एजेन्सी । कोरोना भाइरसको संक्रमणसँगै विभिन्न विषयमा अध्ययन अनुसन्धान चलिरहेको छ । सन् २०१९ को डिसेम्बरदेखि संसारभर चर्चाको शिखरमा रहेको कोरोना भाइरसका विषयमा बिबिसी विश्वसेवाका लागि स्वाथ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहरले विशेष सामाग्री तयार पारेका छन् ।
कोरोना भाइरसका विषयमा विभिन्न चर्चा परिचर्चा भए पनि यसका विषयमा वैज्ञानिकहरुले पनि धेरै कुरा बुझ्न बाँकी नै छ । अहिलेसम्मका अध्ययनका आधारमा पनि हामीले धेरै कुराहरु बुझ्न बाँकी नै छ ।
सबै मानिस बिरामी पर्दैनन् ?
संसारभर लाखौँ मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन। त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन् ।
मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ । त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ ।
यो कति घातक छ ?
कति मानिसलाई सङ्क्रमण भएको छ भन्ने तथ्य थाहा नभइकन मृत्युदर थाहा हुन सक्दैन । अहिलेसम्म विश्वमा सङ्क्रण भएका झन्डै एक प्रतिशत मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।
तर यदि लक्षणै नदेखिएका सङ्क्रमितहरूको सङ्ख्या धेरै छ भने मृत्युदर अझै बढी हुन सक्छ ।
कोरोना भाइरसका लक्षणहरू
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमणका मुख्य लक्षण हुन् । तपाईँ यी लक्षणबारे सतर्क हुनुपर्छ ।
केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ । केही बिरामीमा सुँघ्ने क्षमतामा कमी आएको पनि पाइएको छ ।
विभिन्न अध्ययनले देखाए अनुसार केही मानिसहरूलाई सङ्क्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन । उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ ।
भाइरस फैलाउनमा बालबालिकाको भूमिका
केटाकेटीहरूले पक्कै पनि भाइरस समात्न सक्छन् र उनीहरुले अरू व्यक्तिमा सार्न सक्छन् ।
धेरैजसो बालबालिकामा सामान्य लक्षण देखिन्छ । अन्य उमेर समूहका मानिसको भन्दा बच्चाहरूको मृत्युदर निकै कम रहेको छ ।
प्रायस् खेलमैदानमा रमाउने बच्चाहरू स्वभावैले धेरै मानिससँग घुलमिल गर्छन् । उनीहरूले यो भाइरस निकै छिटोछिटो धेरै मानिसमा फैलाउन सक्छन् ।
यो भाइरस कहाँबाट आयो ?
यो भाइरस सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक देखिएको थियो । त्यहाँ पशुपंक्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको थियो ।
कोरोना भाइरस के हो ?
औपचारिक रूपमा कोभिड-१९ नाम दिइएको कोरोना भाइरस चमेराहरूलाई सङ्क्रमित तुल्याउने भाइरससँग मिल्दो जुल्दो छ । त्यो भाइरस चमेराबाट कुनै अज्ञात जनावरमा सर्दै मानिसमा सरेको विश्वास गरिएको छ ।
त्यो अज्ञात जनावर प्रष्ट भइसकेको छैन । त्यो थप सङ्क्रमणको कारक पनि बन्न सक्छ । यस बारेमा अनुसन्धान चलिरहेको छ ।
के गर्मी याममा सङ्क्रमण कम होला ?
फ्लू वा रुघाजस्ता रोग गर्मी महिनामा भन्दा जाडो महिनामा बढी हुने गर्छन् । तर न्यानो हावापानीमा यो भाइरस फैलिने क्रममा कमी आउँछ कि आउँदैन भन्ने अझै प्रष्ट भइसकेको छैन ।
ब्रिटेन सरकारका विज्ञान सल्लाहकारहरूले कोरोनाभाइरस सङ्क्रमणमा मौसमी प्रभाव हुन्छ कि हुँदैन भन्नेबारे प्रष्ट नभइसकेको चेतावनी दिएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको दर गर्मी महिनामा कम भएमा फेरि जाडो महिनामा त्यो फैलिने क्रम बढ्न सक्छ। त्यतिबेला अस्पतालहरूलाई बिरामीको चाप धान्न मुस्किल हुनेछ ।
केही मानिसमा किन गम्भीर लक्षण देखिन्छन् ?
धेरै मानिसमा कोभिड १९ का सामान्य लक्षण मात्रै देखिन्छन् । तर झन्डै २० प्रतिशतमा गम्भीर लक्षण देखिन्छन् । किन होला ?
मानिसको प्रतिरक्षा प्रणालीको अवस्थाले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । केही कुरा व्यक्तिको आनुवंशिक गुण र विशेषतामा पनि भर पर्न सक्छ ।
त्यसबारे जति धेरै ज्ञान प्राप्त हुन सक्छ त्यसले सघन उपचार गर्नु पर्ने बिरामीको सङ्ख्या घटाउन त्यति नै ठूलो सहयोग पुर्याउन सक्छ ।
मानिसको प्रतिरक्षा क्षमता कति समयसम्म रहला ?
कोरोना भाइरससँग सङ्घर्ष गर्न सक्ने मानिसको प्रतिरक्षा क्षमताबारे धेरै अनुमान गरिएको छ । तर त्यसतो क्षमता कति समयसम्म रहला भन्ने बारे निकै थोरै प्रमाणहरू उपलब्ध छन् ।
कुनै बिरामीको शरीरले कोरोना भाइरससँग राम्ररी सङ्घर्ष गरेको छ भने उसको प्रतिरक्षा प्रणालीलाई राम्रै मान्नुपर्छ । तर यो रोग केही महिनाअघि मात्र देखा परेकोले यसबारे पर्याप्त तथ्याङ्क उपलब्ध छैन ।
कुनै बिरामीमा दोस्रो पटक पनि यो भाइरस देखिएको विषय सङ्क्रमण भए नभएको परीक्षण गर्ने विधि र पद्धतिको विश्वसनीयतासँग गाँसिएको हुन्छ । त्यो विधिले कहिलेकाहीँ सही परिणाम नदेखाएको पनि हुन सक्छ।
के भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ला ?
भाइरसहरू बारम्बार आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहन्छन्। तर उनीहरूको आनुवंशिक सङ्केतलाई चलाउँदा धेरै फरक पर्दैन ।
त्यसरी भाइरसहरूले आफ्नो स्वरूप फेर्ने क्रम जारी राख्दा उनीहरू लामो समयपछि कम घातक हुन्छन् भन्ने सामान्य नियम छ । तर त्यो निश्चित भने हुँदैन ।
यी भाइरसहरूले आफ्ना स्वरूप फेरे भने तिनलाई मानिसको प्रतिरक्षा प्रणालीले नचिन्न पनि सक्छ र कुनै भ्याक्सीन वा खोपको विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्छ ।
भाइरसले स्वरूपमा परिवर्तन गरेकै कारण फ्लू रोग नियन्त्रण गर्ने खोपले राम्रो काम नगरेका उदाहरणहरू प्रशस्त छन् । यो मानव समुदायका लागि ठूलो चिन्ताको विषय हो ।
बिबिसीबाट साभार
प्रतिक्रिया