बुटवल । गायक फत्तेमानले वर्षौ पहिले ‘मर्न बरु गारो हुन्न…’ भन्दै गीत गाएका थिए । मायाको लागि मर्ने कुरा थियो गीतमा ।
तर समय बित्दै जाँदा मर्न जति गारो अरु केहि नहुने अवस्था देखिएको छ । त्यसमा पनि कोरोनाका कारण मृत्यु भएपछि त मर्नेको अवस्था कन्तविजोग नै हुने भएको छ । झन मृत्यु भएकाको परिवारलाई त्यो भन्दा पीडा के पो होला र !
बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैनाका बाबुराम थापाको मृत्यु भयो । उनको मृत्यु भएको ८ दिन पछि मात्र दाहसंस्कार हुनसक्यो । कोरोनाको कारण मृत्यु भएको पुष्टि नभए पनि उनको शव छुन कोहि तयार भएनन् । आफन्त, छरछिमेकी त डरका कारण मानेनन् नै स्वास्थ्य निकायका कर्मचारीहरु समेत बिना पिपिई उनको शव छुन डराए । अन्तिममा पिपिई लगाएका स्वास्थ्य कर्मचारीहरुले उनको शवलाई दाहसंस्कार स्थल सम्म पु-याए ।
कोरोनाको त्रासले उनको रिपोर्ट नेगेटिभ आएको भनिएता पनि कसैले शव छुन तयार भएनन् । कोही अस्पतालको लापरवाही भन्दै पन्छिए, कोहि कोरोना नै हो भनि डराए । प्रहरीको घेरामा उनको विसर्जन भयो । उनको मृत्यु धेरैलाई गारो भयो र शव नै नउठ्ने अवस्था सिर्जना भयो ।
अहिले फेरी बुटवलमा अर्का एकजनाको मृत्यु भयो । उनको मृत्यु कोरोनाको कारण भएको पुष्टि भएपछि उनले दाहसंस्कार गर्ने स्थान नै पाएनन् । बुटवल पेरिफेरिमा दाहसंस्कार गरिने मगरघाटका स्थानीयले उनलाई घाटमा जलाउन दिएनन् । अघिल्लो दिनको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको घोषणा गरिएका उनको शव भोलिपल्ट अपरान्ह पौने २ बजे सव व्यवस्थापन कार्यबिधी अनुसार व्यवस्थापन गर्ने गरी नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अस्पतालबाट शव त निकाल्यो तर कहाँ व्यवस्थापन गर्ने भन्ने अन्यौलता भने कायम नै रहेको देखियो ।
मृतकको शव कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा समेत विवाद बढदा केहि समय अन्यौलता बढेको थियो । परिवारको असहमतिका बीच उठाईएको उक्त शव पारिवारिक र धार्मिक परम्परा अनुसार जलाउनु पर्ने भएपनि त्यस विपरित एउटा सामुदायिक वनमा लगेर प्रशासनले गाड्यो ।
मृतकको शव तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा व्यवस्थापन गर्ने प्रशासनको प्रयत्नमा स्थानीयले असहमति जनाएका कारण सम्भव भएन । तिलोत्तमा कै वडा नं १४ अमुवा पुल नजिक ब्यवस्थापन गर्ने प्रशासनको प्रयत्न पनि स्थानीयले असफल बनाईदिए । मृतकले त्यहाँ पनि दासंस्कार स्थल पाउन सकेनन् । त्यसपछि प्रशासनले सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्ययवस्थापन गर्ने प्रयत्न ग(यो, तर त्यहाँ पनि स्थानीयले अवरोध गरे पछि र अन्त्यमा प्रशासनले तिलोत्तमा नगरपालिका कै वडा १ मा रहेको शंंकरनगर सामुुदायिक वन क्षेत्रमा व्यवस्थापन गर्न बाध्य भयो ।
कोरोना संक्रमित हुनु उनको रहर थिएन । बमबहादुर कुंवरलाई कसैले जानेर नै कोरोना सारिदिएको पनि होईन । नियतिले र केहि असावधानीका कारण उनी संक्रमित बने र अरु कुनै रोग उनीसँग भएपनि कोरोना रिपोर्ट पोजिटिभ आएपछि कानुन त उनी कोरोनाकै कारण मरे ।
विश्वमा हजारौंको संख्यामा मृत्यु भईरहेको छ । के उनीहरुको शवले पनि बाबुराम थापा र बमबहादुर कुँवरको सवले जस्तै दुःख पाएको होला ? विश्वमा नै करुणा र स्नेहमा उत्कृष्ठ मानिने नेपालीमा संवेदना हराएको हो ? के हामी त्यति धेरै स्वार्थी बनेका हौं ? के हामीमा मानवियता हराएको हो ? नेपालमा १ जना शंकास्पद र ३ जना कोरोनाका कारण मृत्यु हुँदा हाम्रा विषयमा धेरै प्रश्नहरु तेर्सिएका छन् ।
कोरोनाका कारण मृत्यु हुनेको शव उठाउने कार्यविधि बनाउने सरकारले दासंस्कार स्थलको पुर्व अभ्यास किन गर्न सकेन ? सार्वजानिक दाहसंस्कार स्थलमा अन्त्यस्टि गर्दा रोग नफैलने कुरा राज्यले किन बुझाउन सकेन ? सव व्यवस्थापनको कार्यविधि बनाउने सरकारले कार्यविधिको कार्यान्वयन गर्न किन सकेन ? त्यसभन्दा पनि मुख्य कुरा के कोरोना तपाई हामीलाई लाग्न सक्दैन ? हामी र हाम्रो परिवारको सदस्यलाई कोरोना लाग्यो र मृत्यु भयो भने सबै यसरी नै छिमेकी निर्दयी र मानवताहीन बनिदिनुपर्ने हो ? यी सबैको उत्तर हामीले खोजेनौं भने हामी जीवहरुमा उत्कृष्ठ जीव मानव भएको अर्थ हुने छैन ।
प्रतिक्रिया