२ माघ २०८१, बुधबार | January 15, 2025

बालुवाटारमा असारे हिलो छ्याप्दै माक्र्सवादकै उपहास गर्दैछन् नेकपाका जन्तरे एलिटहरु



निकै दिनदेखि बैठकको कसरत भैरहेको थियो । असार ९ गतेमात्रै दुई जना अध्यक्षबीच छलफलको कार्यसूचिको बारेमा सहमति भयो ।
लामो प्रतिक्षापछि असार १० गते नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक बस्यो । शहीदप्रति श्रद्धान्जलीपछि दुवै अध्यक्षले पालैपालो धारणा राखे । प्रचण्डले सरकारका कामको कटाक्ष गरे ।

प्रधानमन्त्री आलोपालो गर्ने सहमतिको अडान छोडेर गल्ती गरेँ भन्दै आत्मालोचना गरे । प्रधानमन्त्रीबाट हट भन्दै प्रचण्ड र वामदेव बालुवाटार पुगेका थिए डेढमहिना अगाडि र माधव नेपाल समेतको गुट गठबन्धनले संसदीय दलमा अल्पमतमा पारेर पार्टी र दल नेताबाट हटाउने पक्षमा थियो । त्यसका लागि हस्ताक्षर अभियान पनि चल्यो । तर, पछि वामदेव पछि हटे । भने दीनानाथ शर्मा लेखराज भट्टहरु समेतका नेताहरुको पहल र प्रयत्नले पार्टीलाई फूटबाट जोगाउन सफल भयो । त्यो चोट दुवै अध्यक्षको मनमा अझै खाटा बसेको छैन होला । बैठकको पहिलो दिन एकले अर्कोलाई सके जति घोचपेच गरे ।

स्थायी कमिटीभित्र गठबन्धनको बहुमत छ । ओली एक्लै छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा भएकाले पार्टी संरचनामा ओली सहमत छैनन् । गुटभेला र गुट गठबन्धनबाट आएको प्रस्ताव वा भनाइप्रति ओलीको आपत्ति हुनेगरेको छ । सरकारको सहयोग गरे भन्ने ओलीको आरोप छ । कोरोनाको बेला पार्टी कहाँ थियो भन्ने ओलीले प्रश्न राखे । प्रचण्डले पार्टीलाई सोधनपुछनी भएन भन्ने कुरा राखे । तर, ओली स्वयंले पनि मदन भण्डारी फाउन्डेसनको नाममा समानान्तर पार्टी चलाइरहेका छन् ।

पहिलो दिनको बैठकमा न त भावी कार्यदिशाको कुरा भयो, न त वैचारिक बहस नै । न त देशको आर्थिक संकटको कुरा भयो । दुवै अध्यक्षको घोचपेच सुने सदस्यहरुले । विषय केन्द्रित भएकै थिएन बहस । अन्तमा कार्यसूचिलाई अन्तिम रुप दिने कायम भयो राष्ट्रियता, सीमा विवाद, कोरोना महामारी रोकथाम उपचार, पार्टी कामको समीक्षा, सरकारको काम, एमसीसी, विविध लगायत तय गरेर । र, १२ गतेसम्मका लागि स्थगित गरियो ।

असार १२, बालुवाटारमा बिहान ११ बजेपछि बैठक बस्यो । कुनै व्यापारीले सडकमा विक्रि गर्दै गरेको ‘कोरोना भगाउँ जन्तर’ भिरेर स्थायी कमिटी सदस्यहरु बैठकमा प्रवेश गरे । चीनमा बनेको जन्तर लगाएपछि कोरोनाले छुन सक्दै भन्ने विश्वासमा जन्तर लगाएको मानियो । यो सामान्य मानिसको अन्धविश्वास मात्रै होइन, कुनै प्रयोगशालामा परीक्षण गरेर नबनेको र भनाइको भरमा गलामा झुण्डयाएर कम्युनिष्ट पार्टीका एलिटहरु बस्नु महाअन्धविश्वास थियो । कुनै यौटा कम्पनीको बजार व्यपस्थापक बनेर नेकपा एलिटहरू निस्किए ।

विज्ञानमा विश्वास गर्ने कम्युनिष्ट पार्टीका सर्वोच्च नेताहरु जन्तर लगाउने ठाउँमा पुगे । माक्र्सवादको वैज्ञानिक प्रयोगको उपहास यो भन्दा बढी के हुन सक्छ ? अशिक्षित सर्वसाधारण जनताले भूत, प्रेत झाँक्री बोक्सी र जन्तरमन्तरमा विश्वास गर्दै आएको छन् । तर, यी तथाकथित उन्नत प्राणीले गलामा कोरोना जन्तर भिरेर विचारको हैसियत देखाए । अब, यो जन्तर भिराउने पार्टीका पाखण्डी नेताले समाजलाई अन्धविश्वासबाट मुक्त गर्लान भनेर कसरी विश्वास गर्ने ?

दोस्रो दिनको बैठकमा कुर्चीको विषयमा पनि निकै कचपच भएको कुरा सार्वजनिक भयो । सबैका आँखा कुर्चीमा पुगेछ । एकजनाले अध्यक्षद्वयलाई अलग्गै प्रकारको कुर्ची किन भन्ने प्रश्न गरेछन् । लामो समय त्यसैमा गलफत्ती भएपछि दुवै अध्यक्षका कुर्ची हटाएपछि बल्ल बराबर भइयो भनेर मुस्कुराएछन् सामान्य कुर्चीमा बस्ने सबै नेताहरु ।

अहिले नेकपाभित्र त्यही कुर्चीका लागि भीषण संघर्ष चलिरहेको छ । माधव नेपाल प्रचण्डसँग मिलेर ओलीलाई अपदस्त गर्ने र प्रचण्डलाई अध्यक्षको घाँडो भिराउने दाउमा छन् । स्थायी कमिटीमा भएका मन्त्रीहरु सरकारको वचाउमा छन् । बाहिर परेकाहरु सरकारको कमजोरीलाई पक्डिँदै सरकार परिवर्तन गरेर मालदार मन्त्रालय पड्काउने दाउमा छन् ।

पार्टी भित्रको यही दाउपेचले गर्दा पार्टी र सरकारबीच तिब्र अन्तरविरोध पैदा भएको छ । नेकपा पार्टी अस्तव्यस्त अलपत्र छ । प्रचण्ड, माधव, झलनाथ, वामदेव र नारायणकाजीको बैशाखी टेकेर शक्ति आर्जन गर्न पटकपटक गुट भेला गर्दैआएका छन् । ओलीले पनि आफ्नो गुटलाई सक्रिय बनाएर प्रतिवाद गरिरहेका छन् ।

नेकपाका नेताहरु आत्मसमीक्षा गर्न कोही चाहँदैनन् । असारको आत्तुरीमा बालुवाटारभित्र बसेर हिलो छ्यापाछाप गर्दा मज्जा आइरहेको छ । आलोचना सहन गर्न नसक्ने भएपछि अध्यक्ष ओलीले बैठकमै देखा पर्दैनन् । ‘मर्ना है तो डर्ना क्या’ , सबै मिलेर गलहत्याउने षड्यन्त्रमा लाग्छन् भने किन छाड्नु पर्यो भन्नेमा छन् उनी । व्यापक आलोचना बढेपछि तेस्रो दिनको बैठकमा अध्यक्ष ओली उपस्थित भए ।

पार्टी एकताका हस्ताक्षरकर्ता दुई अध्यक्ष दुई ध्रुवमा उभिँदै जाँदा पार्टी एकता भाँडिने र अन्तमा विभाजन हुने खतरा बढेर गएको छ । तल कार्यकर्ता र जनता मिलेर पार्टी चलाउन भन्छन् । तर माथि सत्ता स्वार्थ चरमोत्कर्षमा पुगेको छ । अध्यक्षद्वयबीच अविश्वासको चर्को खाडल छ । आपसमा बसेर पटकपटक सहमतिका लागि प्रयत्न नभएको होइन । तर, फेरि पनि, कुराकानीको प्रत्येक लवज र आशयमा अविश्वास र षड्यन्त्र देख्छन् ।

दुबैको बीच फाटेको मनलाई मिलाउने भरपर्दो रसायन छैन । दुवैले आफुलाई सर्वश्रेष्ठ ठान्छन् । रसायनको खोजी गर्ने रुची पनि छन् । गुट स्वार्थमा नलागेकाहरुमा नेताको विश्वास छैन । गुट भन्दा माथि भएर पार्टीको हित सोच्ने परिपक्क नेताको पार्टीमा खाँचो छैन । गुट स्वार्थमा नलागेकाहरुमा नेताको विश्वास छैन ।

सरकार दुई तिहाई नजिकको छ । प्रतिपक्ष सरकारको कामलाई दुई तिहाईको दम्भ भनेर खिल्ली उडाउँछ । पार्टी भित्रका वितण्डतावादी मन पार्टी फोडेर काँग्रेससित गठबन्धन गरेर देखाइदिने दाउमा छन् । भारत सरकार ओलीसित रुष्ट छ । भारतीय मिडियाले प्रचण्डको प्रचार थालेका छन् । सरकारले उत्तरी छिमेकीको विश्वास जित्न सकेको छैन । पश्चिमाहरु एमसीसीलाई हेरेका छन् । नेपालमा कम्युनिष्टको बलियो सरकार भएको फूटेको आँखाले देख्न चाहेका छैनन् । सरकार र पार्टीको लथालिङ्ग चाल देखेर नेकपाका दुश्मनहरु सायद भित्रभित्रै मुस्कुराइरहेका छन् ।

देश कोभिड–१९ को महामारीबाट अक्रान्त छ । यति नै बेला भारतले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा समेटेर नक्शा सार्वजनिक मात्रै गरेर बाटो समेतको उद्घाटन गरेर नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सावैभौमिकतामाथि नांगो अतिक्रमण गरेको छ । यद्यपी, केही स्थायी कमिटी सदस्यहरुले सीमा सम्बन्धी विषयलाई अन्तराष्ट्रिय करण गर्न माग गरे ।

अर्कोतिर वैश्विक महामारीका कारण विश्वमा भएको आर्थिक मन्दी र बढ्दो बेरोजगारीका कारण विश्व श्रमबजारमा छरिएको युवा शक्ति देशभित्र फर्किँदैछ । आर्थिक मन्दी र रोजगारीबाट उत्पन्न समस्या थपिँदैछ ।

देशको यसप्रकारको संकटग्रस्त हुँदै गरेको स्थितिमा नेकपाका नेताहरुको सर्वोच्च बैठकले राष्ट्रिय संकट समाधान गर्ने बाटोको पहिचान गर्न संकेन्द्रित भएर वैचारिक छलफल र ठोस वैज्ञानिक निस्कर्ष निकाल्नुपर्ने हो । तर बैठकमा पेश भएका कार्यसूचि हेर्दा बैठक एउटाले अर्कोलाई खुइल्याउने र निस्कर्षहीन त हुने होइन भन्ने शंका बढ्दो छ ।

इतिहासले पुष्टि गरेको छ, जनताले क्रान्ति गर्छन् प्रतिक्रान्तिको बहाक नेतृत्व बन्ने गरेको छ । पार्टी एकता सुदृढ गरेर राष्ट्रिय संकट समाधान दिन सकेन भने बालुवाटारको हिलो छ्यापाछापबाटै विखण्डन र विसर्जनको सुरुवात हुनेछ । विगत केन्द्रीय कमिटी बैठकले पार्टीभित्र गुटवन्दी समस्या प्रमुख हो भन्ने कुरा पहिचान गरिसकेपछि पनि फेरि त्यही खेलोफड्को गरेर शिर्ष नेता रमाउँदै आएको दृश्यले नेकपाको भविष्यलाई राम्रो देखाएको छैन । गुट संकीर्णताबाट नेताहरु माथि उठ्ने आँट गर्न सके मात्र नेकपाका लागि चमत्कार हुनसक्छ । अन्यथा …

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ५४ बजे

सत्तरी वर्षमाथिका खोटाङका पत्रकारलाई पेन्सनको व्यवस्था हुँदै

खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको

संसदको नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । संघीय संसदमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

लमजुङमा बढ्यो धान उत्पादन

लमजुङ । लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल