८ मंसिर २०८१, शनिबार | November 23, 2024

समयलाई सम्बोधन गरिएका सबल निबन्ध – एक सम्बोधन समयमाथि



नेपाली निबन्धको उत्तरवर्ती समयमा लेखन आरम्भ गरेर प्रभावपूर्ण उपस्थिति मात्रै होइन स्थापित स्रष्टा हुन् दीनानाथ शर्मा (२००३) । उनले युवावस्थादेखि लेख्न सुरु गरे पनि उनको सर्जक व्यक्तित्वको सार्वजनिककरण भने २०६० को दशकमा भएको हो र त्यो निरवच्छिन्न मात्र होइन, उनको लेखनले तीव्र गति समातेको छ र बाह्र वर्षको कृति सार्वजनीकरणको यात्रामा उनको दसौँ कृतिका रूपमा ‘एक सम्बोधन समयमाथि’ निबन्धसङ्ग्रह आएको छ ।

दीनानाथ शर्मा राजनीतिक क्षेत्रका उच्च तहका नेता हुन् र उनको राजनीतिक व्यक्तित्वकै समानान्तर व्यक्तित्वको रूपमा साहित्यिक व्यक्तित्व पनि रहेको छ । उनी मूलतः निबन्धकार हुन् र त्यसपछि उनको कवि व्यक्तित्व देखापर्छ । ‘तरङ्ग’ (२०७०) र ‘समयका छालहरू’ (२०७६) कवितासङ्ग्रहका साथै उनका ‘जीवन यात्रा र जीवन’ (२०६६), ‘अक्षरको खेती’ (२०७१), ‘यात्रा र अनुभूति (२०७२), ‘हिम फुलेको रात’ (२०७२), ‘कुलुङ्गाकी आमा’ (२०७३), ‘बाह्रखरीको बोटमुनि’ (२०७४) र ‘झरीको सौन्दर्य (२०७६) पछि प्रस्तुत कृति ‘एक सम्बोधन समयमाथि’ निबन्धसङ्ग्रह प्रकाशित भएको छ । कृति प्रकाशन यात्राको यति छोटो अवधिमा राजनीतिक हुनु, निरन्तर साधनामा सक्रिय भई प्रतिष्ठित हुनु र स्थापित निबन्धकारका रूपमा नेपाली साहित्यमा पहिचान बनाउनु उनका प्राप्ति हुन् ।

दीनानाथ शर्मा आत्मपरक र कलात्मक निबन्ध लेखनका क्षेत्रमा मानक स्रष्टा बनेका छन् । अतीतप्रतिको गौरवबोध, प्रकृतिप्रतिको तीव्र अनुराग ग्राम्यताप्रतिको आकर्षण र सम्मोहन, आफ्नो राजनीतिक जीवनका भोगाइ, अनुभूति र राजनीतिक क्षेत्रमा देखिएका सङ्गतिहीनता, अक्षरप्रतिको शब्द प्रतिको गहिरो प्रेम, पहाडी जीवन, कृषिसंस्कृति, भविष्यवादी जीवनदृष्टि र पर्यावरणीय चेतना लगायतका विविध विशेषता उनका निबन्धमा प्राप्त गर्नसकिन्छ । यी र यस्तै अन्य प्रवृत्तिगत वैविध्य देखिए पनि उनका निबन्धको अन्तर्वस्तुगत केन्द्रीय प्रवृत्ति ग्राम्य प्रकृतिको अनुभूतिपरक चित्रण, जीवन चेतना र समयप्रतिको सम्बोधन हो ।

प्रस्तुत ‘एक सम्बोधन समयमाथि’ शीर्षकको सङ्ग्रहका केन्द्रीयतामा दीनानाथ शर्माका प्रमुख निबन्धगत प्रवृत्तिलाई सङ्क्षिप्त रुपमा यसप्रकार देखाइन्छ :

१) प्रकृतिप्रतिको तीव्र अनुराग, ग्राम्यसंस्कृतिप्रतिको तीव्र सम्मोहन, ग्राम्य कृषिजीवनका वैभवकोे महिमा गान र पर्यावरणीय चेतना ,
२) मान्छेभित्रका चेतन – अचेतनता, अस्तित्वबोध, आत्मचेतनता, आत्मप्रकटीकरण र वैयक्तिक तथा सामाजिक राजनीतिक जीवनका भोगाइ र अनुभूतिको निश्छल प्रकटीकरण
३) समयबोध, समाजबोध, परिवर्तित राजनीतिक तथा समसामयिक सन्दर्भका साथै राष्ट्रप्रेमको अभिव्यक्ति र देशप्रेम तथा मातृपे्रमका बीचको समीकरण,
४) मानवसभ्यता, विश्वचेतना, अतीतप्रतिको गौरवबोध र भविष्यदृष्टि तथा कतिपय निबन्धमा दार्शनिक चेतनाको समेत अभिव्यक्ति,
५) प्राकृतिक प्रकोपका दारुण अवस्था, प्रकृतिका सौम्य र रौद्र दुवै रूपावस्थाको चित्रणका साथै तज्जन्य अनुभूतिको अभिव्यक्ति
६) कोरोनाको सन्त्रास, त्यसले विश्वमानव समुदाय र नेपाली जीवन तथा समाजमा पारेको प्रतिकुल प्रभावको अभिव्यक्ति,
७) निजात्मकता, यात्रानुभूति र संसमरणात्मकता, निश्छल अभिव्यक्ति र आफूलाई प्रायः नढाँटीकन प्रस्तुत गर्ने शैली
८) सरल, प्रवाहमय र कलात्मक भाषाशैलकिा साथै काव्यिक शैलीको निर्माणद्वारा निबन्धलाई लालित्यमय बनाउने शैली,
९) अत्यन्त आलङ्कारिक भाषा, पदक्रम विचलनद्वारा सौन्दर्यको सृजना र सूक्तिमय वाक्यविन्यास आदि ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतम

निबन्धकार दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’ शीर्षकको प्रस्तुत निबन्धसङ्ग्रहभित्र विभिन्न विषय र भावभूमिका बीसवटा निबन्धहरू छन् र प्रत्येक निबन्धले पाठकलाई विशिष्ट सम्मोहन जगाउने सामथ्र्य राख्छन् । प्रत्येक निबन्धका अन्तर्वस्तुको अवलोकनबाट यो कुरा स्पष्ट हुन्छ । उनको ‘म अर्धपागल’ निबन्ध दार्शनिक चेतनाले युक्त छ । यो आत्मकेन्द्रित निबन्ध हो । आफूमा चेतनतत्व हराउन थालेको अचेतन पनि पूरै सक्रिय नभइसकेको आफूभित्रको इमान्दार अभिव्यक्ति यसमा प्रकट भएको छ । वास्तवमा पागलपन नभई मान्छेले आफूलाई चिन्दैन भन्ने यथार्थ उनले प्रकट गरेका छन् । वैयक्तिक जीवन होस् वा उनको राजनीतिक जीवन, आफूलाई यथार्थ रूपमा प्रकट गरेर सत्य ओकल्ने काम उनले गरेका छन् : ‘सडकमा बेफिक्री पल्टेर आकाशका तारा गन्ने र पोल्टाभरि टिपेर भित्र्याउने रहर अधुरै छ । जूनताराको कोसेली आमाको पोल्टामा राखिदिएर दुधको भारा कटाउने औधी रहर छ मेरो । निर्धक्क आमाको पाउ प्रक्षालन गरेर रातो टिकी लगाइदिन लजाउँदै छ मेरो परिवेश । छिमेकका दास हामी परिवेश र परिस्थितिका पीडक साँचो बोल्दैन सद्दे मान्छे ।‘ – (म अर्धपागल)

अन्तिम वाक्य ‘साँचो बोल्दैन सद्दे मान्छे ! यस छोटो वाक्यभित्र गहिरो भाव लुकेको छ । साँचो बोल्न मान्छेको अवचेतन नै सक्रिय हुनुपर्छ । आफूभित्रका अदम्य भावनात्मक इच्छाहरू उनका धेरै निबन्धमा व्यक्त भएको पाइन्छ । ‘मेरो अतीत’ मूलतः राजनीतिक परिवृत्तमा केन्द्रित निबन्ध हो । निबन्धकार शर्माका जीवनको ठूलो पाटो हो राजनीति ! यस निबन्धमा आफ्नो जीवनको राजनीतिक पाटो र अक्षर एवम् शब्दहरूसँगको प्रेम गहिरोसँग यसमा आएको छ । राजनीतिक जीवनमा दस वर्षसम्मको सशस्त्र युद्ध गर्दा उनले ‘जनयुद्धको सौन्दर्यानुभूति गर्नेमध्येको म पनि एउटा सक्रिय योद्धा हुँ‘ भनेका छन् तर उनले भनेको जनयुद्ध कहिल्यै सौन्दर्य हुनसकेन । यस सम्बन्धमा निबन्धकारको आत्मस्वीकृति यस्तो छ ।

‘हामी कुन आदर्शका लागि लडाइँमा होमिएका थियौँ र कसका लागि भनेर रगत पोखिएको थियो भन्ने कुरा स्थापित हुनसकेन । हाम्रो रगतपसिनाको कमाइ हो पछिल्लो परिवर्तन भन्ने कुरा भुलियो ।‘ – (मेरो अतीत)

राजनीतिमा अनेक गल्ती हुन्छन् जनचाहनालाई कुल्चने काम हुन्छ । नेताले अहङ्कार पाल्नुभन्दा आत्मस्वीकार गर्नु ठुलो कुरा हो । यहाँ निबन्धकार शर्माले नेता दीनानाथ शर्मालाई आत्मस्वीकार गर्न लगाएका छन् । राजनीतिक इतिहासको अतीत स्मरण र अक्षरसँगको प्रेमको अतीत स्मरणमा निबन्धकार शर्मा निर्धक्क पोखिएका छ्न । ‘आफूलाई आफैलाई खोज्दा’ निजात्मक अनुभूुतिको सबल निबन्ध हो । यसमा अएको अतीत सन्दर्भ बा–हजुरबाका प्रसङ्ग र आफ्नो राजनीतिक परिवेशलाई पनि उनले यस निबन्धमा व्यक्त गरेका छन् । यस निबन्धमा उनले आफूलाई नढाँटीकन प्रस्तुत गरेका छन् । ‘लालचीको संसार’ व्यङ्ग्यप्रधान निबन्ध हो । राजनीति, न्याय, प्रशासन आदि हरेक क्ष्ोत्रमा लोभीलालचीहरूको प्रवेश र साम्राज्य भएकाले सबैतिर ध्वस्त भएको यथार्थ यहाँ प्रस्तुत गरिएको छ । ‘न्याय खरिद बिक्रीको माल बन्न थालेछ लालचीको बजारमा‘ र ‘झन्डाको छहारीमुनि जथाभावी हुनथालेको छ हाकाहाकी‘ जस्ता वाक्यले यही कुरा सङ्केत गर्छन् । उनी आफैले परिवर्तनका लागि भनेर हिंसाको बाटो रोजे र हतियारलाई विचारको बाहक बनाए । त्यसको धेरै समयपछि बल्ल हिंसा, हतियार, रक्तपात हाम्रो देश सुहाउँदो होइन रहेछ भन्ने अनुभूति उनलाई भयो । यस कुरालाई उनले नढाँटी प्रस्तुत गरेका छन् :
‘हाम्रो सभ्यता शान्ति र अहिंसाको धरातलमा उभेको छ । हिंसा रुचाएन हाम्रो माटोले नीतिका कुरा गर्न छोडिएको छ । शास्त्र हराउँदै गएको छ । शास्त्रका पुस्तक बोक्ने हातले शस्त्र उठाउन थालेका छन् ।‘ – (लालचीको संसार)

यो लेखकीय आत्मस्वीकृति उनीभित्रको साँच्चै आदर्श मान्छे हो । ‘यायावरको अन्तर्कथा’ हेर्दा सामान्य जस्तो लाग्छ तर गहिरिएर पढ्दा प्रकृतिसँगको लेखकीय अनुराग यसमा छताछुल्ल भएको छ । धुलीखेलको रिसोर्टको छतमा बसेर प्रकृतिलाई नियाल्दा मनमा आएका अनेक भावतरङ्ग कल्पनाशील भएर अभिव्यक्त भएका छन् यस निबन्धमा । ‘कोरोनाको कहर’ वर्तमानमा विश्वले भोगेको भयानक त्रासदी हो । सामान्य असहज हुँदा पनि कोरोना नै हो कि भने मानसिक आशङ्का र सन्त्रास तथा यथार्थमा र समाचारहरूमा व्याप्त यसको अभिघातपरक अनुभूतिलाई निबन्धकारले यसमा राम्ररी देखाएका छन् ।

‘समयको महत्व’ समयलाई नै सम्बोधन गरेर लेखिएको निबन्ध हो । यसमा सभ्यताको उद्गमदेखि वर्तमानसम्मका गति, युगीन यथार्थ, आशावादी स्वर र समयले नै महान् व्यक्तिङ्खवहरू जन्माउँछ भन्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । ‘मेरी आमा मेरी धर्ती’ आमा र धर्तीका बीचमा समीकरण गरिएको निबन्ध हो । यसमा मातृसम्मान र देशप्रेमको गम्भीर भाव व्यक्त भएको छ भने पूर्वीय दार्शनिक भावविम्बहरू पनि यसमा आएका छन् । ‘माटो बसाउँछ मलाई । आमाको मीठो बास्ना नाकमा पर्छ जन्मघरतिर पुग्दा, शीलत हावाको स्पर्शले छुँदा शरीरमा आमाका नरम हातले सुमसुम्याएको अनुभूति हुन्छ’ भन्ने अभिव्यक्तिबाट नै मातृप्रेम र जन्मभूमिप्रतिको प्रेमको अभिव्यञ्जना प्रकट हुन्छ । ‘कोरोना समयको उपज हो’ निबन्धमा महामारी रोगका शृङ्खलाहरूका पृष्ठभूमिमा कोरोना सन्त्रास विश्वभरि फैलिएको र पृथ्वी एवम् प्रकृतिमाथि मानवीय अतिक्रमणका कारण पनि यस्ता प्रकोपहरू आउने गरेको यथार्थ यहाँ देखाइएको छ । झरी लेखकलाई सबैभन्दा बढी प्रिय लाग्ने प्रकृतिको वरदान हो भन्ने कुरा उनका कतिपय निबन्धले व्यक्त गर्छन् ।

‘साउने झरी’ निबन्धमा झरीको अनुपम प्राकृतिक सौन्दर्यबाट परेको प्रभाव, प्रकृतिप्रेम, सौन्दर्यानुराग, प्रकृतिको रौद्र र सौम्य रूप, लोकजीवन, कृषिजीवन आदिलाई कलात्मक रूपले देखाइएको छ यस निबन्धमा :
‘सुनसान रात र निरवच्छिन्न वर्षाको एकान्त मिलनको लुकामारीको साछी बनेर हेर्दै छु लुकीलुकी । यो प्रकृतिको आत्मिक मिलन । आकाश बर्सेको छ । धरती थापिएकी छन् । धरती र आकाशको सम्मिलन सबैले देख्न सक्दैनन् यो रातको सौन्दर्य । झरीका सौन्दर्यानुरागी साँच्चै संसारमा कति होलान् भनेर सौच्दै छु घोत्लिएर ।‘ – (साउने झरी)
प्रकृतिसँगको सन्निकटताका यस्ता वाक्यहरू, अनुच्छेदहरू सङ्ग्रहभरि प्रशस्त प्राप्त गर्न सकिन्छ । निबन्धकार शर्माका सौन्दर्यानुराग प्रकृत्यनुरागका यस्ता प्रसङ्गहरूले कुनै न कुनै रूपमा हरेक निबन्धमा व्याप्ति प्राप्त गरेका छन् । पर्यावरणीय चेतना दीनानाथ शर्माका निबन्धको अर्को विशेषता हो । ‘पृथ्वी सुस्ताएकी छन्’ निबन्ध यस दृष्टिले उल्लेखनीय छ । कोरोनाका कारण बन्दाबन्दी भई प्रदूषण हटेकाले काठमाडौँ स्वच्छ देखिएको र पृथ्वी रमणीय देखिएको कुरा प्रस्तुत गर्दै प्रकृति र पृथ्वीमाथि मान्छेले अतिक्रमण गर्दा भयावह स्थिति सृजना भएको कुरा पनि यहाँ प्रस्तुत गरिएको छ :
‘प्रकृतिको हुर्मतै लिएको रहेछ मानिसले । …………हिमाल, पहाड, वन, जङ्गल र समुद्र कुनै बाँकी राखेन उदास मानिसले । वन्यजन्तुको घरबासै उठिवास लाग्यो । ठूलाठूला जङ्गलमा आगजनी भयो । जङ्गली जनावर, कीटपतङ्ग र चराचुरुङ्गीका गुँड र वासस्थान नष्ट भए । समुद्र प्रदूषित भए । समुद्री जीवको उछितो काढियो । जलचरहरूका प्रजाति लोप हुनथाले । मानिसको दुष्ट स्वभावले प्रकृतिमाथि योभन्दा ठूलो अन्याय के गर्नुप-यो ?’– पृथ्वी सुस्ताएकी छिन्
यसबाट निबन्धकारले प्रकृति बचाऔँ र पृथ्वी बचाऔँ भन्ने सन्देश दिएका छन् र संसारमा यावत् किसिमका सङ्कटको कारण मान्छे हो भन्ने देखाएका छन् । ‘मेरो पाटी ः मेरो जीवन’ अक्षरारम्भ गर्ने काठको पाटीसँगको प्रेमको स्मृतिबिम्बमा लेखिएको निबन्ध हो । यसमा अक्षरप्रेम, शब्दप्रतिको अनुराग, काठको धुलौटे पाटीको बिम्बका माध्यमबाट आफ्नो अतीतको अक्षरयात्राको स्मृतिहरूलाई देखाइएको छ । यस सन्दर्भमा निबन्धकार शर्माले हाम्रा ऋषिमुनिहरूको स्मरण पनि गरेका छन् :
‘धुलौटो काठकै पाटी थियो । धुलौटी गनेर पुर्खाले नाङ्गो आँखाले नापेका थिए ग्रहको दुरी । जैमिनीसूत्र आदिग्रन्थ । जैमिनीले धुलौटो गनेर हिसाब निकाले थिए । त्यही धुलौटोमा मैले रोपेको थिए स्वर, व्यञ्जन र अङ्कहरू । मेरो पहिलो पाटीमा पहिलो अक्षर ‘अ’ रोपिएको थियो मेरो मन परेको अक्षर हो ‘अ’ । – (मेरो पाटी : मेरो जीवन)

आफूले धुलौटे पाटीमा कखरा सिक्दाका स्मृतिविम्बहरूलाई उनले ऋषिकुलका आर्य परम्परासँग जोडेर हेरेका छन् र नेता दीनानाथ शर्माभन्दा निबन्धकार दीनानाथ शर्मा पूर्वीय आर्यसभ्यताबाट प्रभावित देखिन्छन् । ‘अभिशप्त आमाहरू’ हाम्रो समाजमा अभिशप्त जीवन भोग्न विवश आमाहरूको व्यथाहरूको यथार्थ हो । बालविवाहका कारण सानैमा आमा बन्नुपर्ने नेपाली नारीहरूका नियति, तिनका दुःख र पीडाका अनेकौँँ चक्रव्यूह र प्रकृतिका रौद्ररूपसँग तिनका पीडाको समीकरण यस निबन्धमा देख्नसकिन्छ । आख्यानात्मक शैली यसको अर्को विशेषता हो । ‘बाली भित्र्याउँदाको दिन’ पहाडी जनजीवनको कृषिसंस्कृतिको जीवन्त विम्ब उतारिएको निबन्ध हो । आफ्नो पहिलो साहित्यिक कृति अर्थात् अक्षरको बाली भिœयाउँदाको खुसीलाई उनले कृषिकर्मसँग तुलना गरेका छन् । ‘भोलिको खोजी’ भविष्यदृष्टि खोजिएको सुन्दर निबन्ध हो । स्रष्टाले वर्तमान बोल्नुपर्छ, भविष्य बोल्नुपर्छ; त्यसैले स्रष्टालाई भविष्यदर्शी भनिएको हो । यस निबन्धमा त्यही भविष्यदृष्टिलाई देखाउँदै, विश्वमानवतावाद र सर्वे भवन्तु सुखिनको सन्देश दिँदै र मान्छेले आफूभित्रको शक्तिको पहिचान गर्नुपर्छ भन्दै हाम्रो आर्यसंस्कृतिप्रति गौरवबोध पनि गरिएको छ :

‘जुन धर्म, सभ्यता, संस्कृति र स्वार्थले हिंसामा विश्वास गर्छ, त्यसको विनाश निश्चित छ । त्यसको फैसला यही शताब्दीमा हुनेछ …. विश्वलाई कुटुम्ब मान्ने हाम्रो संस्कार र संस्कृति हो । वसुधैव कुटुम्बकम् भन्ने हाम्रो नीतिवचनको वैज्ञानिक सच्चाइको पुष्टि हुँदै छ । बाँडेर खाने; मिलेर बस्ने संस्कार र संस्कृति हो हाम्रो ।’–(भोलिको खोजी)

निबन्धकार दीनानाथ शर्माभित्रको राजनीतिक व्यक्तित्वले यसो भन्नसक्दैन । उनीभित्रको पवित्र स्रष्टा व्यक्तित्वले भनेको यो आवाज उनको आत्माको आवाज हो । ‘मन साखुम भएन’ पनि भविष्य दृष्टिकै र युगबोधी चेतनाको निबन्ध हो । राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नआएको र जतासुकै असङ्गति र विकृति मात्र देखिएकाले मन खुसी हुन नसकेको यथार्थ देखाउँदै भविष्यप्रतिको आशावादी जीवनदृष्टि यसमा प्रस्तुत गरिएको छ । ‘खडेरीको पीडा’ मा खडेरी पर्दाका दारुण अवस्था, त्यसबाट किसानलाई भएको पीडा र चिन्ता विषय बनेर आएका छन् । यहाँ किसानलाई प्रकृतिका उपासक मान्दै प्रकृतिबाट सभ्यताको आविर्भाव भएको कुरा देखाउँदै र प्रकृतिमाथि मान्छेको अतिक्रमण बन्द हुुनुपर्छ भन्दै भविष्यप्रतिको आशावादी जीवनदृष्टि प्रस्तुत गरिएको छ । ‘यात्राको अन्तर्य’ यात्रालाई अनुभूतिको पुञ्ज ठानिएको आत्मपरक निबन्ध हो । अन्तर्वस्तुका दृष्टिले यसलाई परा–पर्यावरणीय निबन्धका रूपमा लिनसकिन्छ । नेपालका पर्यटकीय स्थानहरूको कलात्मक वर्णनले यो निबन्ध प्रभावी बनेको छ । बागलुङबाट बटौली र त्यसपछि बनारससमम्को अतीतस्मृतिका दृष्टिले यो संस्मरणात्मक र नियात्रापरक निबन्धसमेत बनेको छ । ‘मेरो मनको देवकोटा’ महाकवि देवकोटाप्रतिका उत्सुकता, प्रियता, देवकोटाप्रतिको लेखकको आफ्नो श्रद्धानुराग यस निबन्धमा व्यक्त भएको छ । ‘मनको रहर’ निबन्धकार दीनानाथ शर्माको प्रस्तुत सङ्ग्रहको अन्तिम निबन्ध हो र यसमा उनीभित्रको स्वातन्œय चेत निकै प्रभावपूर्ण बनेर आएको छ :

‘म ठोकेर भन्नसक्छु ,मानिस स्वतन्त्र छैन । राजनीति स्वतन्त्र छैन । स्वतन्त्र हुने भित्री रहर पूरा होला जस्तो छैन । आफै पराधीन व्यक्तिले अरुलाई स्वाधीनता दिलाइदिन्छु भन्नु धोका त होइन भन्ने लाग्छ । … म कसैको बधुवा मजदुर होइन । मलाई अझै कति दाम्लो लगाउन खोज्छौ ?’ – (मनको रहर)
आफू र आफ्नो स्वतन्त्र चेतलाई नै विषय बनाएर लेखिएको यो निबन्ध लेखकभित्रका अनेक तरङ्गहरूको ऊहापोह पनि हो । ‘मेरो छेवैमा आएर कतिले चिमोट्ने गर्छन् । म झस्किन्छु । मलाई थाहा छैन, म बाँचेको छु कि छैन भन्ने !’ यी पङक्तिहरू आजका मान्छेको सम्वेदनहीनतालाई अभिव्यञ्जित गर्ने प्रतिनिधि वाक्य हुन् ।

समकालीन नेपाली निबनधका क्षेत्रमा दीनानाथ शर्मा निजात्मक निबन्ध लेखनका प्रखर स्रष्टा हुन् । आत्मपरक शैलीमा लेखिएका उनका निबन्धको मूलभूत विशेषता भनेको अत्यन्त आलङ्कारिक, कवितात्मक र कलात्मक भाषाशैलीको प्रयोग हो । अत्यन्त प्रवाहमय शैली र लालित्यमय पदपदावलीको प्रयोग तथा सूक्तिमय वाक्यहरूले उनका निबन्ध सुस्वादु बनेका छन् । कलात्मक भाषिक प्रयोगको एउटा नमुना यसप्रकार छ :
‘मध्य दिनको घाम टहटह पोखिएर वातावरण न्यानो पारेको छ । यसपटकको वर्षाले धुवाँ, धुलो, तुवाँलो सिनिक्क पखालेछ । नीलगगनको असली रूप देखेँ कति दिनपछि । उत्तरदिशामा पूर्वदेखि पशिचमसम्म लमतन्न तानिएको हिमाच्छादित शैलशृङ्खलाले मेरो मनलाई चसक्क छोएर तरङ्गित पार्छ । तन्नेरी सूर्यको सप्तरङ्गी प्रकाश हिमशैल र पाखापाखेरामा पोखिएका तुहिन गिरिको सौन्दर्य छटाले औधी आनन्द दिइराखेको छ ।‘ – (यायावरको अन्तर्कथा)

लालित्यमय पदविन्यास र आलङरिक भाषिक कला मात्र होइन, उनका निबन्धमा कल्पनाशीलताको पनि बेजोड प्रयोग पाइन्छ । कुनै विषयको वर्णन होस् वा निजात्मक अनुभूतिको प्रकटीकरण त्यहाँ कल्पनाशीलता तीव्र देखिन्छ । ग्राम्यता र तिनलाई अभिव्यञ्जित गर्ने ग्राम्य पदपदावलीको लोप हुनलागेको स्थिति र भाषिक प्रदूषणबाट समेत उनी चिन्तित देखिन्छन् भन्ने कुरा तलका पङ्क्तिहरूले स्पष्ट पार्छन् :
‘किलो, दाम्लो, नाम्लो, ठोकी, धार्ने, चौठी, आने, मदानी, तरो, कुँडे, कुँढो, टाट्नो जस्ता शब्द तेस्रो पुस्तालाई अनौठो भएका छन् । हाम्रो गाउँको किसान परिवारभित्र प्रयोग हुने कतिपय शब्द शब्दकोशमा पनि पाइँदैन ।’ – (बाली भित्र्याउँदाको दिन)

निबन्धकार शर्माको यो चासो सम्पूर्ण नेपालीहरूको चिन्ता र चासो हो । निबन्धलाई कलात्मक बनाउन उनले ग्राम्यविम्ब, प्राकृतिक विम्ब, सांस्कृतिक विम्ब र मिथकीय विम्बका साथै लोकविम्बको पनि प्रशस्त प्रयोग गरेका छन् । उनको ‘एक सम्बोधन समयमाथि’ मा सङ्ग्रहीत प्रायः सबै निबन्धमा मूलकेन्द्र प्रकृति र प्रकृतिसँग गाँसिएको आफ्नो अतीतबोध, समाज ,संस्कृति, राजनीति, वर्तमानका विसङ्गति आदि विषयहरू आएका छन् । यस सङ्ग्रहका सबै निबन्ध आत्मपरक अर्थात् निजात्मक छन् । केही निबन्धमा संस्मरणात्मकता, नियात्रात्मकता र अनुभूतिको प्रबलता आदि विशेषताहरू पनि छन् र यी निबन्धहरूले कुनै न कुनै कोणबाट समयलाई सम्बोधन गरेका छन् । उनी राजनीतिक व्यक्तित्वसमेत भएकाले राजनीतिक विषय र प्रसङ्गहरू आउनु स्वाभाविक हो तर यस्ता राजनीतिक प्रसङ्ग र विचारहरू आएका ठाउँमा पाठकलाई अलिकति विचारको भारी बोक्नुपर्ने स्थिति देखिन्छ । यदि त्यस भारीबाट पाठकलाई मुक्त गराउने हो भने कति शक्तिशाली हुन्थे होला उनका निबन्ध ? यो प्रश्न सचेत पाठकका मनमा आउँछ । यति हुँदाहुँदै पनि उनी निजात्मक निबन्धलेखनका क्षेत्रमा अब्बल श्रेणीका स्रष्टा हुन् र समयलाई सम्बोधन गरेर लेखिएकाले प्रायः सबै निबन्धमा वर्तमानबोधी चेत छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ११ : ३५ बजे

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान

आइपिटिपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा

काठमाडौं । सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय