काठमाडौं । सरकारले गौतम बुद्धको जन्मभूमिबारे कहिँकतै विवाद नरहेको प्रष्ट पारेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस/विवाद नरहेको प्रष्ट पारेको छ ।
संचारकर्मीले सोधेको प्रश्नबारे जवाफसहितको विज्ञप्तिमा प्रवक्ता भरतराज पौडेलले भनेका छन्, ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ ।’
बुद्ध नेपालमा जन्मेको तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै उनले यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारेका छन् ।
नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको विस्तार भएको बताएका छन् । यसरो तथ्यबारे सिंगो विश्व समुदाय यो विषयमा जानकार रहेको प्रवक्ता पौडेलले जिकिर गरेका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार आयोजित एक कार्यक्रममा बुद्धलाई ‘महान भारतीय’ भनेका थिए । बुद्ध भारतीय रहेको जिकिर गर्दै उनले विश्वले समेत भारतीय नै भएको भन्ने बुझेको दाबी गरेका थिए ।
भारतीयहरूले बुद्धलाई भारतको बनाउनका लागि अनेकौं प्रयत्न अझैपनि जारी राखेका छन् । जयशंकरको अभिव्यक्ति साँस्कृतिक हैकमवादको एक रूप रहेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताएका थिए ।
तर, त्यसको केहीदिनपछि जापान भ्रमणको क्रममा बुद्ध भारतका भन्दै बुद्धको देशमा भ्रमण गर्न जापानी पर्यटकहरूलाई आग्रह गरेका थिए ।
बुद्धबारे आफ्ना विदेशमन्त्रीको अभिव्यक्तिको नेपालमा विरोध भएपछि भारतको विदेशमन्त्रालयले बुद्ध नेपालमै जन्मिएको स्पष्टिकरण दिएको छ ।
प्रतिक्रिया