१४ मंसिर २०८१, शुक्रबार | November 30, 2024

एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र



काठमाडौं । एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरे पनि आफ्ना कार्यकर्तालाई भने सडकमा उतारेर दोहोरो चरित्र देखाएका हुन् ।

आइतबार सरकारले उनीहरूकै योजनाअनुसार एमसीसी संसद्मा टेबल ग(यो । टेबल गर्दा संसद्मा सामान्य असन्तुष्टि मात्रै देखियो तर राजधानीका सडकमा उनीहरूकै कार्यकर्ताले लगातार विरोध गर्दा प्रहरीसँग दिनभर भिडन्त भयो । कैयौं कार्यकर्ता र प्रहरी घाइते भए । जनजीवन प्रभावित बन्यो । काठमाडांैको मुटु मानिने बानेश्वर क्षेत्र दिनभर रणमैदान जस्तै बन्न पुग्यो । तर, दुवै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बाहिरको दृश्यसँग खासै संवेदनशील देखिएनन् । कार्यकर्ताको भावनामाथि खेलबाड गरेको भन्दै उल्टै उनीहरूको विरोध भयो ।

दुवै दलभित्र चर्को विवाद

यद्यपि, यी दुई दलभित्रै एमसीसीको विषयलाई लिएर चर्को विवाद उत्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले केही समयअघिसम्म मात्रै एमसीसी यथास्थितिमा संसद्मा टेबल गर्न नदिने बताउँदै आएका थिए । तर, शनिबार दुवै अध्यक्ष एकाएक ‘युटर्न’ हुँदै एमसीसीको पक्षमा लचिलो मात्रै देखिएनन कि संसद्मा टेबल गर्न दिनेगरी पार्टीभित्र निर्णय गराए । सत्ता गठबन्धन जोगाउनकै लागि र सरकारमा रहिरहनका लागि दुवै अध्यक्ष एमसीसीमा लचिलो बनेको भन्दै कार्यकर्ता पंक्तिबाट दुवैको चर्को आलोचना भइरहेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार माओवादी र नेकपा समाजवादीको एमसीसीको विरोधी पनि देखिनुपर्ने र सत्ताको लोभ पनि गरिरहने प्रवृत्ति उत्कर्षमा पुगेको छ । जसका कारण आइतबार एमसीसी टेबल भयो । यदि यी दुवै पार्टीका अध्यक्षहरूले नचाहेको भए एमसीसी संसद्मा टेबल हुनै नसक्ने र उनीहरूको दोहोरो चरित्रकै कारण यो सम्भव भएको राजनीतिक विश्लेषकको ठहर छ ।

प्रमुख सत्तारूढ दल काग्रेस भने सुरुदेखि नै एमसीसीको पक्षमा रहँदै आएकाले यसमा उसले अन्य दुई सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो एजेन्डामा ल्याउन सफल भएको देखिएको छ ।

माओवादी केन्द्रले एमसीसी सम्झौता अनुमोदन गर्ने सन्दर्भमा दोहोरो चरित्र देखाएको देखिन्छ । उसले सत्ता गठबन्धन जोगाउन शीर्ष तहमा एमसीसी संसद्बाट अनुमोदन गर्ने तर, सडकमा एमसीसीविरुद्ध नारा लगाउन कार्यकर्ता पठाइरहेको छ जसका कारण काठमाडौंका सडक आइतबार तनावग्रस्त बन्न पुगे ।

गत २ फागुनमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ सडकमा नै उत्रिएर एमसीसीविरुद्धको नाराबाजीमा सहभागी मात्र भएका थिएनन्, माओवादी संसदीय दलको बैठकले तत्काल एमसीसी संसद्मा लैजान सहमति नजनाउने बताएको थियो । तर, माओवादी संसदीय दलको सो निर्णय एक साता पनि टिकेन ।

स्रोतका अनुसार माओवादीको संसदीय बैठक बसेको अघिल्लो दिन साँझ दाहाल निवास खुमलटारमा बसेको वरिष्ठ नेताहरूको जमघटमा दाहालले संसद्मा टेबल हुन नदिने र भइहाले सरकारबाट बाहिरिने ब्रिफ्रिङ गरेका थिए ।

त्यही ब्रिफ्रिङको भोलिपल्ट साँझको गठबन्धन बैठकमा सहमति जुट्न सकेको थिएन । त्यसबेलासम्म एमसीसी टेबल गर्न नदिने अडानमा रहेको माओवादीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छोड्न चेतावनी दिएपछि सत्ता छोड्नुपर्ने डरले माओवादी केन्द्रले एमसीसी टेबल गर्न दिएको स्रोतको दाबी छ ।

सोही दिन सत्तागठबन्धनको बैठक भाँडिएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । बालकोटमा भएको छलफल सहमतितिर नगएकै कारण गठबन्धनभित्र सहमति खोज्न देउवा अग्रसर भएका थिए । दाहालमाथि दबाब पनि सिर्जना गरिरहेका थिए । अन्ततः प्रधानमन्त्री देउवा माओवादी र एकीकृत समाजावादीलाई एमसीसी टेबल गराउने कार्यमा सहमतिमा ल्याउन सफल देखिए ।

सुरुदेखि नै एमसीसीको विरोधमा रहँदै आएको एकीकृत समाजवादीले शनिबार युटर्न हँुदै संसद्मा टेबल गर्न दिने निर्णय ग¥यो । यद्यपि, यो निर्णयको एकीकृत समाजवादीभित्र व्यापक विरोध भइरहेको छ । नेता झलनाथ खनाल, उपमहासचिव जगन्नाथ खतिवडाले खुलेर विरोध गरिरहेका छन् । खनालले अमेरिकी दबाबमा एमसीसी टेबल गर्न खोजिएको भन्दै संसद्मै विरोध जनाएका छन् । नेता खनालले संसद्मा जबर्जस्ती एमसीसी टेबल गरेर संविधान मिचिएको समेत बताएका छन् ।

त्यस्तै, एकीकृत समाजवादीका भ्रातृ संगठनले नयाँ बानेश्वरमा एमसीसीविरुद्ध नाराबाजी गरेका थिए । एकीकृत समाजवादीभित्र यो विषयले तरंग ल्याएको छ भने त्यहाँभित्र कति धेरै असन्तुष्टि छ भन्ने कुराको पुष्टि एकै दिन तीनवटा विज्ञप्ति आउनुले गरेको छ ।

स्थायी कमिटीको निर्णय सार्वजनिक गर्न प्रवक्ताको हैसियतमा जगन्नाथ खतिवडाले विज्ञप्ति निकालेका थिए । सो विज्ञप्तिप्रति अध्यक्ष नेपाल असहमत देखिएपछि दोस्रो विज्ञप्ति निकालियो । त्यसले पनि शनिबारको स्थायी कमिटी बैठकको खास निर्णय तोडमोड भएको भन्दै महासचिव वेदुराम भुसालले विज्ञप्ति निकाले । एकै विषयमा तीन जनाले फरकफरक प्रकृतिको विज्ञप्ति निकाल्ने काम गरे । जसलाई सो पार्टीको दोहोरो तेहरो भूमिकाका रूपमा विश्लेषण गरिएको छ ।

एमसीसी टेबल गर्न दिनेगरी पार्टी नेतृत्वले निर्णय गरे पनि माओवादी केन्द्रभित्र पनि त्यसविरुद्ध चर्को विवादको संकेत देखिएको छ । कार्यव्यवस्था परामर्श समितिमा माओवादीका प्रमुख सचेतक र दुई सदस्यले लिखित असहमति जनाएका थिए भने संसद्मा पनि प्रमुख सचेतक देव गुरुङले असहमति जनाएका थिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : ५१ बजे

मार्गशीर्ष कृष्ण त्रयोदशी : पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो

काठमाडौं । मार्गशीर्षकृष्ण त्रयोदशीका अवसरमा आज बेलुकीदेखि पशुपति क्षेत्रमा दिवंगत

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपालमा

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् ।

होटल पौवाको प्रोमो कोडबाट यति एयरलाइन्सको हवाई यात्रामा छुट पाइने

नेपालगन्ज । नेपालका बिभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’

कैलाली । यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ,

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री