काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ पहिलो साताबाट लिने भनेको सबै परीक्षा स्थगित गरेको छ ।
कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि परीक्षा तत्काल संचालन गर्ने निर्णयबाट त्रिवि पछि हटेको हो ।
राजधानी काठमाडौं लगायत मुख्य सहरी क्षेत्रमा सङ्क्रमणको जोखिम उच्च बन्दै गएपछि विश्वविद्यालय तत्काल परीक्षा सुचारु गर्ने निर्णयबाट पछि हटेको हो ।
स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले बताए । स्थगित परीक्षा अब दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ ।
सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।
गत चैत्र ७ गतेबाट सुरु हुनुपर्ने त्रिविको स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा नियमित परीक्षा कोरोना संक्रमणकै कारण स्थगित भएको थियो ।
विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । तर, डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी गराएका छन् ।
त्रिविले आन्तरिक रुपमा परीक्षाको सबै तयारी गरेपनि परीक्षार्थीहरुसँग समेत सम्पर्क हुन नसकेको र नियमित यातायात चल्ने परिस्थिति पनि नदेखिएका कारण परीक्षा प्रभावित हुने आंकलन गरेको छ ।
यातायात संचालन नहुँदा परीक्षार्थीहरु परीक्षाकेन्द्रसम्म पुग्ने सम्भावनै नरहने देखिन्छ । धेरै परीक्षार्थीहरु एकै स्थानमा जम्मा हुँदा सामाजिक दूरी कायम गर्नसमेत सम्भावना नहुने देखिएपछि त्रिवि परीक्षा स्थगित गर्ने सोचाइमा पुगेको हो ।
परीक्षाका विषयमा त्रिविले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसग छलफल गर्ने भएको छ । मन्त्रालयले दिने सुझावका आधारमा सम्भावित परिस्थितिको आंकलन गरी निर्णय लिइने त्रिविले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले लामो समय यही अवस्था रहिरहेमा परीक्षा संचालनको विकल्पबारे सोच्ने पनि जनाएको छ ।
प्रतिक्रिया