१ मंसिर २०८१, शनिबार | November 16, 2024

केरा खेतीमा आकर्षित हुँदै पाल्पाका किसान



पाल्पा । पाल्पाका किसान अन्नबालीभन्दा केरा खेतीमा आकर्षित भएका छन् ।

परम्परागतरूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा केराका बिरुवा लगाउन थालेका छन् । केरा खेतीतर्फ आकर्षित गर्नका लागि प्रदेश सरकारले पाल्पामा अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेपछि यहाँका किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत अनुदान कार्यक्रम ल्याएपछि किसानले खेतबारी र बाँझो जमीनमा केरा लगाएर हराभरा बनाउन थालेका छन् ।

अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । जिल्लाको रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिकाको ज्यामिरे क्षेत्रमा व्यावसायिक रुपमा नै केरा खेती गरिएको छ । बगनासकाली गाउँपालिका–६ शिखरडाँडामा ओम कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओम पचभैयाले २० रोपनी क्षेत्रफलमा केरा लगाएका छन् ।

अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकाले केराखेतीतर्फ आकर्षित भएको किसानको भनाइ छ । किसानका अनुसार जनशक्तिको अभावमा बाँझिदै गएको जमीनलाई उपयोगमा विस्तारै केरा खेती विस्तार गर्दै लगिएको छ । केरा खेतीलाई अन्नबालीको जस्तो स्याहारसुसार र गोडमेल पनि गरिरहनु नपर्ने, धेरै जनशक्तिको पनि आवश्यकता नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबालीलाई छाडेर केराखेतीतर्फ लागेको किसानले बताएका छन् ।

अन्नबालीको तुलनामा किसानमा केरा खेतीतर्फको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । केरा खेती विस्तार तथा प्रवद्र्धनका लागि कृषि ज्ञानकेन्द्र पाल्पाले आव २०७६÷७७ मा ५० प्रतिशत अनुदानमा रु एक लाखको एक हजार ६०० ‘जि नाइन’ जातको केराको बिरुवा, युरिया, पोटास तथा प्राङ्गारिक मल सहयोग गरेको छ । रामपुर नगरपालिका–६ मा सञ्चालित रामपुर केरा पकेट क्षेत्र समितिलाई २०७६÷७७ मा ५० प्रतिशत अनुदानमा पाँच वटा हाते ट्याक्टर, जि नाइन जातको (भाइरसजन्य रोगबाट मुक्त) तीन हजार केराका बिरुवा, युरिया, पोटास, प्राङ्गारिक मल उपलब्ध गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केरा पकेट क्षेत्रका रुपमा रामपुर चिनाउने र यसैबाट प्रशस्त आयस्रोत लिन सकिने हुँदा पकेट क्षेत्र विस्तारमा लागेको समितिका अध्यक्ष लोकनाथ ढकालले बताए । उनले धान मकै गहुँ राम्रै उत्पादन हुने करिब नौ रोपनी जग्गामा मालभोग, जि नाइन र उइलियम जातको ९०० बोट केरा लगाएका छन् । केराको खेतीका लागि राम्रो सम्भावना बोकेको हुँदा रामपुर नगरपालिका क्षेत्रका किसानले अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी गर्न सक्ने कृषि शाखा प्रमुख रामहरि पाण्डले बताए । रामपुर नगरपालिका क्षेत्रमा करिब ५०० रोपनी क्षेत्रफलमा केरा खेती गरिएको छ । व्यावसायिक रुपमा यहाँका २५ कृषकले केरा लगाएका छन् ।

यो क्षेत्रका लागि उत्तम मानिएको जी नाइन, उइलियम हाइब्रिड, रगुस्ता, मालभोग जातको केरा कृषकले लगाएका छन् । फालिएका जग्गा सदुपयोगमा आउने हुँदा पनि पछिल्लो समय कृषकले व्यावसायिक तबरबाट केरा लगाउन थालेका हुन् । कृषि शाखाले केरा खेती सम्बन्धमा स्थलगत रुपमा प्राविधिक सेवा दिन थालेपछि कृषकले व्यवसाय बढाउँदै गएका छन् ।

जिल्लामा केरा खेती गरिने ६७ हेक्टर जमीनमध्ये हाल उत्पादनशिल ५७ हेक्टर जमीनमा केरा लगाइँदै आएको कृषि ज्ञानकेन्द्र पाल्पाका वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार वार्षिक रुपमा यहाँ ८७० मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ ।

बाँझो रहेका जग्गा सदुपयोग हुने, बजारमा केराको माग बढ्न थालेपछि कृषकले व्यावसायिक तबरबाट केरा खेती शुरु गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । केरा पकेट क्षेत्रका लागि कम्तीमा २०० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्नेछ । केराका लागि व्यावसायिक सम्भावना जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिका–१ को हुँगी क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ३४ बजे

कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको

विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी

नेपालगन्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी

राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

विवाह पञ्चमीको निम्तो दिन मधेसका मुख्यमन्त्री जम्बो टोलीसहित अयोध्या प्रस्थान

जनकपुरधाम । यही मङ्सिर २१ आयोजना हुने जानकी विवाह महोत्सवका

भक्तपुरमा ट्रयाक्टर दुर्घटना; एकको मृत्यु, पाँचजना घाइते

भक्तपुर । भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको