काठमाडौं । भारतले नेपाललाई नयाँ ढंगको आर्थिक चेपुवामा पार्ने दाउ खोजिरहेको छ ।
नेपालको सीमा अतिक्रमण गरेर उल्टै नेपाललाई धम्क्याइरहेको भारतले नेपाललाई नयाँ ढंगले आर्थिक चोट पुर्याउन खोजेको हो ।
भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर जारी गरिएको नयाँ नयाँ नक्शालाई संवैधानिक वैधता दिन संविधान संशोधन गरेपछि भाउन्निएको भारतले भारुको विनिमय दरलाई नियन्त्रण गरेर नेपालमाथि चोट पुर्याउने सोच बनाएको हो । नेपालले संविधान संशोधन गर्ने वित्तिकै भारतीय विश्लेषकहरुले नेपालमाथि दबाब थोपर्न भारुको विनिमय दरलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिएका थिए ।
२०७२ सालमा नयाँ संविधान जारी भएलगत्तै भारतले आफुले भनेको निर्देशन नेपाली नेताहरुले नमानेको निहुँमा नेपालमाथि अमानवीय नाकावन्दी थोपरेको थियो । भारतले यसपटक सीधै नाकावन्दी नलगाए पनि नेपालमाथि आर्थिक दबाब दिने रणनीति अख्तियार गर्न लागेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध विग्रने अवस्था आएमा नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने टिप्पणि गरेका छन् । पूर्व अर्थमन्त्री पाण्डे भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र त्यो परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने जिकिर गछ्र्रन् ।
भारतले विनिमय दर परिवर्तन गरे नेपालको रुपैयाँ अवमुल्यन हुन सक्ने र यसले कोभिड–१९बाट परेको अर्थतन्त्रलाई थप कमजोर बनाउन सक्ने टिप्पणी गरेका छन् । सन् १९९३ यता एक रुपैयाँको एकरुपैयाँ साठी पैसाको कन्भर्सन रेट तय भएको थियो । त्यसयता कुनै परिवर्तन भएको छैन ।
पाण्डे भन्छन्, ‘कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६० मा जुन कारोबार गर्न दिएका छौं यो एकप्रकारले प्रिभिलेज दिएको हो अव यो गर्नु जरुरी छैन हामी यो चेन्ज गर्नुपर्छ भन्ने एउटा धारणा यसमा देखिन्छ । पेक्ड होइन अव भारुसँग अनपेक्ड गर्नुपर्छ र त्यो अनपेक्ड हुने वित्तिकै डलरसँग हाम्रो पैसा पनि कमजोर हुन्छ । त्यसैले अहिले हाम्रो करेन्सीले दुवैतर्फ हिट गर्छ ।’
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढी हुने र डलर बलियो हुँदा नेपाली रुपैयाँ थप कमजोर हुनसक्ने पनि पूर्वअर्थमन्त्री पाण्डेले बताएका छन् । उनी भन्छन्, ‘हाम्रो पैसा कमजोर हुने अर्कोपनि कारण छ । ग्लोबल क्राइसिसको कारणले के हुन्छ भने धेरैजसो देशहरुले अमेरिकाको डलर बन्ड किनिरहेको हुन्छ । जापान सबैभन्दा धेरै किनेको छ दोस्रोमा चाइना छ अरु धेरै देशहरु पनि छन् । हाम्रै पनि छ पौने १२ खर्बको हाम्रो फरेन करेन्सी रिजर्भ छ त्यसलाई हामी डलरमा किन्छौं । त्यसैले अव डलरको डिमान्ड बढेर जान्छ क्यास डिमान्ड सबै इकोनोमिलाई पैसा चाहिएको छ । त्यो क्यास माग्ने वित्तिकै सबै डलरको पेमेन्ट उसले गर्न सक्दैन् । नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र लोकल करेन्सीहरु हरेक देशका करेन्सीहरु तल जन्छन । त्यसले अटोमेटिकल्ली इन्फ्ल्लेक्सनमा हिट गर्छ हाम्रो पैैसा कमजोर हुन्छ ।’
पाण्डेले कुनैपनि बेला भारतले नेपाललाई अप्ठेरोमा पार्ने गरी कुनैपनि स्टेप चाल्न सक्नेभन्दै अर्थमन्त्रालयका अधिकारीहलाई गम्भीर बन्न सचेत बनाएका छन् । अहिले पनि काकडभिट्टा नाकाबाट नेपालमा आयात गर्न छुट भएको तर नेपालबाट निर्यात गर्न बन्देज लगाएको स्थिति रहेकोले अहिले नै भारतले त्यसतर्फ कदम चाल्न सक्ने अनुमान गर्न सकिने उनी जिकिर गर्छन् ।
यस्तै, पूर्व अर्थमन्त्री एवं काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले पनि भारतसँग सम्बन्ध विग्रदै जाने र भारतले आपूर्ति नगरेमा देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने र समग्र आपूर्ति चेन नै विग्रन सक्ने खतरा रहेको चेतावनी दिएका छन् ।
नेपालको भारतसँग हुने व्यापार भारतीय रुपैयामै हुनेगरेको छ । नेपालको ६५ प्रतिशत भन्दा बढी व्यापार घाटा पनि भारतसँगै रहेको छ ।
नेरु र भारुको मूल्य स्थिर राख्ने प्रणाली कायम छ। डलर लगायत अरु विदेशी मुद्रासँगको नेरुको विनिमय दर पनि भारुको ती मुद्रासँगको विनिमय दरबाटै निर्धारण हुनेगरेको छ । अर्थात, भारुको मूल्य अमेरिकी डलरसँग घटबढ भएसँगै त्यसी अनुपातमा नेरुको पनि घटबढ हुन्छ ।
सन् १९९३ यता भारु र नेरुको विनिमय दर परिवर्तन गरिएको छैन। तर, सन् १९६६, १९६७, १९७७ र १९८५ मा भारुको दाँजोमा नेरु सस्तो भएको थियो। सन् १९९१ र १९९३ मा भने महँगो भएको थियो।
हुन त नेपालकै कतिपय अर्थ विश्लेषकहरुले पनि यो विनियम दर परिवर्तन हुनुपर्ने आवाज उठाइरहेका छन् । तर, आवश्यक तयारी नगरी विनिमय दर परिवर्तन गर्दा त्यसले राष्ट्रलाई नै नोक्सानी पर्ने विश्लेषण समेत गरिएको छ । नेपाल तयार नभैसकेको अवस्थामा भारतले एकपक्षीय ढंगले विनियमय दर परिवर्तन गरे त्यसबाट नेपाललाई संकट पर्ने विश्लेषण भारतीय पक्षको रहेको छ ।
प्रतिक्रिया