया कम्पनी ‘नर्थवेस्ट सिभिल एभिएसन’ले पहिलो ३ वर्ष नेकपाका नेता झलनाथ खनालको छोरा सहितको नाममा रहेको नर्थवेष्ट नेपाल इन्फ्रा प्राईभेट कम्पनीलाई अवैधानिक ठेक्का दिएको थियो । मूल ठेकेदार र सहायक ठेकेदार कम्पनी बीचको विवादमै लगभग समय गुजारेका कारण सम्झौता विपरित पहिलो ३ वर्षमा ३० प्रतिशत मात्र काम भएको थियो ।
आयोजनामा नदेखिने गरी मुल ठेकेदार कम्पनीले झण्डै आधा दर्जन ठेकेदारहरुलाई ठेक्का दिने र उनीहरुले काम नगरेको भन्दै विवाद गर्ने बहानामा ३ वर्ष समय गुजारेको चिनियाँ कम्पनीको डिसेम्बर १७ मा १ वर्षको लागि म्याद थप भएको थियो ।
यद्यपी ठेकेदार कम्पनीले भुकम्प, निर्माण सामाग्रीको अभाव र नाकाबन्दी जस्तो बहानामा म्याद थप गर्न आयोजनामा निवेदन दिएको थियो । सन १८ डिसेम्बरबाट जुन १७, २०१९ सम्म ६ महिना म्याद पाएको ठेकेदार कम्पनीले दोस्रो अवधीमा भने राम्रै काम गरेको देखिन्छ ।
पहिलो पटकमा पनि ठेकेदार कम्पनीले काम नसकेपछि दोस्रो पटक जुन १५ मा पुनः ६ महिनाका लागि म्याद थप गरिएको थियो । तेस्रो पटक जुन २८, २०१९ मा म्याद थप भई डिसेम्बर ३०, २०१९ सम्मको म्याद ठेकेदार कम्पनीले पाएको थियो ।
ठेकेदार कम्पनीले पाएको तेस्रो पटकको म्यादमा भौतिक निर्माण तर्फको काम लगभग सकेपनि प्राविधिक तर्फको काम भने निकै कम भएको छ । उपकरण तथा प्रविधीको ठेक्का पाएको थाई कम्पनी एरो थाई कम्पनीले जनवरी १९ सम्ममा प्राविधिक उपकरणको काम सक्ने गरी ५० करोडको लागतमा मार्च १९, २०१९ मा सम्झौता भएको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सम्पन्न गर्नका लागि परियोजनालाई २ भागमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो । निर्माणाधीन विमानस्थल दुई वटा भागमा ठेक्का सम्झौता गरी निर्माण कार्य चलिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलकबोल (आइसीबी) जिरो १ र जिरो २ गरी दुईवटा ठेकेदार कम्पनीले विमानस्थलको काम गरिरहेकाछन् ।
उपकरण आउने कहिले ?
भैरहवामा निर्माणाधनि अवस्थामा रहेको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन (आईकाओ)को फोर–ई मापदण्ड अनुसार निर्माण भईरहेको छ । फोर–ई मापदण्डमा बनेको यो विमानस्थलमा त्रिभुवन विमानस्थलमा आउने सबै विमानहरु एयरबस ३३०, बोइङ ७७७ लगायतलाई सहज रुपमा उडान अवतरण गराउन सकिन्छ ।
भैरहवा विमानस्थलको दृश्यता, भौगोलिक बनावट र मौसमको अनुकुलताका कारण त्रिभुवन विमानस्थल भन्दा राम्रो रहेको सरकारले दाबी गर्दै आएको छ । दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडीबीको ऋण सहयोग समेत रहेको छ ।
आइसीबी जिरो–२ को उपकरण आयातमा समस्या देखिएका कारण कामले गति लिन नसकेको आयोजनाको भनाई छ । आइसीबी २ अन्तर्गत कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्स (सीएनएस), एयर ट्राफिक म्यानेजमेन्ट (एटीएम), मेट्रोलोजिकल लगायत उपकरण जडानहरु रहेको छ ।
अहिले उक्त उपकरणहरु संयुक्त राज्य अमेरिका, वेलायत, अष्ट्रिया, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्डका कम्पनीहरुबाट आयोजनाले ती उपकरण ल्याउने प्रक्रियामा रहेको छ । उपकरण जडानको लागि डिजाइनको सम्पूर्ण काम सकिएको छ ।
कोभिड–१९ प्रकरण सुरु हुनु पुर्व नै ३ पटक म्याद थप गरेको ठेकेदार कम्पनीले पछिल्लो समय कोभिडका कारण काम गर्ने वातावरण पाएका छैन ।
विमानस्थल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, ७, १०, ११ र मायादेवी गाउँपालिका वडा नम्बर ७ को ८१० विगाहा क्षेत्रफलमा फैलिएको छ । जसमध्ये १ हजार ७४० परिवारको ५०० विगाहा जग्गा स्थानीयको अधिग्रहण विमानस्थलका लागि प्रयोग गरेको थियो ।
आयोजनाले स्थानीयलाई मुआब्जा वितरणमा २३ अर्ब रुपैयाँ लाग्ने बताएको छ । त्यसमध्ये अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ वितरण गरिसकिएको छ ।
एयर रुटको टुंगो छैन
निर्माण पुरा भएपनि विमानस्थल संचालनमा आउन कम्तीमा थप केही महिना लाग्ने देखिन्छ, जसको कारण व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न केही समय लाग्नेछ । निर्माणको काम अन्तिम चरणमा पुग्दा समेत विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने ‘एयर रूट’ विषय टुङगो लाग्न सकेको छैन । एयर रूटका लागि अन्तर्राष्ट्रिय हवाई उडड्यन संगठन (आइकाओ) सँग नेपाल र भारतको प्राविधिक टोलीले अध्ययन गरेर टुंगो लगाउनुपर्ने हुन्छ ।
आईकाओले रुट इजाजत नदिए पनि नेपालले आन्तरिक रुट प्रयोग गरेर विमानस्थल संचालन गर्न बाधा नपुग्ने परियोजना प्रमुख अधिकारीको भनाइ छ ।
दैनिक १६ हजारलाई सेवा
सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको अन्तरराष्ट्रिय विमानस्थलको तत्कालीन प्रधानमन्त्री सुुशील कोइरालाले २०७१ साल माघ १ गते शिलन्यास गरेका थिए । लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ ।
दैनिक १६ हजारका दरले वार्षिक करिब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आकंलन छ । विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत उत्पादन गर्ने गर्ने गरी काम अगाडि बढाइएको छ । एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिनेछ । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनी गरिएको हो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया