३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मध्यपहाडी लोकमार्ग : बागलुङ खण्डमा कतै भासियो, कतै उप्कियो



बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र उप्किएको छ ।

जिल्लाको ‘लाइफ लाइन’ सडकका रुपमा रहेका सो खण्डमा वर्षात्का कारण बाढीपहिराले कतै भासिने र कतै कालोपत्र उप्काइदिएको छ ।

बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन् । यसबाहेकको अधिकांश खण्ड कालोपत्र भए पनि घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन् ।

अविरल वर्षाका कारण लोकमार्गको सो खण्डमा सडक माथिबाट ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । अत्यधिक वर्षाका कारण लोकमार्गको बागलुङ नगरपालिकाको बोक्सेदेखि काठेखोला, गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलाका विभिन्न स्थानमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने, कालोपत्र बगाएर कच्ची सडककै अवस्थामा पुगेपछि लोकमार्गको यात्रा जोखिम र सकसपूर्ण बनेको छ ।

प्राकृतिक रुपमा भन्दा मानवीय लापरवाहीका कारण लोकमार्ग छियाछिया बन्दै जान थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए। “लोकमार्ग जोगाउने नागरिकको पनि दायित्व हो”, थापाले भने, “लोकमार्गबाट जताततै अनावश्यकरुपमा शाखा सडक अनुमतिबिनै निर्माण गर्दा लोकमार्ग छियाछिया बन्दै गएको हो ।”

प्राकृतिक रुपमा भन्दा ठूलो विपत्ति मानवीय गल्तीका कारण निम्तिएको जनाउँदै लोकमार्गलाई स्थानीय तहलेसमेत जोगाउने दायित्व हुने उनको भनाइ छ ।

लाइफ लाइन सडकमाथि स्थानीय तह र नागरिकको खेलबाडका कारण लोकमार्गको कालोपत्र जोगाउन कठिन भएको उनी बताउँछन् । समस्या भएका स्थानीय तहमा अनुमतिबिना शाखा सडक निर्माण नगर्न पत्रसमेत पठाउँदै आए पनि स्थानीय तहले पत्र बुझ्नै नमानेको उनको गुनासो छ । लोकमार्गको अनुमति मागेमा प्राविधिकरुपमा आयोजना कार्यालयले सघाउने आएको छ ।

“कालोपत्र नभएको स्थानमा त नागरिकलाई सास्ती हुने नै भयो, कालोपत्र भएका स्थानमा समेत जनताले सास्ती खेप्नुमा शाखा सडक मुख्य जिम्मेवार छ”, उनले भने ,“लोकमार्ग माथि र तल प्राविधिक मूल्याङ्कनविनै सडक खन्दा लोकमार्ग नै धरापमा परिरहेको छ ।”

लोकमार्गको खास गरी कालोपत्र भइसकेको गलकोट, बडिगाड र ढोरपाटनमा बढी सडक भत्किएको आयोजनाको दाबी छ । गलकोटको दरमखोला छेउ, आगाँखेत, रिघा, बडिगाड गाउँपालिकाको राक्से, जैवर म्याल खोला, खाला बजार, भुजुङे, बालुवा, ढोरपाटन नगरपालिकाको तुततुरे, खोल्टुकोट लगायतको स्थानमा माथिबाट आएको पहिरो, शाखा सडकको भेलका कारण लोकमार्ग खतरामा परेकोे छ ।

आवश्यकभन्दा बढी सडक खनेका कारण समस्या सिर्जना हुन थालेको बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । “शुरुमा हामी पनि अलिकति महत्वकाङ्क्षी भएर सडक निर्माण गरेकै हो, शुरुमा प्राविधिक ज्ञानकोसमेत अभाव भयो”, उनले भने “लोकमार्ग आयोजनालेसमेत अलि पहिले नै स्थानीय तहसँग यथेष्ट समन्वय र नागरिकमा समेत सचेतना जगाउन सक्नुपथ्र्यो, त्यहाँ पनि केही कमजोरी भएकै छ । अब पनि समन्वय गरेर लोकमार्ग र अरु सडकको सुरक्षा दीर्घकालीन हिसाबले समस्या नदोहारिने गरी काम गर्न जरुरी छ ।”

गाउँपालिकाले अब निर्माण गर्ने बाटोमा भने मध्यपहाडी लोकमार्गसँग समन्वय गरी निर्माण गर्ने उनले जानकारी दिए । लोकमार्गलेसमेत दीर्घकालीनरुपमा टिक्ने गरी गुणस्तरीय हिसाबले सडक निर्माण गर्न सक्नुपर्नेमा उनको जोड छ ।

वर्षात्का कारण बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कैयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढी पहिराका कारण लोकमार्गमा बढी क्षति पुगेको यात्रुको गुनासो छ । बागलुङ बजारदेखि बुर्तिवाङ तीन घण्टामा पुग्न सकिने सडकमा अहिले छ/सात घण्टा लाग्ने सवारी चालक भरत गौतमले गुनासो गरे ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताए । “नालीविनाको ग्रामीण सडकले जम्मा गरेको भल सोझै लोकमार्गमा आउँछ, लोकमार्गले बनाएको सानो संरचनाले थेग्न सक्दैन अनि जलमग्न हुन्छ, लोकमार्ग नै बगाउने गरेको छ”, उनले भने “वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनाँै पटक अवरुद्ध भइसकेको छ । अब यसमा ढिलै भए पनि सरोकारवाला निकायले सोच्नुपर्छ ।” -रासस

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : ५५ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day