३ माघ २०८१, बिहिबार | January 16, 2025

खोलो तर्नुछ तपाईंलाई ! हजार रुपैयाँ तिर्न तयार हुनुस



जाजरकोट । भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा यादवले एक हजार रुपैयाँ दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताए । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाए ।

३५ किलोमिटर सडकमा अहिले जिपमा जाँदा पनि रु एक हजार भाडा लाग्ने गर्दछ । वर्षायाममा बाटो ठाउँठाउँमा भत्किएको भन्दै रु ४०० मा जान सकिने ठाउँमा अहिले एक हजार भाडा लिन थालिएको छ । बाँके खोला सानो हुँदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको सिमबजार र नलगाड नगरपालिकाको कालीमाटीमा सिधा यातायात सेवा हुने गर्छ ।

खोला बढ्ने बित्तिकै बाँके खोलाको दुई किनारामा जिपहरु राखिएको हुन्छ । सोही दुई किनारका काठको फलेकको सहयोगमा खोला पार गरी पारि रहेको अर्को जिपमा बसेर यात्रा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का विष्णुकुमारी खत्रीले जानकारी दिए ।

बर्सेनि यो ठाउँमा खोलाले दुःख दिने गरेको छ । सोमबार मात्र सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा ठप्प भएको थियो ।

जाजरकोट–डोल्पा सडकखण्डको बीचबीचमा १२ खोला छन् । कुनै पनि खोलामा पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर यातायात व्यवसायीले चर्को मूल्य असुल्ने गरेका छन् । मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार तिरेर खोला तारेर जानु पर्ने बाध्यता रहेको छ ।

खोलामा पानीको बहाव बढेसँगै यस सडकमा चल्ने खच्चडहरु समेत ठप्प हुने गरेका छन् । ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको खच्चड व्यवसायी मानबहादुर विकले बताए । स्थानीय कमल पुनले भने, “यो खोलामा आफूले थाहा पाउँदासम्म सात जनाको बगेर मृत्यु भइसक्यो । अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन ।”

बाँके खोलामा पुल निर्माण शुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । रुकुमपश्चिम, जाजरकोट र डोल्पाका सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन् । वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ । पन्ध्र वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्नु परेको हो ।

जाजरकोट–डोल्पा सडकखण्डमा यात्राभन्दा सास्ती बढी भोग्नु परेको छ । नलगाड नदी र धुर्मेखोलामा पुल निर्माण नहुँदा दल्लीबाट तल्लु बगरसम्म अर्को जिप चढेर यात्रा गर्नुपर्ने बाध्यता छ । नलगाड नदी सानो हुँदा काठको फलेकबाट तरेर जाने यातायातका साधनहरु नदीमा पानीको बहाव बढेसँगै ठप्प भएका छन् ।

धुर्मेखोलामा पानीको बहाव बढेसँगै सो ठाउँमा पनि जिपहरु तार्न नसकिएको चालक भीमबहादुर बुढाले बताए । त्यतिमात्र होइन, खलङ्गा–पाँचकटिया सडकखण्ड समेत अवरुद्ध भएको छ ।

यो सडकखण्डको गाराराङ्सीमा पहिरोले सडक अवरुद्ध भएपछि एक महिनादेखि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायले चासो दिएको छैन । कालीमाटी–बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्रसम्मको सडक भौतिक पूर्वाधार कार्यालयले मर्मतको काम शुरु गरेको छ । -रासस

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : १७ बजे

कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते

बुटवल । गएराती कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको

राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ

सरकारमा सहभागी कांग्रेसका मन्त्रीको बैठक देउवानिवासमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

ढोरपाटन । बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका