८ मंसिर २०८१, शनिबार | November 23, 2024

बाँसबाट बदलिँदै चीनको छिनसेन : एक गाउँको हरित यात्रा



छेन्दु शहरबाट विस्तारै तेस्रो चक्रपथबाट बाहिरिँदै जाँदा सुन्दर हरियाली अझ धेरै देख्न सकिन्छ । शहरी क्षेत्र छोडेर टोल प्लाजा पार गरिसकेपछि सडकमा कारको रफ्तार बढ्दा जति आनन्द आउँछ त्यो भन्दा बढ्ता रोमाञ्चक लाग्छ, सडकको दुवै किनारामा निगालो बाँसको झ्याङ् । योजनावद्ध रुपमा लगाइएको बाँसको झ्याङले अग्लो हेजको रुपमा काम गरेको छ । गाउँले परिवेश हाम्रै गाउँघरको भन्दा फरक छैन । सुन्दर दुई पाखे घर, हरियाली खेत, बाँसको जंगल, अलिक टाँडी जस्तो जमिनमा सुन्तला र तरकारी खेती । ओहो!  नेपालकै गाउँमा कतै हामी हिँडिरहेका त छैनौं जस्तै अनुभूति हुने । छेन्दुबाट झण्डै डेढघण्टामा ८० किलोमिटर सडकयात्रा पारगरिसेपछि मेइसान शहर पुगिन्छ । सो सहरलाई बाइपास गर्दै थप ३० किलोमिटर सडक यात्रा गर्दैगर्दा देख्न सकिन्छ जतासुकै बाँसैबाँसको जंगल । सडकमा बाँसकै डिभाइडर, बाँसकै सजावट । वास्तवमै बाँसको महत्व कति रहेछ भन्ने कुरा छिनसेन काउन्टी प्रवेश गर्दैगर्दा बुझन् सकिन्छ ।

सिचुवान प्रान्तको छिनसेङ काउन्टी निकै सुन्दर र विकसित शहर बनिरहेको छ । शहरी क्षेत्र सकिने वित्तिकै गाउँ प्रवेश गर्दा आफ्नै गाउँघरमा पुगेको भान हुन्छ । भाषाबाहेक सबथोक आफ्नै लाग्ने । सबैतिर संरक्षण गरिएको छ । नदी खोला किनार वरिपरि बाँसैबाँसको जंगल लगाइएको छ । कतै आफै हुर्किएका बाँस छन्, कतै योजनावद्ध ढंगले बाँस रोपिएको छ । भदौको पहिलो साता । नेपालमा पनि तामा पलाउने बेला । तामा र टुसाको बास्ना घरघरको भान्छामा नहुने कुरै भएन । छिनसेनका हरेक घरको भान्छा र होटल रेष्टुरेन्टमा तामाकै परिकार भेटिने ।

हरियाली चमत्कार
त्यसो त, सिंगो सिचुआन नै बाँसका लागि चर्चित हो । सिचुआन र बाँस पर्यावाची जस्तै छन् । बाँसको वन क्षेत्रको हिसाबले सिचुआनले चीनमा दोस्रो स्थान ओगटेको छ । तर, आज हामी यहाँ चर्चा गर्न खोज्दैछौं – यही सिचुआन प्रान्तमा अवस्थित छिनसेन (Qingshen) काउन्टीको । भान्छादेखि बेडरुमसम्म, अफिसदेखि होटल रेष्टुरेन्टसम्म । सडक किनारादेखि डिभाइडरसम्म । यता हेरेपनि बाँस उता हेरेपनि बाँस । यही विशेषता रहेछ छिनसेनको । बाँसमार्फत छिनसेनले गाउँको भाष्य बदल्दै हरित यात्राको लामो गन्तव्य तय गरेको छ ।

छिनसेन बाँस उत्पादन र बाँसमा आधारित उद्योगहरूको लागि प्रसिद्ध छ । बाँस संरक्षण र यसका विभिन्न उपयोगहरूको माध्यमबाट छिनसेन काउन्टीका जनताको जीवनस्तर माथि उठेको छ । बाँस यहाँका जनताको अभिन्न अंग बनेको छ । स्थानीय जनता बाँसमा रमाएका छन् । महिलाहरुले बाँसमा आधारित उद्योगमा जागिर पाएका छन् । सामान्य आधारतूभ जनताले पनि मासिक ५ हजार युआन भन्दा बढी कमाउने गरेपछि यो काउन्टी निरपेक्ष गरिबीको रेखामुनिबाट धेरै माथि उठिसकेको छ । अर्थात छिनसेनका लागि आजको दिनमा बाँस हरित अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ ।

छिनसेन काउन्टीमा बाँस खेती निकै उन्नत र व्यवस्थित रूपमा छ । स्थानीय किसानहरूले बाँसको विभिन्न प्रजाति उब्जाउँछन्, जसबाट उच्च गुणस्तरको बाँस उत्पादन हुन्छ । बाँस खेतीमा राम्रो जलवायु, उर्वर माटो, र स्थानीय ज्ञानको प्रयोगले उत्पादनलाई प्रभावकारी बनाएको छ । हरियाली चमत्कारले गाउँको भविष्य बदलेको छ ।

छिनसेन जेवाइजु बेम्बो उड प्रोडक्स कम्पनी लिमिटेडका अध्यक्ष मिस्टर लि इनहाईले स्थानीय जनताले उत्पादन गरेका बाँस खरिद गर्छन् र आफ्नो कारखानामा लगेर विभिन्न प्रकारका फर्निचर, हस्तकलाका सामान बनाउँछन् । उनले उत्पादन गरेका सामानहरु चीनको कुनाकुनामा पुगेका छन् । मिस्टर लि अब विश्वबजारमा समेत आफ्नो उत्पादन निर्यात गरेका छन् ।

मिस्टर लिका अनुसार स्थानीय सरकारले उन्नत जातको बाँसको बिरुवा लगाउनका लागि स्थानीय समुदायलाई तीनवर्षसम्म प्रतिवर्ष २०० युआन दिने गरेको छ । यसको मतलब तीन वर्षभित्र बाँस परिपक्क हुन्छ र त्यसले प्रतिफल दिन थाल्छ भन्ने हो । त्यसपछि परिपक्क भएका बाँस काउन्टीमा रहेका कारखानाहरुमा पठाइन्छ ।

छिङ्शेन काउन्टीको तियान्छी गाउँका बाँस उत्पादक ली काइमिङ भन्छन्, ‘सन् २०२३ मा बाँस बिक्री गरेर मात्र लगभग दुई लाख युआन (३८ लाख नेपाली रुपैयाँ)कमाएँ ।’

उन्नत जातको बाँस किन्नका लागि कम्पनीहरु धेरै इच्छुक हुन्छन् । १ नं. को बाँस (Bamboo No 1) को मूल्य सबैभन्दा धेरै हुन्छ । किनकी यो बाँसलाई प्रशोधन गरेर विभिन्न प्रकारका कागज, टिस्यु पेपर, नेपकिन पेपर बनाउन प्रयोग गरिन्छ । १ नं. बाँस लाई कारखानामा प्रशोधन गरेर पल्प कागजमा परिणत गरिन्छ । ती कागजले अहिले चीनमा प्राकृतिक–रङ्ग टिश्यु कागजको ३० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

जसरी प्लास्टिकको प्रयोगलाई बाँसले क्रमशः विस्थापन गर्दैछ, छिनसेनको औद्योगिक पार्कले बाँसको रेशा (फाइबर) बाट बनेको मल्चको नयाँ उत्पादन लाइन स्थापना गर्न काम गरिरहेको छ ताकि बजारको अवसरहरूबाट फाइदा उठाउन सकियोस् ।

सन् २०२२ को नोभेम्बरमा चीन सरकारले अन्तर्राष्ट्रिय बाँस तथा रटन संगठनसँग मिलेर ‘प्लास्टिकको विकल्प बाँस’ अभियान सुरु गरेको थियो । सन् २०२३ को नोभेम्बरमा, ‘ प्लास्टिकको विकल्पका लागि बाँसको विश्वव्यापी कार्य योजना’ संयुक्त रूपमा सार्वजनिक गरिएको थियो, जसले विश्वभर बाँस तथा रटन उद्योगको दिगो विकासका लागि नयाँ उर्जा मिलेको छ । प्लाष्टिकको विकल्पमा बाँसको प्रयोग छिनसेङ काउन्टीमा जतासुकै देख्न सकिन्छ ।

छिनसेन जेवाइजु बेम्बो उड प्रोडक्स कम्पनी लिमिटेडका अध्यक्ष मिस्टर लिका अनुसार बाँसको प्रजातिअनुसार फर्निचर, लालटिन, सजावट, हस्तकलाका सामानहरु बाँसबाट बन्छन् । बाँसबाट पार्केटिङ, आँखीझ्याल लगायतका सयौं प्रकारका उत्पादनहरु गर्ने गरिएको छ ।

बाँस खेतीबाट मात्र नभई छिनसेनका जनताले बाँसको प्रशोधन र उत्पादनमा आधारित उद्योगहरूमार्फत पनि राम्रो आम्दानी गर्ने गरेका छन् । लिका अनुसार बाँसको प्रयोग गरेर उनीहरूले निम्न उद्योगहरू सञ्चालन गर्छन् :

बाँसका हस्तकलाहरूः बाँसको कचौरा, टोकरी, फर्निचर, र सजावटी सामानहरू निर्माण गर्ने साना उद्योगहरू सञ्चालनमा छन् । यी हस्तकलाहरूको अन्तर्राष्ट्रिय बजारमा पनि माग छ, जसले स्थानीयलाई राम्रो आम्दानी गर्न सघाउँछ ।

बाँसका कागज उद्योगः छिनसेनमा बाँसबाट कागज बनाउने उद्योगहरू पनि छन् । बाँसको कागज पर्यावरणमैत्री र टिकाउ हुन्छ, जसको माग विश्वबजारमा बढ्दो छ ।

बाँसका पर्यावरणमैत्री उत्पादनहरूः बाँसबाट बनेका वस्त्र, खाद्यान्नका भाँडा, र अन्य दैनिक उपभोग्य सामग्री पनि उत्पादन हुन्छन् । ति उत्पादनहरुको मूल्य थोरै महँगो भए पनि वातावरणप्रति चासो राख्ने उपभोक्ताहरूले प्राथमिकता दिन्छन् ।


सरकारको सहयोग र प्रवर्द्धन कार्यक्रम
हालसालै मात्र बेइजिङमा ‘प्लास्टिकको विकल्पको रूपमा बाँस’ सम्बन्धी एक महिने तालिम समेत आयोजना गरिएको छ । २९ अगष्टदेखि सुरु भएको यो तालिम सेप्टेम्बर महिनाभरी चल्नेछ । तालिममा चीनबाहेक नेपाल, लगायत बेल्ट एण्ड रोडमा आवद्ध मुलुकका प्रशिक्षार्थीहरु सहभागी भएका छन् ।

अन्तर्राष्ट्रिय बाँस तथा रटन संगठन (INBAR)का सहअध्यक्ष जियाङ झेहुईका अनुसार बाँस र रटन एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकासोन्मुख देशहरूमा व्यापक रूपमा पाइने महत्वपूर्ण नवीकरणीय स्रोत हो । उनी भन्छन्, ‘बाँस तथा रटन स्रोतहरूको दिगो विकास र प्रयोगले विकासशील देशहरूमा जीवनस्तर सुधार्न, गरिबी घटाउन, अर्थतन्त्र विकास गर्न र वातावरण संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।’

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र अन्य विभागहरूले संयुक्त रूपमा बाँसको प्रवर्द्धन गर्नका लागि तीन वर्षको कार्य योजना जारी गरेका छन् । यसले बाँस उद्योगको श्रृंखला बलियो बनाउन र विस्तार गर्न नयाँ अवसरहरू प्रदान गरेको छ । छिनसेन काउन्टीले सरकारको यो योजनाबाट लाभ लिइरहेको छ ।

सीपीसीको स्थानीय पार्टी कमिटी र सरकारले छिनसेनमा बाँस उद्योगको सम्बद्र्धन एवं प्रवर्द्धनका लागि थुप्रै अनुदान र तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसले किसान र उद्यमीहरूलाई थप आधुनिक प्रविधि र बजार व्यवस्थापनका सीप सिक्न सहयोग पु-याएको छ । जनतलाई बाँसमार्फत आत्मनिर्भर मात्र होइन निर्यातयोग्य बनाउन योजनावद्ध रुपमा काम गरिएको छ ।

पर्यटन र बाँस पार्क
छिनसेनमा बाँस पार्क र पर्यटकीय क्षेत्रहरूको विकास गरिएको छ । बजारको यौटा कुनामा बाँसको म्युजियम छ । यो म्युजियममा २ हजार वर्ष पहिलेदेखि चीनले कसरी बाँसमा काम गरेको थियो भन्नेबारे जानकारी हासिल गर्न सकिन्छ । म्युजियममा विश्वका अन्य मुलुकबाट उत्पादित बाँसका सामाग्रीहरु संकलन गरेर राखिएको छ । नेपालले पठाएको यौटा ‘टोकरी’ यस म्युजियममा राखिएको छ ।

त्यसो त, छिनसेनमा बाँसमै आधारित यौटा संरक्षित गाउँ छ । यो गाउँको नजिकै विश्वभरबाट संकलन गरिएका बाँस लगाइएको छ । ती बाँस कुन प्रजातिका हुन्, भन्नेबारेमा प्रष्टसँग चिनियाँ र अंग्रेजी भाषामा लेखिएको छ । यहाँ पुग्ने जो सुकै पर्यटकहरूले बाँसको बारेमा जान्न र अनुभव गर्न पाउँछन् । बाँसमा अध्ययन गर्न चाहने अध्यताहरुका लागि छिनसेन ‘लाइभ लाइब्रेरी’ जस्तै छ । बाँसले आकर्षित गरेका लाखौं पर्यटकहरुका कारण यहाँको पर्यटन प्रबद्र्धन अद्वितीय बनेको छ । स्थानीय समुदायलाई पर्यटक गाइड, होटल, रेस्टुरेन्ट, र हस्तकला पसलहरूबाट थप आय आर्जन गर्ने अवसर मिलेको छ ।

बाँस खेती र प्रशोधन मात्र होइन, बाँसको जंगलमा कुखुराहरूलाई पालनपोषण गर्ने फार्महरू पनि छन् । बाँसको जंगलमा बाँस च्याउ, कालो च्याउ, जडिबुटी औषधि, र कुखुरा पालन गरिन्छ । कतै पनि जमिन खाली छैन । बाँस नलगाएको जमिन (चाहे त्यो पहाड होस या खोँच होस)मा सुन्तला र अन्य तरकारी लगाइएको छ । जसले किसानहरूलाई अतिरिक्त आम्दानी गर्न मद्दत मिलेको छ ।


जीविकोपार्जनको माध्यम
छिनसेन काउन्टीका बाँस उत्पादनहरू, विशेष गरी हस्तकलाहरू र फर्निचर, अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गरिन्छ । यसले स्थानीय उद्यमीहरूलाई मासिक रूपमा ५ हजार युआन भन्दा बढी आम्दानी गर्न मद्दत पु-याउँछ । यी कारणहरूले गर्दा छिनसेन काउन्टीका जनता बाँस उद्योगमा आधारित आम्दानीका विभिन्न स्रोतहरूबाट राम्रो कमाइ गर्न सक्षम भएका छन् । उनीहरु घरमै बसेर समेत काम गर्न सक्छन् । कारखानामा मजदुर बनेर काम गर्न पनि सक्छन् । जसरी काम गरेपनि उनीहरुले महिनाभर राम्रै ‘ह्याण्डसम सेलरी’ पाउँछन् ।

बाँस बुन्ने (Bamboo Weaving) परम्परागत कला यहाँको एक प्रमुख सांस्कृतिक धरोहर हो । स्थानीय समुदायका महिला तथा वृद्धहरूले यो सीपलाई जिविकोपार्जनको साधनको रूपमा अपनाएका छन् । आधुनिक प्रविधिको प्रयोगले उत्पादनको गुणस्तर र परिमाणमा वृद्धि भएको छ ।

म्याडम चोउले विगत १० वर्षदेखि मिस्टर लिको कारखानामा काम गरिरहेकी छिन् । उनले अन्य महिलाहरुलाई लालटिन बनाउन सिकाउँछिन् । म्याडम चोउका अनुसार उनले महिनामा ५हजारदेखि ६हजार युआन कमाउँछिन् । उनले अन्य महिलाहरुलाई काम गर्न सिकाउँछिन् । उनका अनुसार चारपाँच जना महिला कामदारले दिनमा ३०० वटा सानोखाले लालटिन बनाउन सक्छन् । कारखानाका मालिक मिस्टर लि भन्छन् – ‘यी लालटिनको बजारमा ७० युआनमा बिक्री हुन्छन् ।’

बाँस उद्योगको विकाससँगै स्थानीय जनताको जीवनस्तरमा पनि सुधार आएको छ । बाँसको खेती र प्रशोधनमा संलग्न जनसंख्याले रोजगारी पाएको छ, जसले गरीबी उन्मूलन र आयस्तरमा वृद्धि गरेको छ । बाँसका उत्पादनहरू निर्यात गरेर पनि स्थानीय आर्थिक विकासमा ठूलो योगदान पु-याएको छ ।


छिनसेनमा भेटिएको नेपाल
बाँस अन्तराष्ट्रिय म्युजियमको बाहिर इनवारको सदस्य राष्ट्र नेपालको झण्डा फहराएको छ । म्युजियममा नेपालका पूर्वप्रधानमन्त्री झलनाथ खनालको फोटो देखाउँदै मिस्टर लि भन्छन्, ‘नेपालले पनि यहाँजस्तै बाँसबाट धेरै प्रकारका सामाग्री बनाउन सक्छ । यदि त्यहाँबाट अनुरोध भएमा बाँसमा काम गर्ने जनशक्ति नेपालभित्रै तयार बनाइदिन हामीहरु तयार छौं ।’

सयौं प्रकारका बाँस रहेको नेपाल पनि इनवारको सदस्य मुलुक हो । नेपाल सन् २०२३–२०२५ का लागि इनवारको १३औं काउन्सिल सत्रको अध्यक्ष राष्ट्रको रुपमा चयन भएको थियो । त्यसैले नेपालले छिनसेनबाट सिकेर बाँसमा धेरै गर्न सक्छ ।


र अन्त्यमा,
सिचुआन प्रान्तले बाँस उद्योगको विकासलाई प्रवर्द्धन गर्न सम्बन्धित नीतिहरू जारी गरेको छ । यी नीतिहरूले थप प्राविधिक सहयोगलाई सुदृढ पार्ने र दैनिक उपयोगका लागि बाँस उत्पादनको उत्पादनमा व्यापक अनुसन्धान सुरु गर्ने आवश्यकता जोड दिएका छन्, जसको उद्देश्य थप प्लाष्टिकजन्य सामग्रीलाई बाँसले प्रतिस्थापन गर्नु हो । यो नीति कार्यान्वयन गर्न छिनसेन काउन्टी प्रतिवद्ध देखिन्छ । काउन्टीमा बाँसको संरक्षणलाई निकै महत्व दिइएको छ । बाँसका विविध प्रजातिहरूको संरक्षण गरिएको छ र तिनीहरूको निरन्तरता र वृद्धिका लागि वातावरणीय र जैविक विविधता संरक्षण उपायहरू अपनाइएको छ । काउन्टीले बाँसको जंगलहरूको पुनरुत्थान, कीट नियन्त्रण, र स्थिर पानीको आपूर्तिलाई प्राथमिकता दिएको छ ।

छिनसेन काउन्टीमा बाँसको संरक्षण, उद्योग विकास, र स्थानीय जनताको जीवनस्तर सुधार गर्नका लागि स्थानीय सरकार र पार्टी कमिटीले महत्वपूर्ण भूमिका खेलेका छन् । बाँस उद्योगको विकास र प्रवद्र्धनले केवल आर्थिक लाभ मात्र होइन, पर्यावरणीय र सांस्कृतिक धरोहरको संरक्षणमा पनि ठूलो योगदान पु-याएको छ । वास्तवमै बाँसमा आधारित यो हरित यात्राले छिनसेन काउन्टीको भविष्य बदलेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ११ : २० बजे

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान