काठमाडौं । नागपञ्चमीदेखि वर्षका चाडपर्व सुरु भइसकेका छन् । हामीले जनैपूर्णिमा र रक्षाबन्धन सोमबार मनायौं । तर, मन्दिर जाने, घरमा बोलाउने चलन हेर्दा कोरोना संक्रमणको जोखिम देखिएको छ । जात्रापर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको भेटिएको छ । ज्यान जोगिए चाडपर्व, जात्रापर्व मनाइरहन पाइन्छ भन्ने सबै नागरिकले बुझ्न जरुरी छ । हामीले चाडपर्व मनाउँदै पुस्तौनी हस्तान्तरण गर्ने दायित्व पूरा गर्नु नै छ ।
न्यूनतम औपचारिकता पूरा गरेर चाडपर्व, जात्रा आदि मनाउन सकिन्छ। जस्तैः साउनको सोमबार पशुपतिनाथ मन्दिर पुगेर शिवको पूजाआजा गर्ने चलन छ । यस्तो महामारीमा घरमै बसेर शिवको पूजाआराधना गर्न सकिन्छ । जात्रामा पनि २०–२५ जना मात्र भेला भएर दूरी कायम गरी परम्परा जोगाउन सकिन्छ ।
तीज नजिकिँदै छ, विगतजस्तो भेला हुने, नाचगान गर्ने अवस्था छैन । घरमै सानो समूहमा नियम पालन गरी पर्व मनाउनुपर्छ । सोह्र श्राद्धमा पनि गुरुपुरोहितसमेतले जोगिएर प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ । फोन वा म्यासेन्जरबाटै आशीर्वाद लिएर दसैं मनाउनुपर्ने अवस्था पनि देखिँदै छ ।
नजिकैका मान्यजनकहाँ सानो संख्यामा पालै पालो गएर पनि दसैं मनाउन सकिन्छ । यसपटक गुरुपूर्णिमामा यसरी गरिएको उदाहरण प्रशंसनीय रह्यो । असोजमा मलमास परेकाले धार्मिक कार्य खासै हुँदैनन् ।
पुरुषोत्तम महात्म्य पनि पुस्तक घरमै ल्याई दुई–चार जना बसेर सुन्नु उपयुक्त हुनेछ । समूहमा सुन्ने समय छैन । दानदक्षिणा गर्दा होसियारी अपनाउनुपर्ने देखिन्छ । बरु यो बेला साहित्यकार, कलाकार, योगी, ध्यानी वा भगवान्को भक्त भए आआफ्नै ढंगले साधनामा तल्लीन हुनु उत्तम विकल्प हो। यसले आत्मबल र धैर्य बढाउँछ । उत्साह थप्छ।
वर्षौंसम्म यस्तै अवस्था रहिरह्यो भने केही संस्कृति संकटमा पर्न सक्छन् । यस्तो बेला संस्कार संस्कृतिबारे सचेतना सञ्चारमाध्यममार्फत जनमानसमा पुर्याएर जीवन्त बनाउन सकिन्छ । नयाँ पुस्तालाई हरेक चाडपर्व र संस्कृतिबारे जानकारी दिनुपर्छ। यसका लागि जिम्मेवार निकायले सामाजिक सञ्चारमाध्यमसमेत प्रयोग गर्न सक्छन् । धर्मशास्त्र विभाग, वाल्मीकि विद्यापीठका प्रमुख प्रा.डा. देवमणि भट्टराईसँगको कुराकानीको आधारमा उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
प्रतिक्रिया