नेपालमै पहिलो गन्ज हो, नेपालगन्ज । अङ्ग्रेजको अधिनमा रहँदाकै बेला तत्कालिन श्री ३ जंगबहादुर राणाले शहरीकरण सुरु गरेको नेपालगन्जको नेपाली इतिहासमा छुट्टै महत्व रहेको छ । सुगौली सन्धीबाट गुमेको भुभाग मध्य, अंग्रेजहरुले उपहार वा पुरस्कारका रुपमा फिर्ता गरिदिएको शहर भएकाले पनि केहि बर्ष पहिलेसम्म नेपालगन्ज लगायत बाँके, बर्दिया, कैलाली र कंचनपुरलाई नयाँ मुलुक पनि भन्ने गरिन्थ्यो ।
अंग्रेजको शासनकालमा तत्कालिन श्री ३ जंगबहादुर राणा आफ्नै नेतृत्वमा भारतको लखनउमा भएको विद्रोह दबाउन सेना लिएर त्यहाँ पुगेका थिए । नबाबहरुको राज्य रहेको लखनउमा अंग्रेजहरुले धाबा बोल्ने क्रममा नबाव बाजेद अलिको सेनाले अंग्रेजहरुलाई घेरामा पारेपछि अंग्रेजहरुले जंगबहादुर राणासँग सहयोग मागेको थियो । त्यही क्रममा जंगबहादुरको सेनाले लखनउको विद्रोह दबाएर फर्केपछि उनीसँग प्रभावित अंग्रेजले चारवटा जिल्लाा बाँके बर्दिया, कैलाली र कञ्चपूर नेपाललाई फर्काएको थियो ।
नयाँ मूलुकका रुपमा चिनिएको बाँकेको नेपालगन्जको नाम पनि जंगबहादुर नै भारतका शहरहरुबाट प्रभावित भएर राखेका नेपालगन्जबासी बूढापाका बताउँछन् । तर जंगबहादुर लखनउ जानुपूर्व अंग्रेजहरुले भारतको रुपैडियासम्म स्थापना गरेको रेलवे स्टेसनलाई नेपालगन्ज रोड नामाकरण गरिएकाले पनि जंगबहादुरको पालामा भन्दा अगाडि नै नेपालगन्ज थियो भन्नेहरु पनि छन् । नेपालगन्जको इतिहास स्पष्ट नभए पनि नेपालगन्जलाई जंगबहादुरको सपनाको शहर भन्ने गरिएको छ ।
सन् १८५७ मा भारतको अबध प्रान्तमा लखनउकी बेगम हजरत महलको नेतृत्वमा अंग्रेज विरुद्ध गरिएको स्वतन्त्र संग्रामलाई दबाउन जंगबहादुर आफै सेना लिएर अंग्रेजको मद्दत गर्न पुगेका थिए । जंगबहादुरकै सहयोगले त्यस बेला अंग्रेजले विद्रोह दबाउन सफल पनि भएका थिए । त्यही अवस्थामा लखनउ भ्रमण गर्ने क्रममा जंगबहादुर त्यहांको नबावी ठाट देखेर निकै प्रभावित भएका थिए । जंगबहादुरलाई लखनउको, अलिगन्ज, हुसैनगन्ज, रकाबगन्ज, निसादगन्ज, ख्यालीगन्ज, हजरतगन्ज अत्याधिक मन प-यो । उनले त्यही गन्जहरुको मोडलमा नेपालमा पनि सहर बनाउने अठोट गरी नेपालगन्ज लगायतको गञ्जहरु बसाउने निर्देशन दिए ।
जंगबहादुरले यसरी पाएको क्षेत्रको नयाँ गन्ज बनाउने निर्णय गरे र यसको नामै पूरै नेपालको गञ्ज भनेर नेपालगन्ज राखे । यो सहर बसाउन जंगबहादुरले आफ्नो विश्वासी कर्मचारी पदमनाथ जोशीलाई पठाएका थिए । त्यसभन्दा अघि नेपालगन्जमा बजार थिएन । नेपाल–भारत सीमामा जयसपूर बजार थियो । त्यहीँ हाट बजार लाग्थ्यो । लखनउ, रायबरेली कानपूरका ब्यापारी बयलगाडामा नेपाल आई पहाडबाट नेपालीहरुले ल्याएका जडिबुटी, घिउ, फलफूल खरिद गर्दथे भने नेपालीहरुले लत्ताकपडा, नुन तेल लगायतका सामान खरिद गरेर लैजाने गर्दथे ।
जंगबहादुरकै पालामा काठमाडौंमा महाराजगन्ज, काठमाडौं बाहिर नेपालगन्ज सहर बसाईयो । नेपालगन्जमा पनि गगनगन्ज भनेर भिन्दैै बजार बसाईयो । जंगबहादुरको नक्कल उनका भाइसन्तानले पनि गरे । वीरशम्शेर र चन्द्रशमशेरले वीरगन्ज, अमलेखगनज लगायतका सहरहरु बसाए ।
त्यसपछि जंगबहादुरको निर्देशन अनुसार ठूलाठूला सडक र चोक सहितको बजार बसाईयो । ३६ फिट चौडा सडक बनायो । त्यही बेला सुविधा सम्पन्न ३ सय ६५ कोठीको निर्माण गरियो । तत्कालिन भन्सार (वर्तमान नगर भवनदेखि सदरलाईन सम्म)देखि वर्तमान त्रिवेणी चोक र त्रिभुव चोकदेखि पूर्ण रानी तलाउ र पश्चिम निमको रुखसम्म ३ सय ६५ कोठीको निर्माण गरियो । ती सरकारी कोठीहरु सडकको दुबैतिर एकनासका झिगटीले छाएर निर्माण गरियो । सहरलाई बिकसित गर्न भारतको बिसकेटबाट व्यापारी झिकाईए । त्यसैलाई पछि बिस्कोरियन टोल नै नाम राखियो । विक्रम संवत १९१६ मा नेपालगन्ज सहर निर्माण गर्न सुरु गरिएको इतिहासमा भेट्न सकिन्छ बस्ती बसाल्ने अभियान भने १९३८ सालमा पूरा भएको थियो । सहर बनाउने समयका चिफ कर्नेल लोकबहादुर थापाले नेपालगन्जमा कठमहलमा यज्ञ गरेर लोक भत्तेश्वर महादेबको मन्दिर बनाए । त्यसैबेला कठमहलको दक्षिणपट्टि खनिएको तलाउलाई आफ्नी रानीको नाउमा घाटहरु बनाई रानी तलाउ नाम दिए ।
जंगबहादुर कै निर्देशनमा दुई वर्षको म्याद तोकी सरकारी कोठीहरुको लखनउको अमिनावादको चोक जस्तै रहेको बाहिरसम्म छाना भएको भवन बनाउन उर्दी जारी भयो । मानीसहरुलाई बर्षायाममा हिँडडुल गर्न सजिलो होस भनेर बरण्डा सहितको घर बनाउन लगाईयो । त्यतिबेला बरण्डालाई बर्षादि भनिन्थ्यो, जुन अहिले अधिकांस स्थानीयबासीले अतिक्रमण गरेर सटर बनाईसहेका छन् ।
यो शहर नेपालगन्ज । जसको आफ्नो कुनै जातीयता छैन, किनकि यस शहरको परिकल्पना नै विजातीय थियो । विजातीय शब्दको मोहमा यो गन्ज भयो । यसलाई बसाउन विदेशीहरुलाई स्वार्थको लोभ देखाएर ल्याइयो ।
सहर बस्ने क्रममा बागेश्वरी मन्दिरको उत्तरमा घरबारी टोल, दक्षिणमा टाउन हलसम्म सीमित रहेको सहर क्रमशः बढ्दै गयो । पछि धीर शम्शेरका छोराहरुद्वारा जंगबहादुरका सन्तान लखेटिएपछि सुब्बा पदमनाथ पनि इलाहाबाद गएर बसेका थिए । पछि गएर वीरशमशेरको पालामा पदमनाथका सन्तान फेरी नेपालगन्ज फकिएर उनीहरुले फुल्टेक्रा लाईनका विस्तार गरेको नेपालगन्जका व्यापारी सतिशचन्द्र अग्रवाल बताउँछन् ।
त्यसैगरी शहर बसाउने क्रममा बडाहाकिम बस्ने घर, अस्पताल, जुद्ध मिडिल स्कूल आदिले गर्दा शहर दक्षिण तर्फ विस्तारित भयो । यसै क्रममा ठठेरहरुको बस्ती ठठेरन टोल, लेखकहरुको बस्ती लखेरन टोल, कुम्हालहरुको बस्ती कुम्हारन टोल, मुस्लिमहरुको बस्ती एकलैनी (कौवाखानी) र जुलाहाहरुको बस्ती जुलाहन टोलको नाम राखी जातीय रुपमा एकीकृत भई विस्तार गरिएको थियो । उनले उर्दी अनुसार घोषित म्यादभित्र घर नबनाए घर नै सरकारको कब्जा गर्ने निर्देशन दिए । अहिलेको त्रिभुवन चोकमा जुद्ध शम्शेरको सालिक स्थापना समेत त्यहिबेला भएको थियो । राणा विरुद्ध भएको आन्दोलनका बेला जुद्ध शम्शेरको शालिक तोडफोड गरिएको थियो । नेपालगन्जका पूराना समासेवी एबं शिक्षक सचितानन्द चौबेका अनुसार जंगबहादुरको सालिकको रक्षाको लागि दुई जना हतियार सहितका सेना पनि तयार थिए ।
जंगबहादुरकै पालामा काठमाडांैमा महाराजगन्ज, काठमाडौं बाहिर नेपालगन्ज सहर बसाईयो । नेपालगन्जमा पनि गगनगन्ज भनेर भिन्दैै बजार बसाईयो । जंगबहादुरको नक्कल उनका भाइसन्तानले पनि गरे । वीरशम्शेर र चन्द्रशमशेरले वीरगन्ज, अमलेखगनज लगायतका सहरहरु बसाए ।
नेपालगन्ज पश्चिम नेपालका प्रमुख नगरपालिका मध्ये एक मानिन्छ । यहाँको जनसख्या करिब ७० हजार छ । हिन्दू र मूस्लिम दुबै धर्मालम्बी सराबरी रहेको यहां नेपाली, हिन्दू र अवधि भाषा बोलिन्छ । भनिन्छ बेगम हजरत महलको बिद्रोह असफल भएपछि उनीसहित राणा बेनीमाधवको टोली नेपालगन्ज हुंदै काठमाडौंसम्म पुगेका थिए । नवाब वाजेद अलि शाहका महारानी हजरत महलको टोलीलाई लखेट्दै अंग्रेज सेनापति लर्ड क्लाईडका सैनिकहरु नेपालगन्जसम्म आई पुगेका थिए । आफ्नो पिछा भएको चाल पाए पछि हजरत महलको टोली राप्ती नदी तरेर नेपाल राज्य प्रवेश गरेका थिए ।
यो शहर नेपालगन्ज । जसको आफ्नो कुनै जातीयता छैन, किनकि यस शहरको परिकल्पना नै विजातीय थियो । विजातीय शब्दको मोहमा यो गन्ज भयो । यसलाई बसाउन विदेशीहरुलाई स्वार्थको लोभ देखाएर ल्याइयो । अपराधी मनोवृत्तिका मानिसहरु पनि ल्याईए । अनि जो पनि आए जागिर लिएर आए र आफ्नो सन्तानका निम्ति जग्गा जमिन र सम्पत्ति जोर्न आए । विदेशी नागरिकहरु रोजगारका निम्ति आए । जो पनि आए प्रवासी मनस्थिति लिएर आए । तर यस शहरलाई आफ्नो ठानेर यस शहरप्रति माया लिएर कोही पनि आएनन् । त्यसैले यो शहरले कुनै निजत्व पाउन सकेन । यस सहरको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको चेतना यस शहरले पाउन सकेन । अंग्रेजले फर्काएर नयाँ मुलुक बनेको नेपालगन्ज आफ्नो इतिहास हेर्दै सरकारको सकारात्मक निर्णय पर्खेर बसेको छ ।
सन्दर्भ स्रोत : नेपालको इतिहास
शिक्षक तथा साहित्यकार सचितानन्द चौबे
प्राज्ञ तथा कथाकार सनत रेग्मी
अग्रज ब्यवसायी सतिसचन्द्र अग्रवाल
पत्रकार सुरेन्द्र काफ्ले
प्रतिक्रिया