१ बैशाख २०८२, सोमबार | April 15, 2025

बजेट विनियोजनसँगै नवौँ राष्ट्रिय खेलकूद सञ्चालन हुने आशा



सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण एवं व्यवस्थापनका लागि रकम विनियोजन गरिएको उल्लेख छ ।

सरकारले आगामी फागुनमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिसकेको छ । यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रिय खेलकूदका सम्वन्धमा केही पनि उल्लेख नहुँदा प्रतियोगिता बारेमा अन्योलता छाएको थियो । खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिताका बारेमा सरकारको वार्षिक कार्यक्रममा नआउँदा खेल सङ्घ तथा खेलकर्मीले निराशा व्यक्त गरेका थिए ।

कोभिड–१९ को सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले हाल खेलकूदका सम्पूर्ण प्रतियोगिता तथा खेल पूर्वाधार निर्माण कार्य प्रभावित भएको र सरकारले समेत कार्यक्रममा यसका बारेमा केही उल्लेख नगर्दा प्रतियोगिताका सम्बन्धमा रहेको दुविधा हाललाई अन्त्य भएको छ ।

बजेट कार्यक्रममा समावेश भएपछि प्रतियोगिता सञ्चालन हुनेमा खेलकर्मी आशावादी छन् । यद्यपी कोभिड–१९ को प्रभाव लामो समयसम्म रहेको अवस्थामा भने प्रतियोगिता तोकिएको मितिमा सम्पन्न हुने अवस्था भने देखिँदैन ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले राष्ट्रिय खेलकूदका लागि बजेट विनियोजनसँगै यस वर्ष प्रतियोगिता नहुने हो की भन्ने आशङ्का हटेको बताउनुभयो । खेलकूदमा आगामी वर्षका लागि विनियोजित बजेटबाट सन्तुष्ट हुने अवस्था नरहे पनि बजेट कार्यक्रमले प्रतियोगिताका सम्बन्धमा रहेको अन्योल भने हटाएको र कोभिड–१९ को अहिलेको सङ्कट अन्त्य भएको खण्डमा प्रतियोगिता सुनिश्चित गराएको बताउनुभयो ।

“नवौँ खेलकूदका सम्वन्धमा रहेको दुविधा र अन्योलता बजेटपछि हटेको छ, गण्डकी प्रदेश सरकारबाट समेत प्रतियोगिताका लागि बजेट विनियोजनको प्रतिबद्धता प्राप्त भएको छ, पोखरामा दोस्रो पटक राष्ट्रिय खेलकूद भव्यरुपमा सम्पन्न गर्न अहिलेबाट नै लाग्नु आवश्यक छ”, राखेप सदस्य गुरुङले भन्नुभयो । प्रदेश सरकारबाट राष्ट्रिय खेलकूदका लागि आगामी वर्ष रु पाँच करोड बजेट विनियोजन गर्ने प्रतिबद्धता प्राप्त भएको गुरुङले जानकारी दिनुभयो ।

नवौँ खेलकूदका लागि गण्डकी प्रदेशमा अधिकांश खेल पूर्वाधार भने तयारी अवस्थामा छन् । केही पूर्वाधार निर्माणको चरणमा रहेकामा केहीको निर्माण प्रक्रिया शुरु गरिने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । प्रतियोगिताका लागि स्वीमिङ पुल ९पौडी पोखरी०, सुटिङ रेञ्ज र हक्कीको पूर्वाधार छैन । त्यसैगरी बक्सिङका लागिसमेत संरचना तयार गर्नुपर्ने छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका निर्वतमान अध्यक्ष सम्पन्न श्रेष्ठले प्रतियोगिताका लागि बजेट विनियोजन गरिनु सकारात्मक भएको र अनेक आशङ्का अन्त्य भएको बताउनुभयो । कोभिड–१९ को अहिलेको विषम अवस्थामा समेत आवश्यक सुरक्षा उपाय अवलवम्न गरी समयै बाँकी खेलका पूर्वाधारसमेत निर्माण थालनी गर्नुपर्नेमा उहाँको जोड छ ।

राष्ट्रिय खेलकूदका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले सरकारसँग खेल पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि रु ४३ करोड ७० लाख बजेट माग गरेको छ । समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले गत वैशाखमा प्रतियोगिताका लागि युवा तथा खेलकूद मन्त्रालयसँग सो रकम माग गरिएको जानकारी दिनुभयो । गण्डकीका ११ वटै जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने योजना समितिको छ ।

गत वर्ष वैशाखमा प्रदेश नं ५ का बाँके लगायतका जिल्लामा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदपछि नवौँको जिम्मा गण्डकी प्रदेशले पाएको थियो । प्रतियोगिता समापनका अवसरमा आगामी संस्करण आयोजनाको झण्डा बोकेर गण्डकीको टोली पोखरा आएको थियो ।

नेपाली खेलकूदको कुम्भ मेला राष्ट्रिय खेलकूद सरकारले हरेक दुई/दुई वर्षमा आयोजना गर्दछ । विसं २०३८ बाट यसको शुरुआत भएको हो । शुरुआती तीन संस्करण नियमित भएकामा त्यसपछि भने केही अन्तरालमा प्रतियोगिता हुँदै आएका छन् । विसं २०३८ मा काठमाडौँ र दोस्रो संस्करण २०४० मा पोखरामा भएको थियो । विसं २०४२ मा तेस्रो संस्करण वीरगञ्ज तथा चौथो संस्करण नेपालगञ्जमा भएको हो ।

पाँचौँ विसं २०६५ मा काठमाडौँ, छैटौँ विसं २०६८ मा धनगढी तथा सातौँ र आठौँ क्रमशः विसं २०७३ मा विराटनगर तथा विसं २०७५ मा नेपालगञ्जमा सम्पन्न भएको थियो । शुरुआतका तीन संस्करणमा १४ अञ्चलको सहभागिता रहेको थियो प्रतियोगितामा चौथो संस्करणबाट पाँच विकास क्षेत्र तथा विभागीय टोली तथा आठौँदेखि सात प्रदेश, विभागीय टोली र एनआरएनको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ६ : ४२ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु