काठमाडौं । नेपाल राष्ट्र बैंकले सख्खर, चिनी, चिगम, मिनरल वाटर, वियर, चुरोट, खैनी, रक्सी कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो ।
विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न शर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र (एलसी) खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा व्याज प्रदान गर्न नपाइने गरी पनि निर्देशन दिइएको छ । बुधवार परिपत्र गर्दै कतिपय सामानका आयातकर्ताबाट शत प्रतिशतसम्म ’क्याश मार्जिन’ लिन बैंकहरूलाई निर्देशन दिएको छ ।
४७ थरीका हार्मोनिक कोड भएका वस्तुहरु अनिवार्य रुपमा मार्जिन लिन बैंकहरुलाई एकीकृत परिपत्र पठाएको हो । यो मार्जिन भनेको आयातकर्ताले विदेशी मुद्रामा आयात गर्न लागेको रकम बराबरको स्वदेशी मुद्रा देशको बैंकमा जम्मा गर्नु हो ।
आयातलाई कडाइ गर्दै बैंकमा निक्षेप वढाउनका लागि राष्ट्र बैंकले यो कदम चालेको हो ।
राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, मदिरा तथा भिनेगर, निजी सवारीसाधन (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर लगायतका छन् ।
यद्यपि उद्योगहरूले आफ्नै प्रयोजनका लागि आफैँले आयात गर्ने कच्चा पदार्थको हकमा त्यो लागु नहुने उल्लेख गरेको छ । नेपाल सरकारका निकाय, कुटनीतिक नियोग र अस्पतालहरुमा गर्ने आयातमा तथा वाणिज्य बैंकहरुले सुन आयातको हकमा यो लागू नहुने पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ । यसैंगरी औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा पनि यो लागू नहुने स्पष्ट पारकेो छ । यद्यपि यसका लागि आयातकर्ताबाट सोको स्वघोषणा अनिवार्य रुपमा गर्नुपर्दछ ।
हार्मोनिक कोड ८७०३ र ८७११ मा रहेका पार्टपुर्जाहरुका सवारी साधनहरु शत प्रतिशत विद्युतीय भए पनि मार्जिन राख्न नपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह घट्दो क्रममा देखिएको छ ।
सोधनान्तर स्थितिमा पनि अहिलेसम्मकै वढी चाप परेको छ । विदेशी विनिमय सञ्चितिमा पनि केही चाप परेपछि राष्ट्र बैंकले यो नीति लिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार आयात ५१.१ प्रतिशतले र निर्यात ९५.५ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा छ ।
कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको छ ।
उल्लेख्य परिमाणमा हाम्रो ठूलो विदेशी विनिमय सञ्चिति उपयोग हुने वस्तु आयात भएको देखिएकोले त्यस्ता वस्तुको आयात केही समयका लागि व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
केन्द्रीय बैंकले केही समयका लागि पन्छाउन सकिन व्यापारिक प्रयोजनका लागि हुने आयातलाई व्यवस्थापन गर्न खोजिएको तर्क गरेको छ ।
केही समयका लागि आयात रोक्दा खासै ठूलो समस्या नपर्ने र त्यसले विदेशी विनिमय सञ्चितिमा केही सहजता दिन सक्ने अपेक्षा गरिएको छ ।
बैंकले गेडागुडी, पिठो, पिना, कपडा, मेटल, ड्राइ फ्रुटसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको हो । बढ्दो आयात र घट्दो रेमिट्यान्स लगायतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि यस्तो व्यवस्थाम गरिएको तर्क राष्ट्र बैंकको छ ।
राष्ट्र बैंकको नयाँ सूचनाअनुसार अब आयातकर्ताहरुले यस अघिका तीन सय प्रकारका वस्तुबाहेक थप ४७ प्रकारका माल वस्तु आयातमा नगद मार्जिन राख्नु पर्नेछ । थप भएकामध्ये चार प्रकारका वस्तुमा ५० प्रतिशत र बाँकी ४३ प्रकारका वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएको छ ।
यसअघि २० वटा समूहको ३ सयभन्दा बढी समूहको वस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको गरिसकेको छ ।
नगद मार्जिनको वाध्यकारी व्यवस्थापछि ड्राइ फुड, माछा, मासु, तयारी पोशाक तथा कपडालगायतका वस्तुको आयातमा कमी आउनेछ । होर्मोनिक कोड ०३ बाट सुरु हुने माछा र माछाजन्य अन्य परिकारको आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ ।
यसैंगरी हार्मोनिक कोड ५७ भएका कार्पेट, टेक्सटाइल फ्लर, उन, नाइलन, टायल्स आयातमा पनि शत प्रतिशत मार्जिन रकम बैंकमा जम्मा गर्नुपर्ने भएको छ ।
विलासिता वस्तुका आयातका लागि एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको राष्ट्र बैंकले टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मात्र मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
विभिन्न तयारी पोशाक, कम्बल ब्ल्याङ्केटजस्ता वस्तुहरुको आयात गर्न व्यवसायीले एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने हुन्छ ।
हार्मोनिक कोड ६०, ६१, ६२ र ६३ बाट सुरु हुने वस्तुहरुको आयातको लागि एसली खोल्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने र त्यसबाहेक अन्य २३ वटा हार्मोनिक कोडबाट सुरु हुने वस्तु आयात गर्न एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि पुस ५ गते विभिन्न २० वटा हार्मोनिक कोडबाट आयात हुने वस्तुहरु आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
जसमध्ये विद्युतीय गाडी र मोटरसाइकलबाहेकका अन्य गाडी र मोटरसाइकको आयातको लागि एलसी खोल्न ५० प्रतिशत नगद मार्जिन र त्यसबाहेकका अन्य १८ वटा हार्मोनिक कोडको लागि भने शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएको थियो । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।
प्रतिक्रिया