७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

जाजरकोट पहिरो अपडेट : पाँच सय परिवार विस्थापित, नौ शव भेटिए



जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए ।

वडा नं १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए।

सिंहका अनुसार ५०० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जङ्गलमा बसेको बताउनुभयो । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए ।

पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् । बेपत्ताको खोजीकार्य शनिबार बिहानैदेखि जारी रहेको वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिए।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिबाट र सर्वसाधारण बेपत्ताको खोजी भइरहेको छ । विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । राहत लिएर काठमाडौँबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

नौको शव भेटियो
बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उनका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ ।

त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ । बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकामा अहिलेसम्म शव फेला परेको छैन ।

घाइतेको उद्धार
बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए ।

त्यस्तै पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ ।

विस्थापितलाई खाने छैन
सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुका लागि खानेकुरा नहुँदा समस्या भएको छ ।
घर छाडेर जङ्गलमा बसेका सर्वसाधारण हैरान भएका छन् । नियमित पानी परिरहेकाले खुला आकाशमा भिज्दै आफन्तको पीडामा दिन बिताएका छन् । -रासस

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ०३ बजे

जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य

दाङ । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका

झापाबाट एघार करोडको चिया निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले रु ११ करोड

सुकुटी बेचेर मासिक दुई लाख आर्जन

मोरङ । बेलबारी-११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन्

गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका-९ का नगेन्द्र

आज एमालेले राजधानीमा शक्ति प्रदर्शन गर्दै, एक लाख नागरिक सडकमा उतार्ने तयारी

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आज राजधानीमा शक्ति