२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

बैठौलिया कपरकट्टी ताल : बुटवल क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्य



बुटवल । बुटवल उपमहानगरपालिकामा प्राकृत्तिक सिमसार छ र त्यो विशाल तालका रुपमा विकास गरिएको छ भन्दा धेरैलाई थाहा नहुन सक्छ । तर, मुलुककै प्रमुख व्यापारिक केन्द्र र जनघनत्व अधिक रहेको बुटवलमै सिमसारसहितको आकर्षक ताल रहेको छ ।

जुन ताललाई यहाँ जनप्रतिनिधि निर्वाचित भएपछि उजागार मात्रै भएन यसक्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । ताललाई बुटवलको एउटा महत्वपूर्ण स्थलका रुपमा विकास गरिएको छ ।

बुटवल वडा नं. १६ सेमलारमा रहेको बैठौलिया कपरकट्टीताल प्राकृतिक सिमसार हो । तर, यो पुरिँदै, मासिँदै र अतिक्रमित हुँदै थियो । जब जनप्रतिनिधि चुनिए त्यसपछि यो सिमसार क्षेत्रको खोजी भयो, संरक्षण भयो, तत्कालै व्यवस्थित गर्न थालियो र अहिले यो अवस्थामा आइपुगेको हो ।

‘झाडी, जलकुम्भी झार र माटोले चारैतिरबाट पुरिँदै गएको अवस्थामा थियो’ तालको निरिक्षणमा जाँदाको घटना स्मरण गर्दै प्रमुख शिवराज सुवेदीले ब्यस्त सहरको एउटा सम्भावनाको क्षेत्रका रुपमा सोच बनाएर संरक्षण र विस्तारका काम एकैपटक सुरु गरेको बताए ।

उपमहानगरले तालको गुरुयोजना नै बनाएर संरक्षण र विस्तारको काम गरेको हो । थप कामका लागि प्रदेश र संघीय सरकारसँग समेत आग्रह गरिएको छ । तालसँगै नजिकै रहेको नरेनापुर धाम परिसरलाई पनि जोडेर आकर्षक पर्यटकीय गन्तव्य बनाउने काम जारी रहेको प्रमुख सुवेदीको भनाइ छ ।

तालका बारेमा उपमहानगरका प्रवक्ता तथा सोही वडाका अध्यक्षसमेत रहेका रामप्रसाद रेग्मीले जानकारी गराउँदासाथ प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र उपमहानगरका इन्जिनियर, समुदायका नागरिक अगुवासहितको टोलीले स्थलगत अबलोकन र अध्ययन गरेको थियो ।

दुई विघामा खुम्चिएको ताल ३० विघामा विस्तार
नील दहका नामले चिनिने र स्थानीय थारु समुदायले थकाइ मेट्नका लागि आएर बस्ने यो प्राकृत्तिक ताल क्षेत्र झण्डै सय वर्ष पुरानो मानिन्छ । ओझेलमा परेको यो ताललाई बुटवलमा जनप्रतिनिधि चुनिएपछि व्यवस्थित गरिएको हो । यो ताल सुरुमा दुई बिघामा खुम्चिएको थियो । अहिले संरक्षण र झण्डै ३० विघामा फैलिएको छ । अतिक्रमणमा परेको क्षेत्रलाई तालमा ल्याइएको छ र त्यहाँको भरिएको गेग्रेटोसहितको माटो निकालिएको छ ।

झण्डै दुई किलोमिटर लामो र करिब ३ सय मिटर चौडाईमा फैलिएको तालको गहिराई करिब सात मिटर जति रहेको छ । सिमसार क्षेत्रको यो ताललाई उपमहानगरपालिकाले बुटवलको अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्दै अहिले पर्यटकीय गन्तव्य बनाउन लागिएको प्रवक्ता रेग्मीले बताए । प्रदेश सरकारको सहकार्यमा यहाँ होमस्टेको समेत अवधारणा ल्याइएको उनको भनाइ छ । ताल संरक्षण तथा विस्तारका लागि हाल एक करोड भन्दा धेरैको बजेटमा विभिन्न काम भइरहेका छन् । तालको जग्गा विस्तार गर्ने, सफाई गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, डुंगाको पेभेलियन निर्माण गर्ने सुन्दरता बढाउने जस्ता काम भइरहेको छ ।

पर्यटन सर्किटको मुख्य गन्तव्य
बुटवलले जितगढीलाई केन्द्रमा राखेर बुटवलका सबै पर्यटकीय र पर्यावरणीय क्षेत्र समेटिएको पर्यटन सर्किट बनाएको छ । बुटवल चक्रपथसंगै यो सर्किटमा साइकल लेन, पदमार्गको समेत अलग अलग अवधारणाका साथ काम भइरहेको छ । तल्लो सिद्धबाबा नजिकै आधुनिक प्रकारको झोलुङ्गे पुल निर्माण गरेर वारीपारीका पार्कहरुलाई जोड्ने, पार्कमा खुला व्यायामशाला निर्माण गर्नेसम्मका योजना तय भएका छन् ।

बुटवलका पर्यटकीय क्षेत्रका रुपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अघि बढाएको छ । तालमा सञ्चालन गरिएको डुंगाको गत फागुनमा मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरेका थिए । उनले पर्यटन सर्किटको प्रदेश स्तरीय गन्तव्यकै रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताएका थिए ।

समुदायमा आर्यआर्जन बढाइने
समुदायलाई जोडेर विकास गरिएको योजना नै टिकाउ र दीर्घकालीन महत्वको हुन्छ । यहाँ बुटवलले स्थानीय समुदायलाई जोड्दै उनीहरुमा आय आर्जन बढाउने खालका कार्यक्रम पनि बनाइरहेको छ । महिलालाई होमस्टे, सांस्कृतिक झाँकी, परम्परागत हातेबुनाईका सामग्री निर्माणका काममा समेट्ने तयारी भइरहेको उपप्रमुख गुमादेवी आचार्यले बताइन ।

बुटवलमा सञ्चालित मुलुककै नमुना कार्यक्रम मानिएको महिला उद्यमशिलता विकास कार्यक्रममा यहाँका समुदाय लक्षित सीप पनि समेट्ने तयारी भइरहेको उपप्रमुख आचार्यको भनाइ छ ।

एकीकृत सहरी विकास योजना कार्यान्वयन हुँदै
बुटवलले एकीकृत सहरी विकास योजना तयार पार्दै आवधिक र दीर्घकालीन महत्वका कामको सूचि नै बनाएर वर्गीकरण गरेको छ ।

त्यसमध्येको यो एउटा महत्वपूर्ण योजना हो । एकीकृत सहरी विकास योजनामा यहाँको पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदाका क्षेत्र एवं कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गर्दै आकर्षक गन्तव्यका रुपमा विकास गर्न लागिएको प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

नजिकै रहेको नरैनापुर धाममा रहेको शिवलिंगलाई काठमाडौंको पशुपतिनाथसँग तुलना गर्ने गरिन्छ । दुबै शिवलिंग एकै समयका मानिन्छन् । धाम परिसरमा भ्यू टावर, नजिकै खेलमैदान बनाउने काम सुरु भएको छ । नरैनापूर क्षेत्रलाई बुद्धकालीन ऐतिहासिक क्षेत्र पनि मानिन्छ । यहाँ बुद्ध खेल्दै र डुल्दै आउने गरेको बताइन्छ । जहाँ प्राचीनकालदेखि परम्परागत शिवरात्री मेला लाग्दै आएको छ ।

नरैनापुर धाम हिन्दु अनुयायीहरुको एउटा पवित्र तीर्थस्थल हो । यहाँ देश विदेशका हिन्दु धर्मावलम्बीहरुको हरेक वर्ष शिवरात्री र साउनमा घुइँचो लाग्ने गर्दछ । नरैनापुर धामको मेलामा भारतको पटना, बिहार, गोरखपुर, लुधियाना र नेपालको तराईका अधिकांश जिल्लाबाट शिवरात्रीमा भक्तजन आउने परम्परा छ ।

अहिले तीब्र विकास भइरहेको बजार क्षेत्र रहेको बुटवल व्यस्त शहरका रुपमा विकास भइरहेको छ । यहाँ भिडभाड, धुलो धुवाँ दिनहुँ बढ्दो क्रममा रहेका बेला उपमहानगरको यो क्षेत्रलाई एउटा शान्त र रमणीय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रचूर सम्भावना रहेको पर्यटन विज्ञ डा.गितु गिरीको भनाइ छ । बुद्धावलीअन्तर्गत रहेका बुटवलसहित सैनामैना, देवदह, नौकट्टीलाईसमेत जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने सम्भावना रहेको गिरी बताउँछन् । ।

स्थानीय भन्छन् तालसँगै गाउँकै मुहार फेरियो
अहिले रहेको ताललाई बुटवलका तिनै जनप्रतिनिधिको अगुवाईमा संरक्षण गर्दै व्यवस्थित गराइपछि स्थानीय समुदाय औधी खुशी भएका छन् । तालको संरक्षण तथा व्यवस्थापनका काममा समुदायसंग समन्वय गरिएपछि ताल मात्रै होइन, समग्र क्षेत्रकै मुहार फेरिएको छ ।

ताल व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय युवा अगुवा खेमलाल कंडेलले बुटवलका जनप्रनिधिको चासो र इच्छाशक्तिले तालसँगै गाउँकै मुहार फेरिएको बताए । उनले तालको सरसफाई र विस्तारको काममा समुदायलाई दैनिक ज्यालादारीका कामको समेत व्यवस्था मिलाइएको बताउँदै लकडउनको बेलामा समेत सुरक्षा प्रवन्धसहित कामको व्यवस्था गरिएको बताए । कँडेलले तालको संरक्षण र विस्तारका काम सुरु भएदेखि नै समुदायमा खुशीयाली छाएको जिकिर गरे । कँडेल आफै अहिले तालको संरक्षण र विस्तारका काममा समुदाय स्तरबाट निरन्तर खटिएका छन् ।

स्थानीय अगुवा कमल ढुंगानाले पुरिँदै र मासिँदै गएको प्राकृत्तिक सिमसार क्षेत्रको ताललाई बुटवलले संरक्षण संगै व्यवस्थित गरेपछि सिंगो गाउँबस्ती नै अब नयाँ आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे । ढुंगानाले समुदायलाई जोड्दै पर्यटन विकास र पर्यटकीय क्षेत्रको विस्तारमा बुटवलले नमुना काम गरेको बताए । सम्भावनालाई साकार पार्नका लागि समुदायको सहकार्य जरुरी रहेको उनको भनाइ छ ।

लकडाउनमा सुरक्षा प्रवन्धसहित गौरवका योजना कार्यान्वय
अहिले लकडाउनको बेलामा पनि बुटवलले सुरक्षा प्रवन्धसहित योजना कार्यान्वयनका कामलाई अगाडि बढाएको छ । कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न मुलुकमै नमुना काम गरिरहेको बुटवलले लकडाउनको बेलामा पनि गौरवका आयोजनालाई निरन्तरता दिएको छ । सुरक्षा प्रबन्धसहित विभिन्न आयोजना सञ्चालनमा छन् ।

बुटवल उपमहानगरपालिकाले आफ्नो नगरको गौरवको आयोजनाका रुपमा अगाडि बढाईरहेका परियोजनाहरुमध्ये कालिकापथ आन्तरिक वाइपास, बैठौलिया कपरकट्टी सिमसार ताल, आधुनिक पशुबधशाला, श्रवणपथलगायतका महत्वपूर्ण परियोजनाहरु यो लकडाउनको अवधिमा पनि धमाधम कार्यान्वयन भइरहेका छन् । उपमहानगरका सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ नेतत्वमा प्राविधिक तहका कामको अवस्थाको स्थलगत निरिक्षण भइरहेको छ भने उपप्रमुख आचार्यको संयोजकत्वमा रहेको अनुगमन समितिले अनुगमन गरिरहेको छ ।

कालिकापथ आन्तरिक वाइपास सडकमा ८२ फुट भित्र पर्ने संरचना हटाई करिब १० करोडको लागतमा नाली निर्माणको काम भइरहेको छ । २२ करोडको लागतमा आधुनिक पशुबधशाला निर्माणको सम्झौता गर्दै साइट क्लिएरेन्स गर्ने काम भईरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ४० बजे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जाने

लुम्बिनी । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन

सुरुभयो राजमार्ग चौराहा-चिडिया खोला सडक बिस्तारको काम

बुटवल । अदालतको मुद्दा र स्थानीयको अवरोध सहित ठेकेदारको चरम

काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो, १९ प्रसारण लाइन सञ्चालनमा

काठमाडौं। इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२

सर्लाहीको एक पोखरीमा बेपत्ता दुई जनाको शव गोताखोर टोलीले निकाल्यो

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता

रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत लगियो, बहस जारी

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई